१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

‘हुनेले दिनुहोस्, नहुनेले लैजानुहोस्’

आठ सय जना मिलेर चलाए अभियान

ताप्लेजुङ — जेठ पहिलो साता पाँचथरको फिदिम नगरपालिकाका १८ जना युवाहरूले कोरोना संक्रमणबाट अति प्रभावित परिवारलाई सहयोग गर्ने निर्णय गरे । २५ देखि ३५ वर्ष उमेर समूहका उनीहरूले आफ्नै समूहबाट ४५ हजार रुपैयाँ संकलन गरे ।

आफूले जाने बुझेका केही परिवारलाई सहयोग गरे । तर उठाएको रकम सबै खर्च भएन । त्यसपछि सामाजिक सञ्जाल फेसबुकमार्फत दैनिक ज्याला मजदुरी गरेर खाने, संक्रमणका कारण समस्यामा परेको भए सम्पर्क गर्न अनुरोध गरे । अभियानमा संलग्नमध्येका एक नवीन बुढाथोकीका अनुसार यति धेरै सम्पर्कमा आए कि उनीहरूले संकलन गरेको रकमले नपुग्ने भयो ।

सुरुमा प्रतिपरिवार एक बोरा चामल, दाल, नुन, तेल दिने निर्णय गरेका उनीहरू माग गर्नेको घरमा पुगेर हेर्दा भकारी रित्ता थिए । लालाबालालाई के खुवाउने चिन्ता थियो । त्यसपछि सहयोग दिएको तस्बिर सार्वजनिक नगर्ने तर सहयोगलाई निरन्तरता दिने निष्कर्षमा पुगे । आफू मात्रैले संकलन गर्न सक्ने अवस्था नभएपछि ‘हुनेले दिने, नहुनेले लिने’ अभियान चलाए । यस्मा आफ्नै साथीसंगीलाई समेटेका छन् । अभियानलाई अधिकांश देशबाहिर भएकाले सहयोग पुर्‍याएका छन । अर्का अभियन्ता सुवास बाँस्कोटाका अनुसार जेठ मसान्तसम्म पुग्ने गरी एक जनालाई नौ किलोसम्म चामल, तेल, नुन, मसला, दाल सहयोग गरिएको छ ।

‘अभिलेखका लागि प्रत्येक परिवारको विवरण राखेका छौं, तर कसैको पनि सार्वजनिक गर्दैनौँ,’ बुढाथोकीले भने । राहत पाउनेमा कोरोना संक्रमित भएका परिवारलाई प्राथमिकतामा राखिएको छ । जेठ २० गतेदेखि सुरु गरिएको अभियानमा २८ गतेसम्म दुई सय ४८ घरका आठ सय व्यक्ति समेटिएका छन् । करिब पाँच लाख मूल्य बराबारको राहत सामग्री प्रदान गरिएको अभियन्ता सुशील श्रेष्ठले जानकारी दिए । ‘राहत पाउनेले भन्दा छरछिमेकीले धेरै फोन गरिदिने गरेका छन्,’ सुशीलले थपे, छिमेकीले मेरो छिमेकमा समस्यामा परेको मान्छे छन् सहयोग गरिदिए हुन्थ्यो भन्ने गरेका छन् ।’

यसरी सम्पर्क गरेपछि गएर वास्तविकता बुझ्ने र सहयोग दिने गरेको श्रेष्ठले बताए । अहिलेसम्म सडकको पहुँच भएको ठाउँमा घरसम्मै र नभएकोमा सडक आउन आग्रह गर्ने गरिएको छ । नगरपालिका बाहिरका गाउँ/गाउँबाट फोन आउन थालेकाले चुनौती थपिएको अभियन्ताहरू बताउँछन् ।

अहिलेसम्म दिनेमा व्यक्तिबाहेक संघसंस्था नभएको अभियन्ताहरू बताउँछन । पाँचथरमा १ हजार ४ सय ३५ जना कोरोनाबाट संक्रमित भएका छन् । ६ सय २० जना निको भएका छन् भने ६ सय ६९ जना होम आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।

प्रकाशित : असार ४, २०७८ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?