प्रहरी चौकी आक्रमणमा संलग्न दुई जनाले गरे आत्मसमर्पण

सुनसरी — धरान उपमहानगर–१५ बाझगरास्थित प्रहरी चौकीमा आक्रमण गरी फरार भएका दुई जनाले मंगलबार धनकुटा जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् । जेठ १३ गते चौकीमा आक्रमण गरी प्रहरीलाई घाइते बनाएका उनीहरू ११ दिनसम्म धनकुटाको शुक्रबारेस्थित जंगलमा लुकेर बसेका थिए । 

धरान र धनकुटाका प्रहरीले जंगलमा व्यापक खोजी गरेपछि धरान–१५ बस्ने ३२ वर्षीय रेगन राई र धरान–४ बस्ने ३० वर्षीय वसन्त राईले धनकुटाका जनप्रतिनिधिमार्फत आत्मसमर्पण गरेका हुन् । सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले भने, ‘मुख्य आरोपी रेगन र वसन्त राईलाई आज (मंगलबार) नै धनकुटाबाट धरान ल्याइँदै छ ।’ उनका अनुसार उक्त प्रकरणमा यसअघि धरानकै कालु लिम्बु, विक्रम राई र सिजन राई तीनजना पक्राउ परिसकेका छन् । पाँच जना अझै फरार छन् ।

‘धम्की आएकाले आफ्नो ज्यानको सुरक्षा माग गर्दै दुई जना युवा चौकीमा पुगेलगत्तै मोटरसाइकल र स्कुटीमा आएका १० जनाले चौकी आक्रमण गरेका थिए,’ उनले भने, ‘प्रहरीले ती दुई जनालाई जोगाउन खोज्दा चौकी इन्चार्ज सुमन दाहाल र अन्य प्रहरी घाइते भएका थिए ।’ उनका अनुसार युवाहरूले चौकीमा तोडफोड गर्नुका साथै ढुंगा हानेका थिए । पक्राउ परेका ५ जना र फरार ५ जनालाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको कार्कीले बताए ।


प्रकाशित : जेष्ठ २५, २०७८ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?