उपमहानगरपालिका र वन विभागबीच खानी विवाद

खोलानदीको उत्खनन क्षेत्राधिकार दाबीसहित जुहारी, चुरे क्षेत्रमा जथाभावी गरेको भन्दै स्थानीयको विरोध

सुनसरी — खोलानदीबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्ने विषयमा धरान उपमहानगर र जिल्ला वन कार्यालयबीच विवाद भएको छ । उपमहानगरले ढुंगा, गिट्टी, बालुवा उत्खननका लागि सर्दु, सेउती र सेहरा खोलामा ४ करोड ९१ लाख रुपैयाँको ठेक्का लगाएपछि दुई संस्थाबीच विवाद भएको हो ।

उपमहानगरपालिका र वन विभागबीच खानी विवाद

त्यस क्षेत्रको उत्खनन अधिकार क्षेत्रबारे उपमहानगर र वन विभागले आआफ्नो भएको दाबी गरेकाले जुहारी चलेको हो ।

बुधबार सेउती खोलामा उत्खनन सुरु भएपछि त्यसलाई रोक्न वन कार्यालयले तीन गाडीमा बन्दुकसहित २० वन विभागका कर्मचारी पठाएको बेला उपमहानगरले ३५ नगरप्रहरी पठाएपछि भिडन्तको स्थिति उत्पन्न भएको थियो ।

वन कार्यालय सुनसरीका प्रमुख दानबहादुर श्रेष्ठले भने, ‘सर्दु, सेउती र सेहरा खोलाबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्ने, ठेक्का लगाउने अधिकार वनलाई मात्र छ, स्थानीय तहलाई छैन । खोला उत्खनन रोक्न खोज्दा धरानका मेयर तिलक राई र उपमेयर मन्जु भण्डारीले ३५ जना नगर प्रहरी लिएर वनका सिपाहीसँग भिडन्त गर्न आउनुभयो ।’

वनको अधिकार क्षेत्रमा पर्ने खोला, नदी उत्खनन गर्ने र ठेक्का लगाउने अधिकार स्थानीय तहलाई नभएको बेला वन विभागलाई नै चुनौती दिइएको डीएफओ श्रेष्ठले बताए । श्रेष्ठले गत मंसिरदेखि धरान उपमहानगर पालिकालाई सर्दु, सेउती र सेहरामा उत्खनन गर्न र ठेक्का लगाउन दिएका थिएनन् । तर कोरोनाको दोस्रो लहरमा जिल्लाभर कडा निषेधाज्ञा जारी भएको मौकामा जेठ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन गर्ने सर्तमा अर्जुन भण्डारीको पाथीभरा निर्माण सेवा कम्पनी इटहरीलाई सेउती र सर्दुमा र विनिताश्री कन्स्ट्रक्सन एन्ड सप्लायर्सलाई सेहरा खोलामा ठेक्का दिएको श्रेष्ठले बताए ।

वन विभागले उत्खनन रोक्ने प्रयास गरे पनि असफल भएको छ । उपमहानगरले नगर प्रहरी र जनपद प्रहरी लगाएर उत्खनन कार्यलाई निरन्तरता दिएको छ ।

यसैबीच बिहीबार धरान १७ स्थित डाँडा घोपावासीले चुरे क्षेत्रमा जथाभावी उत्खनन गरेको भन्दै सर्दु खोला उत्खननको विरोध गरेका छन् । सर्दु खोलामा पुगेर उत्खनन रोक्न माग गरेका छन् । चुरे क्षेत्र भनेर विगतमा उपमहानगरले ढुंगा, गिट्टी निकाल्न रोक लगाउने गरेको र स्थानीयले संरक्षण गरिरहेको सामुदायिक वन क्षेत्रमा नै क्षति पुग्ने गरी उत्खनन गर्न रोक लगाएको डाँडाघोपा नमुना मार्ग टोल विकास संस्थाका संयोजक लीलाबहादुर बुढाथोकीले बताए । उनले भने, ‘चुरे भावर क्षेत्रमा ढुंगा, बालुवा, मिसगिट्टी निकाल्न प्रतिबन्ध रहे पनि जनप्रतिनिधिले नै ठेक्का लगाएर उत्खनन गर्न आदेश दिनु विडम्बना हो ।’

डाँडाघोपा नमुना सामुदायिक वनका अध्यक्ष सिवनकुमार राईले वन कार्यालयसँग समन्वय नगरी उत्खनन भइरहेको बताए । ठेकेदार कम्पनीले भने उपमहानगरले ठेक्का लगाएको र प्रक्रियाअनुसार ठेक्का पाएपछि उत्खनन थालेको जनाएको छ । बुधबार धरान ५ का वडाअध्यक्ष सन्तोष लिम्बूको नेतृत्वमा गएको स्थानीयको टोलीले सेउती खोलामा भइरहेको उत्खनन रोक्ने प्रयास गरेका थिए । अध्यक्ष लिम्बूको नेतृत्वमा गएका युवाहरूले एक्स्काभेटर र ट्रिपरहरूलाई खोलाबाट फर्काइदिएका थिए ।

उपमहानगर प्रमुख राईले वनको अधिकार नमिचेको दाबी गरे । उनले भने, ‘सर्दु, सेउती, सेहरा खोला नदीजन्य क्षेत्रका ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्नु र ठेक्का लगाउने अधिकार स्थानीय तहलाई छ । यो वनको अधिकार क्षेत्रमा पर्दैन । स्थानीय तहको अधिकार क्षेत्रमा नपर्ने भए किन ठेक्का लगाइन्थ्यो ?’

उनले पहिले जिल्ला विकास समितिले खोलानदी जन्य क्षेत्रमा ठेक्का लगाउने गरेको तर पछिल्लो समयमा स्थानीय तहको अधिकार क्षेत्रमा आएकाले धरान उपमहानगरपालिकाले ठेक्का लगाएको बताए ।

प्रकाशित : जेष्ठ १४, २०७८ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?