ओलाङचुङगोलामै थन्किए साढे २ करोडका गलैंचा

कोरोनाकै कारण चीनले नाका नखोल्दा बिक्री भएन
आनन्द गौतम

ताप्लेजुङ — ओलाङचुङगोलाकी याङ्गी शेर्पाले गत वर्षको मंसिरयता गलैंचा बिक्री गर्न पाएकी छैनन् । आमाछोरीले दैनिक बुनेका गलैंचाको खात दिनानुदिन बढिरहेको छ ।

ओलाङचुङगोलामै थन्किए साढे २ करोडका गलैंचा

एकरङ्गे, बहुरङ्गी, ओलाङचुङगोला, ताप्लेजुङ जस्ता ठाउँको नाम लेखेको, सादा, बुद्धको तस्बिर, जनावरलगायतको चित्र अंकित गरी विभिन्न प्रकारका गलैंचा बुनेर कोठामा थन्क्याइएका छन् ।

कोठाको खाटमा एकमाथि अर्को ओछ्याएर र बेरेर राखिएका छन् । जुन दिन माग आउँछ त्यही दिन बेर्ने र बजार पुर्‍याउने उद्देश्य लिए पनि अहिलेसम्म माग नआएको उनी बताउँछिन् । ‘पाहुना सुताउने कोठा पनि अहिले गलैंचाको खातले भरिन थालेको छ,’ याङ्गी भन्छिन् ।

यहाँकी चुंगला शेर्पाले पनि गलैंचा बुन्न छाडेकी छैनन् । बिहान, दिउँसो, बेलुका गरी खाना बाहेकको हरेक समय गलैंचाको तानमा बिताउने उनले पनि याङ्गीले जस्तै खात बनाएर राखेकी छन् ।

गोलो/गोलो पारेर पट्याएर राखेको गलैंचाले भान्सादेखि पूजा र पाहुना कोठासम्म भरिन थालेको छ । घरको दोस्रो तलामा गलैंचाको खात लागेको छ । वर्ष दिनयता पालिमा बनाएको तानमा बुन्ने र काटेर राख्ने मात्रै काम भइरहेको छ ।

ओलाङचुङगोलाको यो बस्तीका हरेक घरमा गलैंचाको थुप्रो छ । एकै ठाउँमा झुरुप्प रहेको फक्ताङलुङ गाउँपालिका ७ को एउटै बस्तीमा १६ सय बढी गलैंचा रहेको वडाध्यक्ष छेतेन शेर्पा भोटे बताउँछन् ।‘अब त बुन्नेहरूको एउटै घरमा तीन/चार सय गलैंचा भइसक्यो,’ यही गाउँमा रहेका वडाध्यक्ष भोटेले भने, ‘खै, कोभिडको कारण चीनतिर निर्यात गर्नै सकिएन, काठमाडौंतिर लगेर बिक्री गर्न पनि सकिएन ।’

यहाँको गलैंचा गत वर्षसम्म प्रतिगोटा १६ हजार रुपैयाँले गाउँमै बिक्री हुँदै आएको थियो । त्यही मूल्यले पनि २ करोड ५६ लाख मूल्य बराबरका गलैंचा गाउँमा छ । ‘पहिला चीनमा लगेर बिक्री गर्थ्यौं,’ भोटेले भने, ‘धागो, ऊन, रङ उतैबाट ल्याउँथ्यौं र सस्तो पर्थ्यो । यो वर्ष कच्चा पदार्थ काठमाडौंबाट ल्याएकाले पहिलेकै मूल्यमा बिक्री गर्न गाह्रो हुने भएको छ ।’ उत्पादित वस्तु बिक्री नभएर थन्किएका कारण कच्चा पदार्थ किनेर थप उत्पादन गर्न गाउँलेलाई कठिन भएको उनले सुनाए ।

एकैठाउँ झुरुप्प बस्ती रहेको ओलाङचुङगोलामा ५२ घरको बसोबास छ । त्योमध्ये ३७ घरमा गलैंचाको तान रहेको वडा कार्यालयका कर्मचारीसमेत रहेका स्थानीय तेन्जिङ वालुङ बताउँछन् । ‘प्रायः सबै घरका महिलाहरूले गलैंचा बुन्छन्,’ तेन्जिङले थपे, ‘कसैले आफूले भ्याउँदा बुन्छन्, कसैले आमा, छोरी, बुहारी सबै भएर व्यावसायिक रूपमै बुन्छन्,’ यहाँका तीन/चार घरले खेताला लगाएरै पनि बुन्ने गरेको तेन्जिङले बताए । लामो समय बिक्री नहुँदा कच्चा पदार्थ किन्न नसकेका कारण खेतालाहरू भने फिर्ता गरेको उनले बताए । यतिबेला गाउँलेहरूको प्रतीक्षा चीनतर्फको ओलाङचुङगोला, टिप्ताला भन्ज्याङ नाका कहिले खुल्छ भन्ने छ । त्यो नाका खुले उनीहरूको गलैंचा बिक्री भइहाल्थ्यो । तर कोरोना संक्रमणका कारण बजार नखुलेपछि समस्या भएको हो ।

फक्ताङलुङ गाउँपालिकाका प्रवक्तासमेत रहेका यहींका बासिन्दा छेतेन वालुङ तिब्बत प्रशासनसँग अनुरोध गरेको तर नाका नखुली लान नसकिने जवाफ दिएको बताउँछन् । ‘दुई महिनाअघि उता तिब्बतबाट खाद्यान्न लगायतको सामग्री सिमानासम्म ल्याइदिने प्रस्ताव गरेको थियो,’ प्रवक्ता वालुङले भने, ‘हाम्रोबाट गलैंचा पनि लगिदेऊ न त भनेको अहिले मिल्दैन भने ।’ आफ्नो उत्पादन निर्यात नहुने भएपछि सीमावर्ती क्षेत्रका बासिन्दाले पनि सामान नल्याउने बताएका थिए ।

गत वर्ष असोज २९ गते चीनको घुम्तीमा भएको व्यापारिक केन्द्र उद्घाटनमा ओलाङचुङगोलाका सबै गलैंचा बिक्री भएका थिए । यहाँ पाँच दिनसम्म मेला लागेको थियो । चीनबाट ओलाङचुङगोला आएका गाडीले बुनेका सबै गलैंचा लगेका थिए । त्यसपछिको उत्पादन बिक्री भएको छैन ।

बिक्रीका लागि आफूहरू नै गएको र हाताहाती बिक्री गरेको त्यहाँ पुगेका टासी भोटेले बताए । उनका अनुसार नेपालबाट लगिएका सामानमध्ये सबैभन्दा छिटो गलैंचा बिक्री भएको थियो । असोजदेखि मंसिरसम्म निर्यात भएन । मंसिरदेखि सिमानामा हिउँ पर्न थाल्यो र जाने सम्भावना भएन । पुसमा कोरोना संक्रमण देखिएपछि चीनले गरेको सीमा बन्द अझैसम्म खुलेको छैन ।

प्रकाशित : जेष्ठ २६, २०७८ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?