जसपाका उदयपुर जिल्ला सदस्य हतियारसहित पक्राउ- प्रदेश १ - कान्तिपुर समाचार

जसपाका उदयपुर जिल्ला सदस्य हतियारसहित पक्राउ

डिल्लीराम खतिवडा

उदयपुर — जनता समाजवादी पार्टी उदयपुरका जिल्ला कमिटी सदस्य परशुराम चौधरी हतियारसहित पक्राउ परेका छन् । ५० वर्षीय चौधरीलाई त्रियुगा नगरपालिका–३ मोतिगढाबाट बिहीबार मध्याह्न पक्राउ गरिएको हो ।

चौधरीको कान्छी श्रीमती श्यामकुमारीको घरमा अवैध हतियार लुकाइराखेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले उनलाई हतियारसहित पक्राउ गरेको प्रहरी उपरीक्षक भीमबहादुर दाहालले बताए । चौधरीको घरबाट मेडिन यूएस लेखिएको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने ५ राउन्ड गोली बरामद भएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका चौधरीले सप्तरीको सुरुङ्गा नगरपालिका ८ का २३ वर्षीय बबी चौधरीलाई फसाउने नियतले कान्छी श्रीमतीको घरमा हतियार राखेका थिए । बबी र चौधरीकी छोरीबीच प्रेम सम्बन्ध थियो । छोरीसँग बबीको प्रेम सम्बन्ध छुटाउनका लागि कान्छी श्रीमतीको घरमा परशुरामले पेस्तोल र गोली राखिदिएको प्रारम्भिक अनुसन्धमा देखिएको प्रहरी उपरीक्षक दाहालले बताए ।

चौधरी द्वन्द्वकालमा नेकपा माओवादीको लडाकु, त्यसपछि पार्टीका विभिन्न कमिटीमा सक्रिय रहँदै २०७७ साल माघ ४ गतेयता जसपाबाट राजनीतिक गतिविधि गरिरहेको देखिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित : असार ३, २०७८ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्

म्याग्दीमा पहिरोमा परेर घाइते भएकाको दुई दिनपछि उद्धार

घनश्याम खड्का

म्याग्दी — मंगला गाउँपालिका–४ सिर्कुममा बुधबार बिहान पहिरोमा परेर घाइते भएकी ६० वर्षीया भीमकला बुढाथोकी र सुजिता छन्त्यालको दोस्रो दिन बल्न हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

तस्बिर : राजु पाण्डे

लगातारको भारी वर्षापछि घर भत्कँदा च्यापिएर गम्भीर घाइते भएकी बुढाको कम्मरमुनिको भाग नचल्ने भएको थियो । छुट्टै पहिरोमा परेर घाइते भएकी छन्त्यालको पनि सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

बुढाथोकी र छन्तयाल दुवै घाइतेलाई बुधबार स्थानीयले बोकेर स्वास्थ्य संस्था पुर्‍याउने प्रयास गरे पनि पहिरोले पैदलमार्ग अवरुद्ध भएको र खराब मौसमका कारण हेलिकोप्टरबाट उद्धार गर्न पनि समस्या भएको थियो ।

बिहीबार स्थानीयले पहिरोमै पैदलबाटो बनाइ घाइतेलाई बोकेर गाउँपालिका केन्द्र रहेको बाबियाचौर ल्याएपछि हेलिकोप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए ।

प्रकाशित : असार ३, २०७८ १५:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×