कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नगरपालिकाले ठेक्का प्रक्रियामा आर्थिक चलखेल गरेको भन्दै विरोध

अर्जुन राजवंशी

बिर्तामोड — फोहोरमैला व्यवस्थापन र नगर अस्पतालमा स्वास्थ्य बिमाको ठेक्का प्रक्रियामा बिर्तामोड नगरपालिकाले आर्थिक चलखेल गरेको स्थानीयले आरोप लगाएका छन् । फोहोरमैला र स्वास्थ्य बिमा कार्यक्रमको ठेक्का प्रक्रियामा अनियमितता गरिएको भन्दै उनीहरू बिर्तामोड नगरपालिका कार्यालयमा तीन दिनदेखि विरोध जनाइरहेका छन् । 

नगरपालिकाले ठेक्का प्रक्रियामा आर्थिक चलखेल गरेको भन्दै विरोध

दुवै ठेक्का रद्द गर्नुपर्ने माग राखेका उनीहरूले त्यसो नगरिए विरोधका कार्यक्रम थप सशक्त बनाउने चेतावनी दिएका छन् । स्थानीयले जानकारी नै नपाउने गरी लकडाउनको समयमा सुटुक्क ठेक्का लगाइएको, ठेक्का प्रक्रियाबारे नगरका वडा कार्यालयहरूसमेत बेखबर रहेको, सार्वजनिक सूचना जारी नगरिएको स्थानीयको आरोप छ ।

नगरपालिका आफैंले फोहन व्यवस्थापन गर्न सक्ने अवस्था हुँदाहुँदै आर्थिक चलखेलका लागि काठमाडौंको एक निजी कम्पनीलाई ठेक्का दिइएको स्थानीय कपिल न्यौपानेले बताए । ‘यी दुइटा ठेक्काको प्रक्रिया हेर्दा नगरपालिकाले आर्थिक चलखेल गरेको स्पष्ट देखिन्छ,’ उनले भने, ‘फोहोरमैला व्यवस्थापनमा राम्रो आम्दानी हुने देखेपछि नगरपालिकाले काठमाडौंबाट निजी कम्पनी झिकाएर ठेक्का दिएको हो ।’ नगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि काठमाडौंंको निराकार सरसफाइ सेवा प्रालिसँग जेठ अन्तिम साता ३ वर्षको सम्झौता गरेको हो ।

‘ल्यान्डफिल साइट नै नगरपालिकाले व्यवस्था गरेपछि यो काम किन निजी कम्पनीलाई दिनुपर्‍यो ?,’ लक्ष्मण पाठकले भने, ‘फोहोर व्यवस्थापनका नाममा नगरवासीबाट लाखौं रकम उठाउने र आर्थिक चलखेल गर्ने गरी निजी कम्पनीलाई ठेक्का दिनु सरासर गलत छ ।’

उनीहरूले बिर्तामोड ३ मा निर्माणाधीन नगर अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रमका लागि पनि आर्थिक चलखेल हुने गरी ठेक्का लगाइएको दाबी गरेका छन् । ‘बोलपत्र आह्वान गोप्य हुन्छ । तर, यो ठेक्कामा नगरपालिकाले सूचना चुहाएर आफ्नो नजिकको फार्मलाई ठेक्का दिएको छ,’ स्थानीय अशोक उप्रेतीले भने । उनले ठेक्का प्रक्रियाबारे ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराउँदा समेत नगरपालिकाले बेवास्ता गरेको बताए ।

मेयर ध्रुवकुमार सिवाकोटीले दुवै ठेक्का प्रक्रियासम्मत रहेको दाबी गरेका छन् । उनले प्रतिस्पर्धी फर्मका सञ्चालकहरूको उक्साहटमा युवाहरू विरोधमा उत्रिएको आरोप लगाए । ‘नगरपालिकाले कुनै गल्ती गरेको छैन । कानुनअनुसार नै दुवै ठेक्का लगाइएको छ । आर्थिक चलखेलको आरोप मात्र हो,’ उनले भने, ‘हामीले नगरपालिकालाई हित हुने गरी नै फोहोरमैला र स्वास्थ्य बीमाको ठेक्का लगाएका छौं ।’ उनले नगर बोर्ड बैठकको निर्णय र कार्यविधिअनुसार नै फोहोरमैला व्यवस्थापनको जिम्मा निजी कम्पनीलाई दिइएको बताए ।

उनले भने, ‘स्वास्थ्य बिमाको लागि हामीले १२ लाख मात्र प्रस्ताव गरेका थियौं । तर, ठेक्का प्राप्त गरेको कम्पनीले कर आफैले बेहोर गरी ४० लाख दिने भएको छ । प्रतिस्पर्धामा धेरै दिने कम्पनीलाई छोडेर कम रकम कबोल गर्ने कम्पनीलाई कसरी ठेक्का दिनु ? सबैभन्दा धेरै रकम कबोल गर्नेलाई ठेक्का दिँदा कसरी आर्थिक चलखेल हुन्छ ?’

उपमेयर पवित्रा महतारा प्रसाईले भने यी दुवै ठेक्का प्रक्रियाबारे आफू अनभिज्ञ रहेको बताइन । उनले भनिन्, ‘फोहोरमैला व्यवस्थापन र स्वास्थ्य बिमाको ठेक्का कसलाई, कसरी, कुन प्रक्रियाबाट भयो मलाई केही थाहा छैन ।’ एक साताअघि बसेको कार्यपालिका बैठकमा कुरा उठेपछि मात्र आफूले थाहा पाएको उनको भनाइ छ ।

प्रकाशित : असार ७, २०७८ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?