सिकिस्त घाइते संक्रमितको शल्यक्रिया- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिकिस्त घाइते संक्रमितको शल्यक्रिया

कान्तिपुर संवाददाता

सुनसरी — दायाँ कोखाबाट १२ इन्च लामो रड छिरेर गम्भीर घाइते भएका झापाका ३८ वर्षीय कोरोना संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल शल्यक्रिया भएको छ । 

घाइतेको छातीमा छिरेको रडले देब्रेपट्टिको करङलाई छेडेर फोक्सोको तल्लो भागमा चोट लागेको अवस्थामा रड ननिकाली प्रतिष्ठानको इमर्जेन्सी कक्षमा पुर्‍याइएको थियो ।

प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणि पोखरेलका अनुसार तत्काल शल्यक्रिया गर्न घाइतेको एक्स–रे, सिटी स्क्यान र अन्य परीक्षणहरू गरेर अप्रेसन गर्नुपर्ने निर्णय चिकित्सकको टोलीले गरेको थियो ।

उनलाई तत्काल शल्यक्रिया गर्न मुख्य अप्रेसन थिएटरमा छिराइसकेपछि जिन एक्सपर्टका आधारमा पीसीआर जाँच गर्दा रिपोर्ट कोरोना पोजिटिभ आएको थियो । अप्रेसन थिएटरभित्र अन्तिम तयारी पूरा भएको बेला कोरोना पोजिटिभ देखिए पनि घाइतेलाई बचाउनु पहिलो प्राथमिकता भएकाले सर्जरी विभागका डा. सुरेशप्रसाद साहको नेतृत्वमा कार्डियो थेरासिक भास्कुलर सर्जन डा. लोकेशशेखर जैसवालको टिमले करिब चार घण्टा लगाएर सफलतापूर्वक शल्यक्रिया गरेका थिए । जेठ ११ गते दिउँसो घरको भित्ता प्लास्टर गर्दागर्दै ६ फिट उचाइबाट खसेर देब्रेपट्टि एउटा रड करिब १२ इन्च भित्र छिरेको थियो ।

जेठ १७ गते पुनः पीसीआर परीक्षण गर्दा रिपोर्टमा कोरोना नेगेटिभ आएपछि सर्जरी वार्डमा सारेर थप उपचारपश्चात पूर्ण निको भएका ती बिरामीलाई डिस्चार्ज गरिएको सहप्रवक्ता डा.पोखरेलले जानकारी दिए ।

शल्यक्रियामा सर्जन डा. साह र कार्डियो थोरासिक भास्कुलर सर्जन डा. जैसवाललाई डा.विजय श्रेष्ठ, डा. पवन सापकोटा, एनेस्थेसिया विभागका प्राडा.सत्येन्द्रनारायण सिंह, डा.योगेश ढकाल, डा.

विशाल देव, डा. अरुण मण्डल, नर्सहरू जानकी चौधरी, गीता राई, ओटी टेक्निसियन रञ्जन पाठक, हेल्पर दलबहादुर खड्काले सहयोग गरेका थिए ।

प्रकाशित : जेष्ठ २६, २०७८ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्

पाल्पामा ४ हजारलाई खोप लगाइँदै

कान्तिपुर संवाददाता

पाल्पा — सरकारको अभियानअन्तर्गत पाल्पामा मंगलबारदेखि ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । जिल्लामा यस उमेर समूहका ४ हजार १ सय १० नागरिकले खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । 

पाल्पाको तानसेन नगरपालिकाले लायन्स लाकौल आँखा अस्पतालमा सञ्चालन गरेको केन्द्रमा भेरोसेल खोप लगाइँदै। तस्बिर : माधव अर्याल/कान्तिपुर

यहाँको तानसेन र रामपुर नगरपालिकाका साथै माथागढी गाउँपालिकाले जेठ २७ गतेसम्म तीन दिन खोप लगाउनेछन् । तिनाउ, निस्दी, पूर्वखोला, रम्भा, बगनासकाली, रिब्दीकोट, रैनादेवीछहरा गाउँपालिकाले मंगलबार र बुधबार खोप लगाउनेछन् ।

खोपका लागि १० स्थानीय तहले तथ्यांक संकलन गरी स्वास्थ्य कार्यालयमा पठाएका छन् । यसअघि भने स्वास्थ्य मन्त्रालय र जिल्लास्थित स्वास्थ्य कार्यालयले ६० देखि ६४ वर्ष उमेर समूहको तथ्यांक संकलन गरेको थियो । जिल्लामा ७० वर्षदेखि माथिकाको पनि छुट्टै तथ्यांक संकलन भएको छ । तर, ५० प्रतिशत मात्र खोप आएकाले जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार खोप अपुग हुने भएपछि ६२ देखि ६४ वर्ष उमेर समूहकालाई मात्र लगाउने निर्णय भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पन्थीले बताए ।

यस्तै, बर्दियामा पूर्वतयारी नहुँदा लक्षित उमेर समूहलाई बिहीबारबाट खोप लगाइने भएको छ । बुधबार मन्त्रालयबाट जानकारी आएपछि तालिका परिवर्तन गरिएको स्वास्थ्य कार्यालयका अधिकारीले बताए । ६२ देखि ६४ वर्ष उमेर समूहका लागि पनि पर्याप्त खोप आएको छैन । जिल्लामा १२ हजार ९ सय ९३ जना उक्त उमेर समूहका नागरिक रहेको अनुमान छ । सरकारले ६ हजार ४ सय ८५ जनाका लागि मात्र खोप उपलब्ध गराएको स्वास्थ्य प्रमुख गोकर्ण गिरीले बताए ।


प्रकाशित : जेष्ठ २६, २०७८ ०८:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×