‘अन्तरजातीय बिहे गरेको भन्दै बुबाको अन्त्येष्टि गर्न दिइएन’

कुम्भराज राई

ओखलढुंगा — चम्पादेवी गाउँपालिका ३, ताप्केडाँडाका मित्रबहादुर तामाङको ७० वर्षको उमेरमा गत जेठ २९ मा घरमै निधन भयो । मुटुका रोगी उनका चार भाइ छोरा छन् । तीमध्ये माइला शंकर तामाङ र कान्छो प्रदीपले उनको अन्त्येष्टिमा सहभागी हुन पाएनन् । 

अन्तरजातीय बिहे गरेको कारण देखाएर आफूहरूलाई बुबाको अन्त्येष्टिमा सहभागी हुन नदिइएको उनीहरूको गुनासो छ । ‘वडाअध्यक्ष बलबहादुर तामाङले समुदायलाई उकासेर बुबाको मुख हेर्नसम्म दिएनन्,’ उनीहरूले भने ।

बुबा बितेको खबर सुनेपछि शंकर धादिङबाट र कान्छो प्रदीप काठमाडौंबाट घर पुगेका थिए । तर बुबाको अन्त्येष्टि स्थलमा पुगेका उनीहरूलाई माटो चढाउनसम्म दिइएन । ‘म र कान्छोले छोयौँ भने सबै मलामी फर्किन्छौँ भने,’ शंकरले भने, ‘त्यसपछि आमा रुनुभयो, तिमीहरू फर्क नत्र म झुन्डिएर मर्छु भनेपछि हामी त्यही दिन काठमाडौं फर्कियौँ ।’ जेठो यामबहादुर र साइला तुलबहादुरले बुबाको अन्त्येष्टि गरे ।

घरमा बुबाको काजकिरिया चलिरहँदा माइलो र कान्छो यति बेला काठमाडौंमै छन् । उनीहरूका अनुसार अन्त्येष्टिका मुख्य पुजारी लामाले क्रियापुत्रीको रूपमा सहभागी हुन भने पनि वडाअध्यक्ष बलबहादुर तामाङको नेतृत्वको गाउँलेहरूले रोकेका हुन् ।

‘तिमीहरू कानुनी रूपले जहाँ गए पनि जाऊ । अन्तिममा मिल्ने समाजमै हो । भनेर वडाअध्यक्षले जवाफ दिए,’ शंकरले भने, ‘देशको कानुन र समाजको कानुन फरक हुन्छ भनेर थर्काए ।’

शंकरले क्षत्री थरकी केटी बिहे गरेका हुन् भने कान्छाकी पत्नी दलित समुदायकी हुन् । उक्त गाउँमा जातीय कारण देखाएर विभेद गरिएको पहिलो घटना भने होइन । सोही गाउँका राजु तामाङले दुई वर्षअघि हजुरबुबा बित्दा आफूलाई अन्तरजातीय बिहे गरेको भन्दै विभेदको प्रयास गरिएको बताए ।

वडाअध्यक्ष बलबहादुर भने आरोप सरासर झुटो भएको बताए । ‘मेरो यसमा के सरोकार ? उनीहरु दाजुभाइमै कुरा भएपछि आफैले हामी छुँदैनौँ भनेर हिँडेका हुन्,’ उनले भने, ‘मेरो कुनै भूमिका छैन ।’ तर उनले मंगलबार केही सञ्चारकर्मीसँगको टेलिफोन कुराकानीमा तामाङ समुदायको संस्कार भएकाले त्यही अनुसार गरिएको जवाफ दिए ।

जिल्लास्थित दलित अधिकारकर्मी बलबहादुर परियार देशको कानुन एउटा र गाउँमा ठूलाठालुले चलाउने अर्को कानुन भएको बताउँछन् । ‘यस्ता विभेदका घटना दिनहुँ भए पनि सहेर बस्नुपर्ने समस्या धेरै छ,’ उनले भने ।

प्रकाशित : असार ४, २०७८ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?