१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

संक्रमणमुक्त भएपछि पनि समस्या

विनोद भण्डारी

विराटनगर — उपचारपछि संक्रमणमुक्त भए पनि खाँदबारीकी ज्ञानुमाया राई अस्पतालबाट डिस्चार्ज हुन पाएकी छैनन् । संक्रमण पुष्टि भएपछि श्वासप्रश्वासमा समस्या भएर तीन साताअघि विराटनगरको नोबेल अस्पतालमा भर्ना भएकी थिइन् ।

संक्रमणमुक्त भएपछि पनि समस्या

दुई सातापछि कोरानामुक्त भएको रिपोर्ट आयो । तर चिकित्सकले ‘पोस्ट कोभिड उपचार केन्द्र’ को आईसीयूमा राखेर उनको थप उपचार गरिरहेका छन् । विराटनगरकी पुलदेवी मण्डल पनि कोरोनामुक्त भएर एक सातादेखि पोस्ट कोभिड उपचार केन्द्रको आईसीयूमा छिन् ।

संक्रमितको उपचार टोलीका संयोजक डा. मुक्ति आचार्यका अनुसार पछिल्लो समय कोरोना संक्रमित कोरोनामुक्त भए पनि फोक्सोमा समस्या देखिएर थप उपचार गर्नुपर्ने बिरामीको संख्या बढ्दो छ ।

संक्रमणमुक्त भएपछि केन्द्रमा थप तीन साता उपचार गराएर ५ जना डिस्चार्ज भएको उनले बताए । आईसीयूमा २२ जना र फोक्सो वार्डका आईसीयूमा १८ जना संक्रमणमुक्त भएका बिरामी उपचारार्थ छन् ।

‘उनीहरू सबै कोरोनामुक्त हुन्,’ आचार्यले भने, ‘निमोनियाका कारण फोक्सोमा उच्च संक्रमण देखिएकाले आईसीयूमा राखेर उपचार गर्नुपरेको हो ।’ सबैलाई अहिले पनि अक्सिजन दिनुपरेको छ । नोबेलमा बिहीबारसम्म ९ सय ६९ जना संक्रमित भर्ना भएको तथ्यांक छ । तीमध्ये १ सय ७५ जनाको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । हाल अस्पतालमा ९० जना संक्रमित भर्ना छन् । ३९ जना आईसीयू, ५ जना भेन्टिलेटर र ४६ जना जनरल वार्डमा उपचारार्थ छन् ।

विराट शिक्षण अस्पतालमा पोस्ट कोभिड केन्द्रमा ६ जना कोरोनामुक्त बिरामी छन् । अस्पतालको तथ्यांक शाखा प्रमुख निरज श्रेष्ठका अनुसार ३८ जना संक्रमितको उपचार भइरहेको छ । तीमध्ये २६ भेन्टिलेटर र १२ जना आईसीयूमा छन् ।

कोसी कोभिड अस्पतालमा ५३ र कोसी अस्पतालको कोभिड उपचार केन्द्रमा ६२ जना संक्रमितको उपचार भइरहेको महानगर कोभिड प्रमुख हैदर अलीले बताए ।

प्रकाशित : असार ७, २०७८ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?