मोरङमा संक्रमण र मृत्युदर घट्दो क्रममा- प्रदेश १ - कान्तिपुर समाचार

मोरङमा संक्रमण र मृत्युदर घट्दो क्रममा

विनोद भण्डारी

विराटनगर — कोरोना संक्रमितको उपचार गर्ने विराटनगरका दुई ठूला निजी शिक्षण अस्पतालमा सातादेखि संक्रमितको भर्ना हुने संख्या उल्लेख्य मात्रामा घटेको छ ।

मृत्युदर पनि घटेको छ । नोबेल र विराट शिक्षण अस्पताल दुवैमा साताअघिसम्म दैनिक सयभन्दा बढी संक्रमित भर्ना हुन्थे भने दैनिक सरदर ६ जनाको मृत्यु हुने गरेको थियो । सातायता दुवै अस्पतालमा दैनिक सरदर बढीमा ३० जना भर्ना हुने र मृत्यु हुनेको संख्या पनि आधाले घटेको अस्पतालको तथ्यांक छ । दुवै अस्पतालमा यस वर्ष बुधबारसम्ममा १ हजार ५ सय ९२ जना संक्रमित भर्ना भएकामा १ हजार २ सय २६ जना संक्रमित निको भएर घर फर्केका छन् । २ सय ३४ जनाले ज्यान गुमाएका छन् ।

कोरोना संक्रमितको उपचारका लागि नोबेलले १७ वटा भेन्टिलेटर, ६३ वटा आईसीयूसहित तीन सय बेडको व्यवस्था गरेको छ । दुई साताअघिसम्म अस्पतालमा दैनिक कम्तीमा ६० जना भर्ना हुने गरेकोमा सातायता भर्ना हुनेक्रम निकै घटेको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । साताअघिसम्म भेन्टिलेटर, आईसीयू भरिएर अक्सिजन वार्डमा २ सय ६५ जनासम्म संक्रमितको उपचार हुँदै आएको थियो । त्यसबेला दैनिक सरदर ६ जनासम्मको मृत्यु भएको थियो । कोरोनाको दोस्रो चरणमा बुधबारसम्म नोबेलमा ८ सय ७३ जना संक्रमित भर्ना भए । ६ सय ५५ जना निको भएका छन् । १ सय ५७ को मृत्यु भएको छ । दाहालका अनुसार दुई साता पहिलासम्म दैनिक सरदर ५–६ जना निको भएर जान्थे । अहिले डिस्चार्ज हुनेको संख्या दैनिक सरदर २५–३० जना छ । नोबेलमा संक्रमितको उपचारमा संलग्न डा. मुक्ति आचार्यका अनुसार गत र यस वर्ष उपचारका लागि आएका संक्रमितमा भिन्नता पाइएको छ । ‘गत वर्ष सामान्य अवस्थामा आएका संक्रमित उपचारपछि चाँडै घर जान सक्ने अवस्थाका थिए । कोभिडबाट गत वर्ष दीर्घ रोगी बढी प्रभावित थिए,’ आचार्यले भने, ‘यस पटक हेर्दा सामान्य देखिने तर निमोनियाले ग्रस्त भइसकेको पाइएको छ, निको भएर कोभिड नेगेटिभ पुष्टि भए पनि पोस्ट कोभिड केयरको आवश्यकता पर्दा डिस्चार्ज गर्न गाह्रो हुने अवस्था छ ।’

विराट अस्पतालमा पनि पछिल्लो सातादेखि दैनिक सरदर १० जनामात्र संक्रमित भर्ना हुँदै आएका छन् । साताअघि दैनिक सरदर ४० जनासम्म संक्रमित भर्ना हुन्थे । अस्पताल तथ्यांक शाखा प्रमुख निरज श्रेष्ठका अनुसार त्यस बेला मृत्यु हुनेको संख्या साढे नौ प्रतिशतसम्म थियो । पछिल्लो साता दुई प्रतिशतमा झरेको छ । साता पहिला उक्त अस्पतालका ६३ वटा आईसीयू र भेन्टिलेटरसहित २ सय ३५ वटा बेड भरिएका थिए । अस्पतालमा बुधबारसम्ममा ७ सय १९ जना संक्रमित भर्ना भएकामा ५ सय ७१ डिस्चार्ज भएका छन् । विराटमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७७ जना पुगेको छ ।

