१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

दुई सातामा आधा घट्यो संक्रमण दर

जितेन्द्र साह

विराटनगर — प्रदेश १ मा कोरोना संक्रमण दर घटे पनि जोखिम कायमै रहेको विज्ञहरूले बताएका छन् । असार पहिलो सातासम्म संक्रमण दर २५ देखि ३० प्रतिशतमा झरेको छ । 

दुई सातामा आधा घट्यो संक्रमण दर

प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवका अनुसार निषेधाज्ञापछि मानवीय सम्पर्क हुन नपाएर संक्रमण घटेको हो । यहाँ दुई साताअघिसम्म संक्रमण दर ६० प्रतिशत थियो ।

जेठ अन्तिम साता ४० प्रतिशतमा झरेको प्रयोगशालाले जनाएको छ । प्रदेशमा २७ जेठदेखि ३१ जेठसम्म ६ हजार ८ सय ५३ जनाले पीसीआर परीक्षण गराउँदा २ हजार २ सय ३७ अर्थात् ३२.६४ प्रतिशतमा पोजिटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उक्त अवधिमा ५ हजार ८ सय ६४ जनाको एन्टिजेन परीक्षणमा १ हजार ५ सय १६ (२५.८५ प्रतिशत) संक्रमित देखिएको हो । मन्त्रालयका अनुसार १ असारदेखि ५ असारसम्म ६ हजार ३ सय ६० जनाको पीसीआर परीक्षण हुँदा १ हजार ८ सय १७ (२८.५७ प्रतिशत) संक्रमित फेला परेका छन् । उक्त अवधिमा गरिएको ७ हजार ६ सय ७ एन्टिजेन परीक्षणमा भने २ हजार ३१ (२६.७ प्रतिशत) संक्रमित भेटिएको मन्त्रालयले भनेको छ ।

कोसी अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा समेत संकलन हुने स्वाबको भार कम हुँदै गएको छ । दुई साताअघिसम्म दिनहुँ औसत ५ सय जनाले परीक्षण गराए पनि अहिले घटेर १ सय ५० को हाराहारीमा पुगेको प्रयोगशालाका क्लिनिकल माइक्रोबायोलोजिस्ट प्रणवकुमार यादवले बताए । सहज रूपले खोप उपलब्ध नभएसम्म अनुशासित जीवनयापनले मात्र कोरोना भाइरस संक्रमणको बिस्तारलाई रोक्न सकिने कोसी अस्पतालका फिजिसियन डा. डेनप्रसाद आचार्यले बताए ।

‘जुनसुकै चरणको लहर आए पनि स्वास्थ्यप्रति सतर्क र सावधान रहेमा जटिल समस्या आउन्न,’ उनले भने । चिकित्सकहरूका अनुसार दोस्रो चरणमा संक्रमितमध्ये ८५ प्रतिशत सामान्य स्वास्थ्य अवस्थाका छन् । जटिल समस्या भोग्ने १५ प्रतिशतमा कमजोर शारीरिक एवं मानसिक स्वास्थ्य स्थिति भएका हुन्छन् ।

प्रकाशित : असार ८, २०७८ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?