कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘नीति तथा कार्यक्रमको छलफलमा मुख्यमन्त्री उपस्थित नहुनु गैरजिम्मेवारीपूर्ण’

देवनारायण साह

मोरङ — प्रदेश १ सभामा शुक्रबारदेखि सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा मुख्यमन्त्री शेरधन राई उपस्थित नहुँदा विपक्षी दलहरुले आपत्ति जनाएका छन् । छलफलमा सत्तारुढ दल एमालेका प्रदेशसभा सदस्यहरुको समेत उपस्थिति कम रहेको थियो ।

‘नीति तथा कार्यक्रमको छलफलमा मुख्यमन्त्री उपस्थित नहुनु गैरजिम्मेवारीपूर्ण’

आफैले सदनमा टेबल गरेको नीति तथा कार्यक्रमको छलफलमा मुख्यमन्त्री राई उपस्थित नहुनु गैरजिम्मेवारपूर्ण कार्य भएको विपक्षी दलहरुले टिप्पणी गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले नीति तथा कार्यक्रममा मुख्यमन्त्री राई अनुपस्थित भएर नैतिक धरातलसमेत गुमाइसकेको आरोप लगाए ।

जनता समाजवादी पार्टीका नेता जयराम यादवले नीति तथा कार्यक्रम सरकारले ल्याएको हुँदा मुख्यमन्त्री आफै सदनमा उपस्थित नभइ गैरजिम्मेवारपूर्ण चरित्र प्रदर्शन गरेको बताए । ‘आफैले टेबल गरेको नीति तथा कार्यक्रममा मुख्यमन्त्री राई अनुपस्थित हुनु भनेको संसदप्रतिको उदासिनता हो,’ उनले भने, ‘मुख्यमन्त्री मात्रै नभइ सत्तारुढ दल एमालेका ५१ जना सांसदमध्ये २१ जना मात्रै सदनभित्र उपस्थित भएको र उहाँहरु पनि पालैपालो निस्केर जानुभएको थियो ।’

सत्तारुढ दलले ल्याएको नीति तथा कार्यक्रमको छलफलमा सांसदसम्मको अनुपस्थितिले संसदप्रतिको गैरजिम्मेवारीपूर्ण चरित्र उदांगिएको यादवले टिप्पणी गरे ।

विपक्षी दल माओवादी केन्द्रका प्रदेशसभा सदस्य रामकुमार राईले नीति तथा कार्यक्रममा मुख्यमन्त्री राई अनुपस्थित भएर गैरजिम्मेवारीपूर्ण चरित्र प्रदर्शन गरेको आरोप लगाए ।

कांग्रेसका प्रदेशसभा सदस्य शेखरचन्द्र थापाले आफैले टेबल गरेको नीति तथा कार्यक्रमको छलफलमा आर्थिक मामिला मन्त्रीलाई जिम्मा लगाएर अनुपस्थित हुनु मुख्यमन्त्री राईको भयग्रस्त मनस्थितिको उपज भएको बताए । ‘नीति तथा कार्यक्रममा सांसदहरुले उठाएको प्रश्न आफै उपस्थित भएर सुनेर जवाफ दिनु पर्ने संसदीय मर्यादासमेत मुख्यमन्त्रीज्यूले निर्वाह गर्न सक्ने अवस्था रहेन,’ उनले भने, ‘सांसदहरुको प्रश्नको डरले मुख्यमन्त्री राई छलफलमा सहभागी नहुनु गलत नजिर बसाइरहनुभएको छ ।’

प्रकाशित : जेष्ठ २८, २०७८ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?