१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

मेची नदीमा भारतीय पक्षको दाेहन राेकिएन

पर्वत पोर्तेल

काँकडभिट्टा — भारतले दसगजा क्षेत्रमै आएर नदी दोहन गरिरहेको छ । भारतले सीमामा रहेको मेची नदीबाट एक्स्काभेटर प्रयोग गरेरै ढुंगा, गिट्टी र बालुवा निकालिरहेको हो ।

मेची नदीमा भारतीय पक्षको दाेहन राेकिएन

असारदेखि तीन महिना नेपालले उत्खननमा रोक लगाउँदा भारतीयहरू भने धमाधम उत्खनन गरिरहेका छन् । सीमासम्बन्धी महासन्धिमा दसगजा आसपास दुवै पक्षले कुनै गतिविधि गर्न पाउँदैन ।

नदी दोहनमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नै सघाइरहेको स्थानीय बताउँछन् । गिट्टी, बालुवा उठाउन्जेल एसएसबीले गस्ती गर्ने गरेको मेचीनगर–७ भान्सा खोलाका एक स्थानीयले बताए । उनका अनुसार एसएसबीले नेपालीलाई भने गिट्टी, बालुवा झिक्न निषेध गर्दै आएको छ । ‘भारतीयले दोहन गर्दा नदी गहिरिन थालेको छ,’ उनले भने ।

दैनिक दर्जनौं ट्रक, टिपर र ट्याक्टरमा बालुवा, रोडा र ढुंगा उठाइँदा नदीमा ठूलठूला खाल्डा बनेका छन् । यसले बर्खामा नेपालतिरको भूभागमा डुबान हुन सक्ने सम्भावना बढेको छ ।

एसएसबीले अरू बेला पनि नेपाली ट्याक्टर तथा ट्रक चालकहरूलाई भने हप्कीदप्की गर्दै नदीजन्य सामग्री उठाउन रोकावट गर्दै आएको छ । केही समयअघि बाहुनडाँगी क्षेत्रबाट एसएसबीले ट्याक्टर नियन्त्रणमा लिएको थियो । पछि जरिवाना तिराएर छाडेको स्थानीय कमल प्रधानले जनाए ।

स्थानीय व्यवसायी राजेश राउतका अनुसार भारतले वर्षायामका तीन महिना (असार, साउन र भदौ) मा पनि नदी दोहन गर्ने गरेको छ । नेपालतिर भने यी तीन महिना ढुंगा–गिट्टी संकलनमा प्रतिबन्ध लगाइँदै आएको छ ।

भारतीय पक्षले मेचीनगरको सतीघट्टादेखि राजमार्ग उत्तरपूर्व इलामसँग सीमा जोडिएको तिरिङसम्मै खुलेआम नदी दोहन गरिरहेको छ । यसबारे मेचीनगर नगरपालिका बेखबर छैन । तर दोहन रोक्न भने सकेको छैन ।

मेची नदीमा गत वर्ष निर्माण भएको मितेरी पुल र एसियन हाइवेको सम्पूर्ण संरचना निर्माणमा मेचीकै गिटी, बालुवा र ढुंगा प्रयोग गरिएको थियो । यसअघि भारतको नक्सलवाडीमा निर्माण भएको राष्ट्रिय रेल्वे स्टेसन र बाघडुग्रा विमानस्थलको स्तरोन्नतिमा पनि मेचीकै सामग्री प्रयोग गरिएको जानकारहरू बताउँछन् ।

भारतले मेची नदीकै ढुंगा बंगलादेश निर्यातसमेत गर्ने गरेको छ । बंगलादेशमा ढुंगाको व्यापक माग छ । भारत र भुटानले बंगलादेशमा ढुंगा निर्यात गर्दै आएका छन् । भारतले मेची नदीको माथिल्लो क्षेत्रको ढुंगा बंगलादेश निर्यात गर्ने गरेको छ ।

मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले सीमा सुरक्षा बैठकमा नेपाली पक्षले मेची नदीको दोहन रोक्न पटकपटक अनुरोध गरे पनि भारतीय पक्षले चासो नदिएको बताए ।

उनका अनुसार भारतीय पक्षले जथाभाबी रूपमा नदी उत्खनन गर्दा नदीले धार नै फेरेको छ । ‘असार १ देखि तीन महिना हामी नदीजन्य सामग्री संकलन रोक्छौं,’ उनलके भने, ‘भारतले तीव्र रुपमा दोहन गर्छ ।’

सीमा नदीबाट दुवै देशलाई गिट्टी, बालुवा उठाउन प्रतिबन्ध लगाइनुपर्ने आचार्य बताउँछन् । ‘यसका लागि केन्द्र सरकारले भारतसँग अनुरोध गर्नुको विकल्प छैन ।’

प्रकाशित : असार ६, २०७८ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?