कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

निषेधाज्ञाको मारमा यात्रु

जितेन्द्र साह

विराटनगर — काठमाडौंदेखि मोरङसम्म अधिकांश जिल्लामा निषेधाज्ञा छ । लामो तथा छोटो दूरीलगायत सबै खाले निजी तथा भाडाका सवारीसाधनको सञ्चालनमा जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ ।

निषेधाज्ञाको मारमा यात्रु

अवज्ञा गर्दै सवारी चलाउनेलाई कारबाही तथा जरिवाना गर्ने प्रमुख जिल्ला अधिकारीहरूको आदेशमा उल्लेख छ । तर यहाँ यात्रुसँग मनग्य भाडा असुल्दै माइक्रो, मिनिबस, टेम्पो र ई–रिक्साको सञ्चालन भइरहेको छ । ‘२ हजार ५ सय रुपैयाँ भाडा तिरेर एक माइक्रोबस चढेर काठमाडौंबाट इटहरी आइपुगें,’ हरिराम रिमालले कान्तिपुरसँग भने, ‘गाडी दलालले सुरुमा ४ हजार रुपैयाँ भन्यो, मोलमोलाइ पछि घटाएर त्यतिमा ल्याउन मान्यो ।’

उनका अनुसार काठमाडौंदेखि विराटनगरसम्मको बस काउन्टर, मुख्य चोक र पुल छेउछाउ यस्ता दलाल भेटिन्छन् । ‘ब्याग बोकेको देख्नबित्तिकै कहाँ जाने हो सोध्छन्,’ रिमालले भने । ठाउँठाउँमा नियमित चेकिङमा बस्ने सुरक्षाकर्मीले समेत उनीहरूलाई रोक्दैनन् । निषेधाज्ञामा माइक्रो र मिनिबसबाट विराटनगर–इटहरी–काठमाडौं ओहोरदोहोर गरेका यात्रुहरूले प्रतिव्यक्ति २ हजारदेखि ७ हजार ५ सय रुपैयाँसम्म भाडा तिरेको बताएका छन् ।

आवश्यक कामले काठमाडौं जानुपर्ने र काठमाडौंमा श्रम गरेर बस्नेहरू निषेधाज्ञामा बेरोजगार भएर घर फर्कन पर्ने बाध्यता भएपछि गाडी दलालले भनेको भाडा बुझाउँछन् । काठमाडौंबाट इटहरी हुँदै विराटनगर आइपुगेका अर्का यात्रुले भने, ‘भनेको रकम पाएमा गाडीवालाहरू डेरा र होटलसम्म लिन आइपुग्छन् ।’ प्रहरीमा उजुरी वा गुनासो गरेमा दलालले खाएको चालकहरूको तयारी जवाफ हुने गरेको उनले बताए ।

ती यात्रुले भने, ‘बाटामा अलपत्र परिएला वा पछि निहुँ खोज्लान् भन्ने डरले प्रहरी समक्ष अधिकांश यात्रुले सत्य बोल्ने आँट गर्दैनन्, कतिपयले प्रहरीमा उजुरी हालेर बढी भाडा फिर्ता पनि लिन्छन् ।’ लामो दूरीका मात्र नभएर छोटो दूरीमा चल्ने ई–रिक्सा र टेम्पोले पनि दोब्बर बढी भाडा लिएर यात्रु ओसारिरहेका हुन्छन् ।

विराटनगरदेखि धरानसम्मको रिजर्भमा जाँदा टेम्पो वा ई–रिक्साको भाडा १ हजार २ सय रुपैयाँ भए पनि चालकहरूले ३ हजार रुपैयाँसम्म असुलिरहेको पीडित यात्रुले बताए । ठगिएका यात्रुका अनुसार विराटनगरमा लोकल भाडा प्रतिव्यक्ति २० रुपैयाँ भए पनि सडकमा फाटफुट भेटिने टेम्पो र सिटी सफारीले ५० रुपैयाँसम्म असुल्छन् ।

‘विराटनगरको राष्ट्र बैंक छेउबाट मात्र पाँच मिनेटमा पुगिने हस्पिटल चोक जानुपर्ने थियो, बिरामी श्रीमतीलाई चर्को घाममा नहिँडाऊ भनेर टेम्पो चढ्न खोजेको प्रतियात्रु भाडा ५० रुपैयाँ भने, तुरुन्तै प्रहरीलाई जानकारी दिएँ,’ एक पीडितले भने । यस्तो संकटमय परिस्थितिमा नागरिक पनि जागरुक हुनुपर्ने र अन्यायमा परेमा प्रहरीलाई खबर गर्नुपर्ने मोरङका एसपी सन्तोष खड्काले बताए ।

निषेधाज्ञामा कमै यात्रु पाइने हुनाले ५/१० रुपैयाँ बढी माग्न सकिने ई–रिक्सा चालक चुट्को हेमरमले बताए । तर, उनका अनुसार दोब्बर/तेब्बर भाडा माग्नेलाई कारबाही हुनुपर्छ । केही बदमास चालकले गर्दा आफूहरू सबैको बदनामी भइरहेको सिटी चालक श्याम महतोले बताए । विराटनगर–काठमाडौं माइक्रोबस भाडा १ हजार २ सय रुपैयाँभन्दा बढी नभएको सुनौलो पूर्वनेपाल यातायातका अध्यक्ष राजन कँडेलले बताए । उनका अनुसार धेरै भाडा असुल्नु लुट भएकाले संलग्न पक्षलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।

काठमाडौंबाट आउने र पूर्वबाट जाने निजी वाहनको नियमित जाँच हुने गरेको प्रदेश १ प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले बताए । ‘कोरोना कालमा बाध्यतावश भाडाका सवारी चढ्दा ठगिएका यात्रुको रकम फिर्ता गराउने र गाडीवाला पक्षलाई जरिवाना गरिरहेका छौं,’ उनले भने, ‘सवारीवालासँग मिलेका प्रहरीबारे सूचना आएमा कारबाही हुन्छ ।’

प्रकाशित : असार ६, २०७८ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?