बजार नपाउँदा डेरी उद्योगलाई समस्या

विप्लव भट्टराईं

इलाम — सन्दकपुर–५ जमुनाका रामकुमार गुरुङको मुख्य व्यवसाय डेरी हो । दैनिक एक सय लिटरभन्दा धेरै दूध प्रशोधन गरेर घिउ र छुर्पी निर्माण गर्दै आएका उनलाई कहिलेसम्म उद्योगलाई निरन्तरता दिने भन्ने चिन्ता थपिएको छ ।

छिमेकी प्रदीप भट्टराईको समस्या पनि उस्तै छ । कृषकबाट निरन्तर दूध खरिद गरेर घिउ, छुर्पी बनाउने क्रम जारी रहे पनि तत्काल बजारसम्म पुर्‍याउन नसक्दा उनीहरू जस्ता दर्जनौं उद्योगीलाई समस्या देखिएको हो ।

कोभिड–१९ को दोस्रो लहर नियन्त्रणका क्रममा जारी निषेधाज्ञाका कारण दुग्ध उत्पादक कृषक तथा डेरी उद्योगहरू प्रभावित भएका छन् । प्रशासनले कृषि उपज ल्याउन लान प्रतिबन्ध नलगाए पनि गाउँपालिकाले केही समयका लागि भन्दै अत्यावश्यक कामबाहेक सवारीका साधन सञ्चालनमा रोक लगाएको छ । अर्कोतर्फ जोखिम भित्रने डरले सवारी धनीहरूले पनि सहज रूपमा यातायातका साधन सञ्चालन गर्न आँट गरेका छैनन् ।

जमुना क्षेत्रमा मात्रै ३० वटा डेरी उद्योग छन् । सन्दकपुर गाउँपालिकाभरमा १ सय ५० को हाराहारीमा उद्योग छन् । अधिकांश उद्योगले ५० देखि २ सय लिटरसम्म दूध दैनिक प्रशोधन गर्छन् । तर कृषकबाट दूध खरिद गरेर घिउ र छुर्पी उत्पादन गरे पनि बजारसम पुर्‍याउन नसक्दा उद्योगहरूलाई नियमित भुक्तान गर्न समस्या देखिएको छ ।

यस्तै कृषकले पनि गाईलाई खुवाउने दाना, भुस, पिठोलगायतको अभावका कारण समस्या देखिएको जनाएका छन् । ‘घाँसको भरमा मात्र गाई पाल्नुपर्ने अवस्था आएको छ,’ सन्दकपुरकी शिला गुरुङले भनिन्, ‘नियमित रूपमा भुस, पिठो पाउन नै छाडिएको छ ।’

अघिल्लो वर्षको लकडाउनको समयमा पनि मार खेपेका डेरी उद्योगले यो पटक पनि निषेधाज्ञा लम्बिए ठूलो क्षति बेहोर्नुपर्ने चिन्ता गरेका हुन् । ‘’हामीले दूध खरिद गरेर मात्रै पुग्दैन,’ भट्टराईले भने, ‘उत्पादित सामग्रीलाई बिक्री पनि गर्नुपर्छ ।’

यहाँ उत्पादित घिउ झापासहित राजधानीका बजारसम्ममा बिक्री हुन्छ । त्यस्तै छुर्पी अमेरिका र जापानसम्म पुग्ने गरेको छ । तर निषेधाज्ञाका कारण अहिले यस क्षेत्रवाट घिउ, छुर्पी बजारसम्म पुग्न सकेको छैन ।

गाउँमा नै रोजगारी र आयआर्जनको राम्रो स्रोत बनेको डेरी व्यवसायलाई यो माहामारीमा पनि सुरक्षाको अधिक्तम उपाय अलवम्बन गर्दै सुरक्षित राख्न सम्बन्धित निकायको ध्यान जानुपर्ने कृषक र उद्योगीको माग छ ।

सय लिटर दूध प्रशोधन गर्दा एउटा डेरीले दैनिक ५ किलो छुर्पी र ४ किलो घिउ उत्पादन हुन्छ । बजारमा घिउ प्रतिकिलो ५ सय ५० र छुर्पी प्रतिकिलो ९ सय रुपैयाँमा बिक्री हुन्छ ।

