पाथीभरामा पानी पुर्‍याउन पाँच प्रयास

पाथीभरा मन्दिरमा तीर्थालुलाई पानीको अभाव
आनन्द गौतम

ताप्लेजुङ — ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरामा तीर्थयात्रीका लागि पर्याप्त पानी छैन । आफ्नो शरीरमात्रै पुर्‍याउन पनि मुस्किल पर्ने पाथीभरा जाने यात्रीहरू पानी बोकेरै लान बाध्य छन् ।

पाथीभरामा पानी पुर्‍याउन पाँच प्रयास

यात्राका क्रममा पानीले मुख भिजाउन होस् या मन्दिरमा अक्षतालगायत पूजा सामग्री तयार गर्न पानी चाहिन्छ । तीर्थयात्रीको सुविधाका लागि सरकार र निजी क्षेत्रबाट पानी पुर्‍याउन अनेक प्रयास भइरहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्ले बताउँछन् । ठोस रूपमा अहिलेसम्म पाँचवटा प्रयास भएको पाइन्छ ।

पहिलो प्रयासअन्तर्गत मुहानबाट पाइपमार्फत खानेपानी ल्याइयो । तर यसलाई मन्दिर क्षेत्रमा पुर्‍याउन सकिएन । माथिल्लो फेदीको बस्तीदेखि एक किलोमिटरमा रहेको नीलो पाटीसम्म पुर्‍याए पनि दिगो भएन । ३१ सय मिटर उचाइमा रहेको माथिल्लो फेदीका बासिन्दालाई भने पानी पुगेको छ ।

यहाँ तीर्थयात्रीले नुहाउन, तातोपानी तताएर पिउन पाउँछन् । बोकेर जानुपर्दा यहाँबाट अढाई किलोमिटर मात्रै भएकाले केही सहजता छ । मुहानभन्दा मन्दिर उचाइमा भएकाले मन्दिरसम्मै पुर्‍याउन नसकिएको पहिलोपटक पाइपबाट पानी निकालेका पुण्यप्रसाद पौडेल बताउँछन् ।

दोस्रो प्रयासस्वरूप मन्दिर परिसर र बाटोमा बनाइएका धर्मशालामा मगरा राख्ने र आकाशेपानी पर्दा त्यसलाई ड्रममा जम्मा गर्न थालियो । पछि खानेपानी कार्यालयसँगको सहकार्यमा सिमेन्टका ट्यांकी बनाएर धारामा झर्ने पनि बनाइयो । तर सिमेन्टका ट्यांकी उपयोगी हुन सकेनन् । छानाबाट सिधै ड्रममा झारिएको पानी भने भरपर्दो बनेको छ । अहिले पनि सबैभन्दा भरपर्दो विधि यही भएको छ । प्लास्टिकका ड्रममा जम्मा गरेको पानी उपयोगमा आएको छ । तर लामो समय पानी नपरेर खडेरी चले पानीको हाहाकार हुन्छ ।

तेस्रो प्रयासमा, जाली राखेर पानी बोकेको कुहिरो ठोकाउने र त्यहाँवाट झर्ने विधि अपनाइयो । यसका लागि मन्दिरनजिकैको डाँडामा चारवटा जाली राखिए । जब कुहिरो जालीमा ठोकिन्थ्यो त्यसको पानी जालीमार्फत ड्रममा जम्मा हुन्थ्यो । ड्रमबाट धारामा झर्ने बनाइएको थियो । यसमा दातासँग सहकार्य गरिएको थियो । यो विधि प्रभावकारी हुन सकेन । स्थापनाको एकाध वर्षमै प्रयोगविहीन बन्यो ।

चौथो प्रयासअन्तर्गत, हिउँदका लागि हिउँ पगालेर पानी बनाउने र सञ्चित गर्ने । यो विधि हिउँदमा अहिले पनि प्रयोग हुन्छ । यस्ले मन्दिरमा आउने तीर्थयात्रीलाई अक्षता मुस्न, हात खुट्टा धुन र तातोपानी खान हिउँदमा सहयोग पुर्‍याएको छ । हिउँदमा पानी नपर्ने भएकाले मन्दिरमै बस्नेका लागि पानीको एक मात्र स्रोत हिउँ पगाल्नु हो । अँगेनामा ठूलो आगो बाल्ने र भाँडामा हिउँ तताएर पानी बनाइन्छ । यहाँ हिउँदका तीन/चार महिना हिउँ जमिरहने भएकाले पगाल्ने काम आवश्यकताअनुसार हुन्छ ।

हिउँ पगाल्न समितिले ठूला भाँडाहरूको व्यवस्थापन मिलाइदिएको छ । दाउरा हिउँदअघि नै तयारी अवस्थामा राख्ने र आवश्यकताअनुसार ठूला–साना भाँडामा हिउँ पगाल्ने गरिन्छ । मंसिर अन्तिमदेखि चैतसम्मको पानी बनाउने विधि यही मात्रै हो ।

पाँचौं प्रयासका रूरुपमा लिफ्टिङ विधि अपनाइएको छ । मन्दिरमै पर्याप्त पानी पुर्‍याउन काफ्लेपाटीबाट लिफ्ट निर्माणको काम भइरहेको छ । मुहानबाहेक माथिल्लो सबै ठाउँमा ट्यांकी निर्माण भइसकेको उपभोक्ता समितिका अध्यक्ष गोपाल न्यौपाने बताउँछन् । ठेकदारसँगको सम्झौता अनुसार माघसम्ममा मन्दिरमा पानी झारिसक्नुपर्छ । सरकार र उपभोक्ताको गरी ६ करोड ६२ लाख रुपैयाँको लागतमा काम भइरहेको छ । यो पानी पुर्‍याउन सके प्रतिघण्टा ३० हजार लिटर पानी मन्दिरमा झार्न सकिन्छ ।

प्रकाशित : असार ६, २०७८ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?