छोरीहरूले गरे बुबाको दाहसंस्कार- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छोरीहरूले गरे बुबाको दाहसंस्कार

कोरोना संक्रमितको आशंकामा शव छुन मानेनन् छिमेकीले 
डिल्लीराम खतिवडा

उदयपुर — आफन्त र दाजुभाइ नहुँदा कटारी नगरपालिका–५ बरमझियाका दुई जना दिदीबहिनीले सोमबार बुबाको मृत्युपछि आफैंले शवयात्रा गरी दाहसंस्कार गरेका छन् ।

कटारी–५ बरमझियाका दुई दिदीबहिनी बुबाको काजकिरियाका क्रममा । तस्बिर : कान्तिपुर

स्थानीय ६० वर्षीय बालबहादुर मगरको मृत्युपछि छिमेकीले शव छुन नमानेपछि १७ र २० वर्षीया छोरीले नै दाहसंस्कार गरेका हुन् ।

बालबहादुर बसोबास गर्दै आएको बरमझियामा आफ्नो समुदायका आफन्त र दाजुभाइ छैनन् । दाजुभाइ र आफन्त नहुँदा स्थानीयले शव छुन नहुने भन्दै पन्छिए । शव नछुने तर अन्य सहयोग गर्ने भनेपछि १७ वर्षीया कुमारी र २० वर्षीया भगवती मगरले मगर संस्कारअनुसार शवयात्रा गरी तवाखोलाको घाटमा दाहसंस्कार गरेका हुन् ।

दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्ने बालबहादुरको परिवार २०६१ सालतिर ओखलढुंगाबाट त्यहाँ झरेको हो । दुई छोरी र श्रीमतीसहित स्थानीय शिवहरि दाहालको जग्गामा सानो झुप्रो हालेर बालबहादुर बसोबास गर्दै आएका थिए । परिवारका ४ जना नै कटारी बजार र आसपासको क्षेत्रमा दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका छन् ।

माघ, फागनुदेखि पेटको समस्याले बिरामी परेका बालबहादुर वैशाखदेखि घरमै थलिएका थिए । स्थानीयको सहयोगमा औषधोपचार गराए पनि निको नभएपछि घरमै थिए । बिरामी भएर घरमै थलिएर मृत्यु भएका बालबहादुरको मृत्युपछि कोरोना संक्रमणको कारण देखाउँदै स्थानीयले छुन नचाहेको समाजसेवी राजु मगरले बताए ।

‘कोरोना संक्रमण फैलिएको अवस्थामा मृत्यु भएकाले पनि छिमेकीले शव उठाउन अप्ठ्यारो मानेछन्,’ उनले भने, ‘मगर समुदायको भएकाले पनि अन्य समुदायका छिमेकीले छुन नहुने भन्दै पन्छिएछन् ।’

आफ्नै दाजुभाइ र अहिले आफ्नो आफन्त नभएकाले बुबाको दाहसंस्कार र काजकिरिया आफैंले गर्ने निर्णय गरेको कुमारी र भगवतीले बताए । ‘बुबाको हामी आफैंले शवयात्रा गरेर दाहसंस्कार गर्‍यौं’ उनीहरूले भने, ‘अब मगर संस्कार संस्कृतिअनुसार काजकिरिया पनि गर्छौंर्र् ।’ स्थानीय छिमेकी र आफ्ना समुदायको सहयोग रहेको उनीहरूले बताए ।

मगर संस्कारअनुसार ७ दिनमा बालबहादुरको काजकिरिया सकिने राजुले बताए । अहिले कुमारी, भगवती र उनीहरूकी आमा किरियामा बसेको उनले बताए ।

प्रकाशित : जेष्ठ २५, २०७८ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्

सुदूरपश्चिममा प्री–बजेट प्रस्तुत

बजेट स्वास्थ्य संकटको सामना र गुणात्मक र सन्तुलित विकासमा बजेट केन्द्रित हुने
कान्तिपुर संवाददाता

