कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

जनरल वार्डमा चाप घट्दो

महानगरमा अहिले पनि दैनिक सरदर ३–४ जनाको मृत्यु
विनोद भण्डारी

विराटनगर — कोरोना संक्रमितको उपचार गर्ने यहाँका नोबेल र विराट शिक्षण अस्पतालमा अक्सिजनसहितको जनरल वार्ड सातादेखि आधाभन्दा बढी खाली छन् । तर दुवै अस्पतालका आईसीयू र भेन्टिलेटर भने बिरामीले भरिएका छन् ।

जनरल वार्डमा चाप घट्दो

नयाँ संक्रमित भर्ना हुने दर झन्डै साठी प्रतिशतले घटेको छ । भर्ना भएका संक्रमितमा कोरोना नेगेटिभ देखिए पनि पोस्ट कोभिड केयरको आवश्यकता परेकाले आईसीयू र भेन्टिलेटर खाली हुन नसकेको उपचारमा संलग्न मुक्ति आचार्यको भनाइ छ । साताअघि सय जनाको पीसीआर परीक्षण गर्दा झन्डै ७० जनामा कोरोना पुष्टि हुने गरेको थियो । अस्पतालमा भर्नादर बढेको थियो । महानगर कोभिड शाखा प्रमुख हैदर अलीका अनुसार अहिले सयमा २० जनामा संक्रमण पुष्टि हुने गरेकाले पनि संक्रमितको संख्या घटेको हो ।

महानगरले अहिले पनि दैनिक सरदर अढाई सयको एन्टिजेन र पीसीआर परीक्षण गर्दै आएको छ । अलीका अनुसार महानगरमा अहिले पनि दैनिक सरदर ३–४ जनाको मृत्यु हुँदै आएको छ । नोबेल शिक्षण अस्पतालले कोरोना संक्रमितको उपचारका लागि १७ वटा भेन्टिलेटर, ६३ वटा आईसीयू र अक्सिजनसहितको २ सय २० वटा जनरल वार्डको व्यवस्था गरेको छ । १७ वटै भेन्टिलेटर र ६३ वटै आईसीयू भरिएका छन् । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार अक्सिजनसहितका १ सय ३० वटा जनरल वार्ड सातादेखि खाली छन् ।

विराट शिक्षण अस्पतालमा अक्सिजनसहितका जनरल वार्ड आधाभन्दा बढी खाली छन् । तर अस्पतालका आईसीयू र भेन्टिलेटर सबै भरिएका छन् । अस्पतालले संक्रमितको उपचारका लागि आईसीयू ४३ र भेन्टिलेटर १७ वटा व्यवस्था गरेको छ । सबै भरिएका छन् । अस्पतालको तथ्यांक शाखाका नीरज श्रेष्ठका अनुसार जनरल वार्ड १ सय ७५ मध्ये आइतबार ७१ वटामा संक्रमित उपचाररत छन् ।

कोसी कोभिड अस्पतालका २१ वटा आईसीयू अहिले पनि भरिएका छन् । १ सय १० बेड भएको अस्पतालमा ८० जना भर्ना छन् । कोसी अञ्चल अस्पतालका २५ वटै आईसीयू बेड भरिएका छन् । ७२ वटा अक्सिजनसहितका जनरल वार्डमध्ये ६१ मा संक्रमित उपचाररत छन् । महानगरमा आइतबारसम्ममा १ सय ३१ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित : जेष्ठ ३१, २०७८ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?