प्रकाशित : जेष्ठ ११, २०७८ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्

जसले संक्रमण रोक्न पूर्वतयारी गरे

पहिले नै बजेट विनियोजन र आइसोलेसन निर्माणले रोकथाम प्रभावकारी
ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको हरिवन नगरपालिकामा गत साता एक जना कोरोना संक्रमितको अवस्था गम्भीर भयो । उनलाई आइसोलेसनसम्म लैजान एम्बुलेन्स तयारी अवस्थामा थियो, तर चालक भने थिएनन् । यो थाहा पाएपछि मेयर गणेश प्रसाइँले संक्रमितलाई एम्बुलेन्समा राखेर आफैंले आइसोलेसन पुर्‍याए । अहिले ती संक्रमितको स्वास्थ्यमा सुधार छ ।

गत मंगलबार हरिवन–११ मा संक्रमणबाट मृत्यु भएकी महिलाको शव बोक्न शववाहन तथा एम्बुलेन्सका चालकले मानेनन् । वडाध्यक्ष शेष महबुब रेजाले संक्रमितको शव नदी किनारसम्म आफैं पुर्‍याए । उनले शववाहन आफैंले चलाएर नदीसम्म पुर्‍याएका थिए ।

जिल्लामा कोरोना महामारीका बेला जनप्रतिनिधिको भूमिका सहयोगी नभएको भन्दै आलोचना बढिरहेका बेला सर्लाहीका दुई पालिकाका जनप्रतिनिधिले भने मन जित्ने काम गरेका छन् । हरिवन र गोडैता नगरपालिका महामारी नियन्त्रणमा सक्रिय रूपमा लागेका छन् । ‘शववाहनका चालकले घरमा वृद्ध बाआमा हुनुहुन्छ भनेर शव बोक्न मानेनन् । त्यसपछि नगरभरका एम्बुलेन्स चालकलाई आग्रह गरे । कसैले पनि मानेनन्,’ वडाध्यक्ष रेजाले कान्तिपुरसँग भने, ‘त्यसपछि म आफैंले शववाहन चलाएँ ।’ नागरिकको दुःखमा मलम लागाउन पाएकोमा खुसी भएको उनले बताए ।

गोडैता नगरपालिकाले पनि यसवर्ष कोरोनासँग जुध्दै विकास निर्माण अगाडि बढाइरहेको छ । चालु आर्थिक वर्षमा विकास निर्माणमा विनियोजित २४ करोड रकममध्ये ९० प्रतिशत खर्च भइसकेको मेयर देवेन्द्र यादवले बताए । उनले यसवर्ष कोभिड नियन्त्रणका लागि पहिलादेखि नै ३५ लाख रकम विनियोजन गरेर रोकथामको प्रयासमा लागेको जानकारी दिए । नगरले २५ वेडको अक्सिजनसहितको आइसोलेसन निर्माण गरेको छ । यहाँ स्वाब संकलन र कन्ट्याक्ट ट्रेसिङ पनि भइरहेको छ ।

सर्लाहीका नागरिक अगुवा रजनीकान्त झाले जनप्रतिनिधि इमान्दार भए विकास र महामारीबाट जोगिन नागरिकले धेरै संघर्ष गर्नै नपर्ने जनाए । ‘हरिवन र गोडैतका जनप्रतिनिधिले महामारीका बेला जनतालाई साथ दिएका छन् । जनप्रतिनिधि नागरिकप्रति उत्तरदायी हुनैपर्छ,’ उनले भने, ‘जनप्रतिनिधि इमान्दार भएर जनताका लागि काम गर्‍यो भने नागरिकले दुःखकष्ट झेल्नै पर्दैन ।’ यसअघि हरिवनका मेयरले आफ्नो सुविधाका लागि पाएको गाडी किन्ने रकम स्थानीय खोलामा कल्भर्ट बनाउन प्रयोग गरेका थिए ।

कोरोना नियन्त्रणका लागि हरिवन नगरपालिकाले यस आर्थिक वर्षमा मात्र १ करोड बजेट छुट्याएको छ, जसका कारण कोभिड नियन्त्रण र रोकथाममा हरिवन जिल्लाभरि नै उत्कृष्ट मानिएको छ । यहाँ अक्सिजनसहित सय बेडको आइसोलेसन निर्माण भएको छ ।

पालिकाले कोरोना लक्षण देखिएका नगरवासीको स्वाब संकलनलाई प्राथमिकतामा राखेको छ । कन्ट्याक्ट ट्रेसिङ पनि भइरहेको नगरले जनाएको छ । गौडेतामा २० जना र हरिवनमा १०४ जना सक्रिय संक्रमित छन् । जिल्लामा १ हजार ५८ सक्रिय संक्रमित हालसम्म सक्रिय छन् ।

प्रकाशित : जेष्ठ ११, २०७८ १०:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×