कोभिड अस्पताल बन्यो, सञ्चालनमा आएन

सुनसरी — अक्सिजनको पाइपलाइन जोड्ने प्राविधिक नहुँदा सुनसरीको इनरुवामा निर्माण गरिएको २० बेडको कोभिड अस्पताल अझै सञ्चालनमा आउन सकेको छैन । इनरुवा नगरपालिकाको समन्वयमा सञ्चालन हुने भनिएको अस्पताल साताअघि नै तयार भएको हो ।

कोभिड अस्पताल बन्यो, सञ्चालनमा आएन

सुनसरीका राजमार्ग दक्षिणका पालिकाहरूमा कोभिड संक्रमणको दर अत्यधिक बढेका बेला अस्पताल सञ्चालनमा ढिलाइ हुनु लापरबाही भएको स्थानीयले बताएका छन् ।

एक आईसीयू बेडसहितको अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले २० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरिसकेको छ । तयार भएर पनि अस्पताल सञ्चालनमा नआउँदा संक्रमणले जटिल समस्या भएका इनरुवा क्षेत्रका बिरामीलाई धरान र विराटनगर रेफर गर्ने गरिएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले कोभिड अस्पतालका लागि सबै तयार भए पनि अक्सिजनको पाइपलाइन जडान गर्ने प्राविधिक जनशक्ति अभावमा सेवा सञ्चालनमा ढिलाइ भएको बताए । उनले भने, ‘चाँडै सञ्चालनमा ल्याउन भनेर तयार गरियो तर अक्सिजनको पाइपलाइन जोड्न आएकाहरूले धोका दिए । बुधबार मोरङबाट एक जना प्राविधिक आएर नाप्ने काम भइरहेको छ ।’

अक्सिजनको पाइपलाइन जोडेर केही दिनमै अस्पताल सञ्चालनमा ल्याउने उनले बताए । कोभिड अस्पतालमा सेन्ट्रल सप्लाई सिस्टमअनुसार सबै बेडमा राखिएका सिलिन्डरमा अक्सिजन सप्लाइ हुने गरी तयारी भइरहेको उनले जनाए ।

प्रकाशित : वैशाख ३०, २०७८ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?