नेपाली अलैंचीका ५ जात पहिचान

देशका ४१ जिल्लामा गरी बर्सेनि ५ हजार टन उत्पादन
आनन्द गौतम

ताप्लेजुङ — नेपाली अलैंचीको पाँचवटा जात पहिचान गर्दै दर्ता प्रक्रिया सुरु भएको छ । नेपालमा उत्पादन हुने १४ मध्ये रामसाई, गोलसाई, डम्वरसाई, जिर्मले र भार्लाङ जातका अलैंची पहिचान गरी दर्ता प्रक्रियामा रहेको अलैंची विकास केन्द्र फिक्कल इलामले जनाएको छ । 

नेपाली अलैंचीका ५ जात पहिचान

विकास केन्द्रका बाली संरक्षण अधिकृत देवेन्द्र शाहका अनुसार कृषि मन्त्रालयले स्वीकृत गरेर राजपत्रमा प्रकाशित भएपछि यस्ले मान्यता पाउनेछ । यो मान्यता अन्तर्राष्ट्रियस्तरको हुन्छ । नेपालमा अहिलेसम्म अलैंचीको जात पहिचान तथा दर्ता नभएको भन्दै यसको सुरुवात गरिएको शाहले बताए ।

जात पहिचानका लागि कृषि विकास मन्त्रालयका महानिर्देशकको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको छ । यो समितिले विस्तृत अध्ययन गरेर दर्ताका लागि सिफारिस गरेको हो । कृषि मन्त्रालयका सचिवको अध्यक्षतामा रहेको समितिले अनुमोदन गरेपछि यसले मान्यता पाउने शाहले बताए । त्यसपछि भने रोग, किरा लागे वा सरकारी अनुदान दिनुपर्दा यी जातले प्राथमिकता पाउँछन् ।

उस्तै जातको अलैंची उत्पादन हुने नेपालले जात पहिचान नगर्दा छिमेकी देश भारतले गरेको पहिचानका आधारमा चलिरहेको छ । दर्ता भएपछि नेपाली अलैंचीलाई अरू कसैले दाबी गर्न नसक्ने फिक्कलमा लामो समय कार्यालय प्रमुखको रूपमा रहेका पदम अधिकारीले बताए । अधिकारी अलैंची विकास केन्द्रको प्रमुख हुँदै सिफारिस समितिको बैठक बसेको थियो । विकास केन्द्रका अनुसार रामसाई जातको अलैंची १८५० सालदेखि नेपालमा खेती भएको पाइन्छ । यो प्रतिरोपनी ३१ किलोग्रामसम्म उत्पादन हुन्छ । यो अलैंची अहिले छ हजार हेक्टरमा खेती हुने गरेको तथ्यांक कार्यालयसँग छ ।

भार्लाङ जातको अलैंची प्रतिरोपनी ४५ किलोसम्म उत्पादन हुन्छ । यो जातको अलैंची अहिले तीन हजार हेक्टर जमिनमा खेती गरिएको छ । गोलसाई जातको अलैंची प्रतिरोपनी ३५ किलोग्रामसम्म उत्पादन हुने कार्यालयको तथ्यांक छ । औल क्षेत्रमा पनि उत्पादन हुने यो जातको अलैंची ५९ हजार हेक्टरमा लगाइएको छ । डम्बरसाई जातको अलैंची भने प्रतिरोपनी ३५ किलोसम्म उत्पादन हुन्छ । यो १५ सय हेक्टरमा लगाइएको छ ।

सबैभन्दा पहिला अलैंची भित्रिएको इलाम र देशमा सबैभन्दा बढी उत्पादन गर्ने ताप्लेजुङ जिल्लामा यी जातका अलैंची उत्पादन हुने शाह बताउँछन् । मौसम, मल, पानी अनुसार यी सबै जातका दाना ठूला र साना हुने अलैंची कृषक सञ्जाल ताप्लेजुङका अध्यक्ष शिवकुमार गुरुङले जनाए । गुरुङका अनुसार मल, पानी पुगेको ठाउँमा सबै जातको अलैंचीको दाना ठूलो र पोटिलो हुन्छ । कृषि मन्त्रालयको तथ्यांक अनुसार नेपालमा पाँच हजार टन अलैंची उत्पादन हुन्छ । अलैंची व्यवसायी महासंघका अनुसार देशका ४१ जिल्लामा खेती बिस्तार भइसकेको छ ।

नेपालमा पाइने जातहरू भारतको सिक्किमवाट इलाम जिल्ला भएर भित्रिएको किसानहरूको बुझाइ छ । विस्तारित सबै जिल्लामा धेरथोर पाँचै जात पुिगसकेको छ । नेपालमा छ सयदेखि २८ सय मिटर उचाइसम्म अलैंची उत्पादन हुने गरेको किसानहरू बताउँछन् ।

प्रकाशित : जेष्ठ २७, २०७८ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?