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले सोमबार प्रदेशसभामा आर्थिक वर्ष ०७८/०७९ को पूर्वबजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक वर्षको पूर्वबजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकताहरू प्रस्तुत गरेका हुन् ।

प्रदेशसभामा सोमबार प्री बजेट प्रस्तुत गर्दै सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह । तस्बिर : अर्जुन शाह

सरकारले एक सातापछि ल्याउन लागेको आगामी आर्थिक वर्षको बजेटमा कोरोना महामारी नियन्त्रण तथा स्वास्थ्य क्षेत्र प्रमुख प्राथमिकतामा राखिने बताएको छ । मन्त्री शाहले राज्यका दायित्वहरू पूरा गर्न आगामी वर्षको बजेट केन्द्रित हुने बताएका छन् ।

‘स्वास्थ्य संकटको सामना र गुणात्मक र सन्तुलित विकासमा बजेट केन्द्रित हुनेछ,’ मन्त्री शाहले पूर्वबजेट दस्तावेज प्रस्तुत गर्दै भने, ‘कृषि, शिक्षा, पूर्वाधार विकास, सामाजिक सशक्तीकरण र सामाजिक न्याय स्थापित गर्दै प्रदेश सरकारले अभिभावकीय भूमिका बढाउने योजनाहरूलाई प्राथमिकता दिइनेछ ।’

मन्त्री शाहले आगामी बजेटमा रोजगार गुमाएकाहरूलाई विशेष प्रोत्साहन तथा विशेष क्षेत्र विकासका कार्यक्रमहरू सञ्चालन गरिने बताए । सुदूरपश्चिमलाई लगानीको क्षेत्र विकास गर्ने उनको भनाइ छ । प्रदेश आयोजन बैंकको स्थापना गर्ने मन्त्री शाहले बताए । दुर्गम तथा पछाडि परेका जिल्लाहरूमा प्राथमिकताका साथ बजेट विनियोजन गरिने उनको भनाइ छ । ‘भू–उपयोग नीति, सामूहिक खेतीलाई जोड दिइनेछ,’ मन्त्री शाहले भने, ‘सबै जिल्लामा कृषिका विशेष कार्यक्रमहरू सञ्चालन गरिनेछ ।’ मन्त्री शाहले पूर्वबजेट प्रस्तुत गर्नुअघि कांग्रेस सांसद भरतबहादुर खड्काले सभामुख समक्ष विशेष समय मागेर बोलेका थिए । त्यस क्रममा उनले विनियोजन विधेयक त्रुटिपूर्ण भएको जिकिर गरे । बजेट प्रस्तुत गर्नुभन्दा १५ दिन अगावै पूर्वबजेट र नीति तथा कार्यक्रम पेस गर्नुपर्ने नियमलाई सरकारले अध्यादेशद्वारा संशोधन गरेर समयको सीमा हटाएको थियो । सांसद खड्काले भने, ‘संसद् सुरु भएको पहिलो दिन अध्यादेश सदनबाटै स्वीकृत गर्नुपर्ने हो । त्यसो नगरेर विधिहरू मिच्दै लगिएको छ ।’

सोमबार अपराह्न प्रदेशसभाको दोस्रो बैठक सञ्चालन भएको थियो । उक्त बैठकमा पूर्व बजेटमाथिको छलफल गरिएको छ । त्यस क्रममा आफ्नो धारणा राख्दै कांग्रेस सांसद भरतबहादुर खड्काले सरकारले प्रदेश संसद्लाई मनोरञ्जनको थलो बनाउन नहुने बताएका छन् । ‘कोभिडले संकटपूर्ण अवस्था छ, सिटामोल पाउने अवस्था छैन,’ सांसद खड्काले भने ।

प्रकाशित : जेष्ठ २५, २०७८ ०८:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×