२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

निषेधाज्ञा छिचोल्दै सडक निर्माणमा स्थानीय

वडाभरि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम
आनन्द गौतम

ताप्लेजुङ — कोरोना संक्रमणका कारण निषेधाज्ञा जारी भएपछि फुङलिङ नगरपालिका ९ हाङदेवा सैसलेकी कालुमाया विक पाँच दिनसम्म घरमै बसिन् । आफ्नै करेसाबारीमा गोडमेल गरिन् । गाउँघरमा हिँड्न नपाइने र ज्याला मजदुरी नगरी दैनिकी पनि नचल्ने भएपछि उनलाई कसरी छाक टार्ने भन्ने खटपटी सुरु भयो ।

निषेधाज्ञा छिचोल्दै सडक निर्माणमा स्थानीय

छोराछोरीको पालन पोषण गर्नुपर्ने एकल महिला उनलाई वडाध्यक्ष तारा बरालले फोन गरेर मोटरबाटो सोलिङको प्रस्ताव गरे । गाउँबाट बाहिर निस्कन नपाइने, बाहिरका मान्छेलाई प्रवेश पनि नदिने र समुदायकै मानिसले मिलेर बाटो सोलिङ गर्नुपर्ने प्रस्ताव उनका लागि अवसर भयो ।

विक दुई सातायता अहिले प्रत्येक दिन बिहान १० देखि ५ बजेसम्म काममा जाने गरेकी छन् । आवश्यकताअनुसार ढुंगा बोक्नेदेखि सोलिङ गर्नेसम्मको जिम्मेवारी उनले सम्हालेकी छन् ।

यही वडाका थोक्तेन शेर्पा पनि यसरी नै काम गरिरहेका छन् । छिनु, मार्तल र झम्पलले ढुंगा फुटाउने र सडकसम्म निकाली दिने जिम्मेवारी उनको छ । सोलिङ गर्ने ठाउँमा ढुंगा नभएकाले उनको टोली सडकदेखि २५ मिटरमाथिको ढुंगा फुटाउँछ । यो टोलीमा ७ जना छन् । पालैपालो गरेर मार्तल हान्छन् र फुटाएर बाहिर निकाल्छन् । अर्को टोलीले सहज ठाउँमा ढुंगा निकालिदिन्छन् र महिलाको टोलीले डोकामा बोकेर काम गर्ने ठाउँसम्म पुर्‍याइदिन्छन् ।

कोरोना संक्रमणका कारण घरबाहिर ननिस्कन र हिँडडुल नगर्न स्थानीय प्रशासनले निषेधाज्ञा लगाइरहेका बेला फुङलिङ नगरपालिका वडा ९ हाङदेवाले भने प्रधानमन्त्री स्वरोजगार कार्यक्रम वडाभरि लागू गरेको छ ।

उक्त कार्यक्रममा बेरोजगारको फर्म भरेका र नभरेका दुवै सहभागी छन् । जसलाई दैनिक काम नगरी गुजारा चल्दैन, उनीहरू सबैलाई समेटेको वडाध्यक्ष बराल बताउँछन् । ‘नियमत एक जनाले वर्षमा एक सय दिन पुर्‍याउनुपर्छ भन्ने छ,’ बरालले भने, ‘संकट र संक्रमणका बेला सबैलाई बचाउनुपर्ने भएकाले साँच्चैका गरिखानेलाई काममा लगाइएको छ ।’

संक्रमण बढेर हिँडडुलमा प्रतिबन्ध लगाएपछि गाउँका मान्छेले राहत माग्न थालेपछि ठाउँ पहिचान गरेर तत्काल काम सुरु गरेको उनले बताए । फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलका अनुसार यो वडामा २८ लाख रुपैयाँ काम गर्नेले पारिश्रमिक पाउने गरी छुट्याइएको छ ।

‘सामान्य परिस्थितिमा फर्म भरेका मात्रैलाई काम दिँदा हुन्थ्यो । यो बेला सबै बेरोजगार भए, सबैलाई काम दिनुपर्ने बाध्यता भयो,’ वडाध्यक्ष बरालले भने । गाउँमा एउटाले काम पायो अर्कोले पाइन भन्ने गुनासो हुने भएकाले पनि इच्छुकलाई काममा लगाइएको बराल बताउँछन् ।

फुङलिङ नगरपालिकाका अनुसार संक्रमणपछि २ सय ५० जनाले काम पाएका छन् । सैसलेबाट भुटाने चोक, गाइगोडेबाट बैदारे र हिउँदेबाट चिहानडाँडा जाने मोटरबाटो सोलिङको काम भइरहेको नगरपालिकाले जनाएको छ ।

संक्रमण बढ्दै गए अरू वडामा पनि धमाधम काम लगाउने नगरपालिका प्रमुख छत्रपति प्याकुरेल बताउँछन् । ‘सबै राहत राहत भन्छन्,’ प्याकुरेलले भने, ‘यो बेला राहत दिएर हुँदैन, मेसिन लगाउने पैसा काटेर मास्क र सेनिटाइजर दिएर काम गर्छु, चाहियो भन्नेलाई दैनिक पैसा दिएर काममा लगाउँछु ।’

प्रकाशित : जेष्ठ ४, २०७८ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?