स्वास्थ्य बिमा गर्नेहरू ह्वात्तै बढे- प्रदेश १ - कान्तिपुर समाचार

स्वास्थ्य बिमा गर्नेहरू ह्वात्तै बढे

सरकारद्वारा लक्षित वर्गलाई निःशुल्क बिमा
सुम्निमा चाम्लिङ

इटहरी — इटहरी उपमहानगर २ का चन्द्रबहादुर काफ्लेले स्वास्थ्य बिमा कार्यक्रम सुरु भएपछि बिमा गराए । वार्षिक ३ हजार ५ सय रुपैयाँ प्रिमियम बुझाउँछन् । नियमित नवीकरण गर्न भुल्दैनन् । 

परिवारका पाँच जनाले १ लाख रुपैयाँबराबरको सुविधा लिन पाएकोमा खुसी छन् । तीन वर्षदेखि उनकी श्रीमती उच्च रक्तचापको बिरामी छन् । नियमित जाँच गरिरहनुपर्छ । उपचारका लागि विराटनगरको नोबेल अस्पताल लाने गरेका छन् ।

स्वास्थ्य बिमा गरेकाले ठूलो रकम खर्च हुनबाट जोगिएको उनले बताए । ‘औषधि किन्न पैसा पुग्दैन कि भन्नुपरेको छैन । उपचारमा झन्झट छैन,’ उनले भने । इटहरी–२ का अनिला राईले ६ महिनाअघि विराट टिचिङ अस्पतालमा पित्तथैलीको शल्यक्रिया गरिन् । बिमा गरेको दुई वर्षसम्म सुविधा लिन परेन । तर नवीकरण भने नियमित गर्थिन् । स्वास्थ्य बिमा गरेको कारण उपचार खर्च जुटाउन समस्या नभएको उनले बताइन् ।

‘भनेको बेला पैसा हुँदैन थियो, अप्रेसन ढिलो हुन सक्थ्यो,’ उनले भनिन्, ‘बिमा गरेकाले धेरै सजिलो भयो ।’ बिमा सहयोगी इटहरी–२ की पार्वता घिमिरेका अनुसार सरकारले स्वास्थ्य बिमा सुरु गरेको वर्ष मानिसले बिमा गर्न मान्दैनथे । घरदैलो अभियान सञ्चालन गर्दासमेत पहिलो वर्ष मुस्किलले वार्षिक सय घरले बिमा गर्ने गरेका थिए ।

इटहरी–४ की मनिता इसारा पाँच वर्षदेखि सुगर, प्रेसर र माइग्रेनबाट ग्रसित छिन् । सामान्य किराना पसल गरेर जीविकोपार्जन गर्ने उनलाई स्वास्थ्य समस्याका कारण वार्षिक ठूलै रकम खर्च हुने गरेको थियो । तर सरकारले स्वास्थ्य बिमा सुरु गरेपछि भने उनलाई सजिलो भएको छ ।

बिमा सहयोगी रूपा कोइरालाका अनुसार सुरुका वर्षहरूमा रेफर कार्डको समय एक साताका लागि हुँदा बिरामीले पटक–पटक अस्पताल धाउनुपर्ने अवस्था थियो । अहिले भने रेफर कार्ड एक वर्षसम्म मान्यता हुने गरेको छ । अस्पतालमा समेत बिमामार्फत उपचार गर्न आएको भन्दा सेवा ढिलो प्रवाह गरिन्थ्यो । अचेल बिमामार्फत भए पनि सेवामा भेदभाव नहुने रूपाको बुझाइ छ ।

स्वास्थ्य बिमा बोर्ड १ नं. प्रदेश कार्यालयका अनुसार २०७५ मंसिरदेखि स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको इटहरीमा ९० हजार ३६ जनाले बिमा गराएका छन् ।

२०७४/७५ मा १५ हजार ४ सय ३६ जना मात्र बिमित थिए । २०७६/७७ मा ५९ हजार ३ सय ५ जनाले बिमा गरेको रेकर्डमा उल्लेख छ । चालु वर्षको असार ४ सम्म ४६ हजार ३ सय ८ जनाले बिमा गराइसकेका छन् । जिल्लाका १२ वटा स्थानीय तहमध्ये इटहरीमा सबैभन्दा बढी बिमितको संख्या छ । उपमहानगरले आर्थिक वर्ष २०७५ मा गरिएको सर्भेअनुसार नगरमा ञ् लाख ५७ हजार ४ सय ५७ जना छन् ।

स्वास्थ्य बिमा बोर्ड सुनसरी संयोजक सुवास लम्सालले चालु वर्षको प्रिमियम अघिल्लो वर्षभन्दा ८० प्रतिशतले वृद्धि भएको बताए । नेपाल सरकारले लक्षित वर्गलाई निःशुल्क बिमा गरिदिने गरेको छ । स्वास्थ्य बिमा बोर्ड सुनसरीका अनुसार असार ३ सम्म महिला स्वयंसेविका ३ सय ६७, कुष्ठरोगी १२, ‘क’ वर्गका अपांगता ३ सय १, एचआईभी संक्रमित २ सय १६ र एमडीआर (जटिल क्षयरोगी) ८ र ज्येष्ठ नागरिक १८ हजार ७ सय १६ जनाको बिमा गरिएको छ ।

इटहरी उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख घनश्याम सिग्देलले निःशुल्क बिमाका लागि विपन्न वर्गको तह छुट्याउनका लागि प्रयास गरिरहेको बताए । उनले भने, ‘अति विपन्न र विपन्न वर्ग गरी छुट्याउन सके स्वास्थ्य बिमा गरिदिन सजिलो हुन्छ । हामी प्रयास गरिरहेका छौं ।’

इटहरीका बिमितहरूले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नोबेल मेडिकल कलेज विराटनगर, विराट् मेडिकल कलेज बूढीगंगा, हाम्रो अस्पताल विराटनगर, कोसी प्रादेशिक अस्पताल, गोल्डेन अस्पताल विराटनगर, सञ्जीवनी अस्पताल विराटनगर, विराटनगर आँखा अस्पताल र इटहरी नवदृष्टि आँखा अस्पतालमा भर्ना भई उपचार सेवा पाउने व्यवस्था मिलाइएको छ ।

प्रकाशित : असार ७, २०७८ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्

इटहरीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुम्निमा चाम्लिङ

इटहरी — सुनसरीमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

बराहक्षेत्र नगरपालिका –४ कौवा खोंचमा बसले ठक्कर दिँदा बराहक्षेत्र धनपुरी नयाँ पुलका ५७ वर्षीय राजन कार्कीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक शरणकुमार दाहालले जानकारी दिए ।

शुक्रबार दिउँसो पौने १ बजे चतराबाट झुम्कातर्फ जाँदै गरेको ना ६ ख ७१४० नम्बरको बसले कार्कीलाई ठक्कर दिएको थयो । ठक्कर दिने बसका चालक बराहक्षेत्र– ५ का ४६ वर्षीय गोपाल गौतमलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख ३, २०७८ १७:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×