कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

कोसीमा ‘कोरोना जोखिम भत्ता’ विवाद

संक्रमितको उपचारमा अप्रत्यक्ष संलग्नलाई सूचीमा नपारिएको भन्दै विरोध 
जितेन्द्र साह

विराटनगर — संक्रमितको उपचारमा प्रत्यक्ष संलग्नले मात्र कोराना जोखिम भत्ता पाउने भएपछि विराटनगरस्थित कोसी अस्पतालको अन्य संवेदनशील विभाग र इकाइमा खटिने कर्मचारीहरूले विरोध गरेका छन् ।

कोसीमा ‘कोरोना जोखिम भत्ता’ विवाद

विवाद चुलिने देखेपछि अस्पताल व्यवस्थापनले भत्ताको सिफारिस सूचीलाई नै गोप्य राखेको छ । योबारेमा कसैले खुलेर बोलेका छैनन् ।

सिफारिसमा सूचीकृत कर्मचारीलाई २४ घण्टे सेवा प्रदायक मानेर तलबको ५० प्रतिशत भत्ता दिइन्छ, जसमा १५ प्रतिशत कर काटिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताललाई ५ जेठ र २३ जेठमा पठाएको पत्रमा कोभिड–१९ संक्रमितको प्रत्यक्ष उपचारमा संलग्नले मात्र उक्त जोखिम भत्ता पाउने आशय व्यक्त गरिएको छ ।

उक्त पत्रअनुसार कोभिडका बिरामीको उपचारमा खटिएका विभिन्न विभागका १ सय १९ कर्मचारीको ६ महिनाको विवरण मन्त्रालयलाई पठाइएको अस्पताल प्रशासनका नासु जनार्दन पौडेलले बताए । तर जोखिम मोलेर काम गरे पनि भत्ताका लागि सिफारिस नभएको भन्दै बिमा काउन्टर, सामाजिक सेवा इकाइ, आकस्मिक कक्ष, ओपीडीको पुर्जी काउन्टर, भीडमा उभेर बिरामीको नाम बोलाउने र प्रसूतिलगायतको विभागमा कार्यरत कर्मचारीहरूले विरोध जनाएका छन् ।

अस्पतालको निर्णय मान्य नहुने उनीहरूले भनिरहेका छन् । संक्रमणको प्रत्यक्ष वा अप्रत्यक्ष जोखिममा रहेका स्वास्थ्यकर्मी एवं अन्य कर्मचारीसहित ४ सय ६८ जनाले गत वर्ष उक्त भत्ता पाएको अस्पतालको लेखा शाखाले जनाएको छ । यसपालि भने दैनिक दायित्व निर्वाह गर्ने क्रममा आफ्ना तीन सहयोगी संक्रमित भए पनि उनीहरूको भत्तामा नाम नपरेको सामाजिक सेवा इकाइका एक वरिष्ठ कर्मचारीले बताए । ‘आर्थिक सहयोगका लागि सिफारिस गर्ने क्रममा बिरामीसँग कुरा गर्दा र उनीहरूका कागजात छुँदा हामी संक्रमित भएका हौं,’ एक कर्मचारीले भने । सामाजिक इकाइका कर्मचारीहरू लगायत अस्पतालका सबैले गत वर्ष जोखिम भत्ता पाएका थिए ।

असन्तुष्ट पक्षका अनुसार यस पटक अस्पतालका अधिकारीहरूले आफ्ना र निकट कर्मचारीको मात्र नाम सिफारिस गरेका छन् । संक्रमित पुष्टि भएकालाई मात्र उपचार गरिने हुनाले कोरोना वार्ड वा कोरोना अस्पतालमा कार्यरतले सम्पूर्ण सावधानी एवं सुविधाका साथ काम गर्ने हुनाले उनीहरू कमै जोखिममा हुने गरेको ओपीडीका एक कर्मचारीले बताए । उनले आफूहरू सबै खाले बिरामीको हुलमा रहेर काम गर्नुपर्ने हुनाले हरेक दिन संक्रमणको जोखिममा हुने गरेको बताए ।

‘ओपीडीमा ओइरिने भीडमा को पोजिटिभ र को नेगेटिभ भन्ने थाहा हुन्न,’ अर्का एक कर्मचारीले भने, ‘कोरोनाको शंका गरिएका बिरामीलाई यहींबाट फिवर क्लिनिकमा पठाउने हो, संक्रमण पुष्टि भएका जटिल बिरामी मात्र कोरोना वार्ड वा अस्पतालमा भर्ना हुन्छन्, बाँकी त होम आइसोलेसनमै बस्छन् । सुरुवातमा बिरामीको सामना गर्ने ओपीडीमा कार्यरत सबैभन्दा बढी समस्यामा हुन्छन् ।’ यस अस्पतालस्थित बिमा एवं ओपीडीका अधिकांश कर्मचारी संक्रमित भइसकेका छन् । ‘झ्यालमा उभेका बिरामीसँग नजिकबाटै कुरा गर्नुपर्छ, कतिपय खोकी र हाँच्छु गरिरहेका हुन्छन्, कतिखेर र कोबाट संक्रमित हुने हो भन्ने नै थाहा हुन्न,’ बिमा काउन्टरका एक कर्मचारीले भने ।

अस्पतालको उपल्ला अधिकारी भने कर्मचारीको आरोप निराधार रहेको बताएका छन् । सबै कर्मचारीले कोरोना भत्ताको माग गरे पनि भूमिका हेरेर नाम सिफारिस गरिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. चुमनलाल दासले बताए । ‘कार्य मूल्यांकनका आधारमा बिनाविभेद भत्ताका लागि सूची तयार पारिएको हो,’ उनले भने, ‘पहिले पनि नाम पठाइकाले भत्ता पाउन बाँकी छ, सिफारिस हुनेबित्तिकै पाउँछन् भन्ने पनि छैन ।’

संक्रमितको उपचारमा प्रत्यक्ष संलग्नको मात्र नाम कोरोना भत्ताका लागि सिफारिस गर्ने नीतिअनुरूप सरकारले परिपत्र गरेको हुनाले विवाद सिर्जना भएको अस्पताल विकास समितिका नासु नवराज लुइँटेलले बताए ।

प्रकाशित : असार ३, २०७८ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?