महानगरमा बुधबारसम्म १ सय २४ जनाले ज्यान गुमाएका छन् । दैनिक ३–४ जनाले ज्यान गुमाइरहेका छन् । कोसी कोभिड अस्पतालका २१ वटा आईसीयू भरिएका छन् । १ सय १० बेड भएको उक्त कोभिड अस्पतालमा बिहीबारसम्म ८० जना भर्ना छन् । कोसी अस्पतालका २५ वटै आईसीयू बेड भरिएका छन् । बिहीबारसम्ममा ६१ जना बिरामी भर्ना छन् । महानगरमा दैनिक अढाई सयको एन्टिजेन र पीसीआर परीक्षण हुने गरेको छ ।

प्रकाशित : जेष्ठ २८, २०७८ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेशमा मिलेर जाने गठबन्धनको रणनीति

कान्तिपुर संवाददाता

काठमाडौँ — पाँच राजनीतिक दल आबद्ध विपक्षी गठबन्धनले प्रदेशमा संयुक्त सरकार बनाउने रणनीति बनाएका छन् ।

फाइल तस्बिर

गण्डकी प्रदेशमा विश्वासको मत पाउन नसकेर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको गठबन्धन बैठकले सबै प्रदेशमा मिलेर अघि बढ्ने निर्णय लिएको हो ।

गण्डकी प्रदेशमा गुरुङको अल्पमतको सरकार ढलेपछि नयाँ सरकार निर्माणको अन्तिम विकल्प मात्र बाँकी छ । संविधानको धारा १६८ (५) मा प्रतिनिधिसभाको कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्न सक्ने अवस्थामा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्ति गर्न सक्ने व्यवस्था छ । सरकार बन्न नसके प्रदेशसभा विघटन हुने जोखिम भएकाले विपक्षी गठबन्धनले बहुमत जुटाएरै सरकार निर्माणका लागि दाबी प्रस्तुत गर्ने भएको छ ।

विश्वासको प्रस्तावमा बिहीबार भएको मतदानमा भाग नलिएका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे र तटस्थ रहेका जनमोर्चाका सांसद कृष्ण थापालाई मनाउने विपक्षी मोर्चाको तयारी छ । ‘दुईमध्ये एक जनालाई मात्रै ल्याउन सकिए पनि सरकार बन्ने स्थिति रहन्छ,’ गठबन्धनको बैठकपछि कांग्रेसका एक नेताले भने, ‘भएन भने अरू विकल्प पनि खोज्न सकिन्छ ।’

उनले वाग्मती, लुम्बिनी र प्रदेश १ मा समेत मिलेर अघि बढ्ने कुराकानी भएको बताए । वाग्मती र प्रदेश १ मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएका छन् । नीति तथा कार्यक्रम असफल बनाएर सरकार ढाल्ने रणनीतिमा विपक्षी गठबन्धन पुगेका छन् । प्रदेश २ मा कांग्रेस सरकारमा सहभागी भइसकेको छ । माओवादी केन्द्र पनि सरकारमा जाने तयारीमा छ ।

नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न र ‘फ्लोर क्रस’ गरेका कर्णालीका एमाले खनाल–नेपाल पक्षका चार सांसद पुनर्बहाली हुने सर्वोच्च अदालतको अन्तरिम आदेशप्रति गठबन्धनका नेताहरूले सन्तोष प्रकट गरेका छन् ।

प्रकाशित : जेष्ठ २८, २०७८ ०७:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×