कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुकेटार विमानस्थलको नाम नबदल्न फुङलिङ नगरपालिकाको माग

आनन्द गौतम

ताप्लेजुङ — फुङलिङ नगरपालिकाले सुकेटार विमानस्थलको नाम परिवर्तन नगर्न सरकारसँग आग्रह गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण प्रस्तुत गर्ने क्रममा सुकेटार विमानस्थललाई स्वर्गीय नेता रवीन्द्र अधिकारीको नामबाट नामकरण गरिएको बताएपछि जिल्लामा विरोध भइरहेको छ ।

सुकेटार विमानस्थलको नाम नबदल्न फुङलिङ नगरपालिकाको माग

सोमबार बिहान बसेको ७०औं कार्यपालिका बैठकले विमानस्थलको नाम सुकेटार नै राख्नुपर्ने निर्णय गरेको ८ नम्बर वडाध्यक्ष पदमसुन्दर पालुङवाले बताए ।

डीपीआरसमेत भएको फुङलिङ–१० र ११ को गोरुजुरेमा निर्माणाधीन रवीन्द्र स्मृति पार्कलाई पूर्णता दिन पनि नगरपालिकाले आग्रह गरेको छ । पहिलो वर्ष फुङलिङ नगरपालिकामार्फत ५० लाख र सहरी विकासमार्फत २० लाख गरी ७० लाख छुट्याएको सरकारले त्यसपछि बजेट विनियोजन गरेको छैन । एमालेको माधव नेपाल समूहसहित जिल्लाका ७ राजनीतिक दलले नाम परिवर्तन नगर्न भन्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री र पर्यटनमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।

नाम परिवर्तनको विषयले एमालेको ओली समूहका नेता पनि दबाबमा परेका छन् । ओली समूहका एक नेताले भने, ‘हाम्रा जिल्ला अध्यक्ष भूपेन्द्र दाइ विभागीय मन्त्री भानुभक्त ढकालदेखि प्रधानमन्त्री केपी शर्मा ओलीसम्मलाई सम्पर्क गर्दै हुनुहुन्छ ।’ आफू स्वयंले पनि नेताहरूसँग कुरा गरिरहेको उनले बताए । ऐतिहासिक थातथलोको विषयमा कसको चाहनामा यसरी निर्णय भयो भन्नेमा आफू अचम्ममा परेको उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ १७, २०७८ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?