२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

किनेरै अक्सिजन जोहो

ओखलढुंगा — सम्भावित अक्सिजनको अभाव पूर्ति गर्न तयारी थालिएको छ । स्थानीय प्रशासन र उद्योग वाणिज्य संघलगायतको समन्वयमा आवश्यक तयारी थालिएको हो ।

उद्योग वाणिज्य संघले गाडी ग्यारेज र वेल्डिङ व्यवसायीसँग भएको १५ वटा सिलिन्डर संकलन गरेको छ । त्यसैगरी थप १० थान सिलिन्डर २१ हजार रुपैयाँका दरले खरिद गरेको छ । न्यूनतम ३५ किलोदेखि ६० किलोसम्म क्षमताको अक्सिजन सिलिन्डर रहेका छन् ।

त्यसैगरी जिल्ला स्वास्थ्य कार्यालयमा सानाठूला गरी १९ वटा अक्सिजन सिलिन्डर रहेको छ । मिसन अस्पतालमा ४० वटा सिलिन्डर गरी जिल्लामा कुल ८४ वटा सिलिन्डर रहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले बताए ।

अक्सिजन भर्नका लागि मिसन अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट रहेको छ । २४ घण्टामा प्लान्टबाट ठूलो सिलिन्डर ८ वटा भर्न सकिने अस्पतालका प्रशासन प्रमुख बुद्ध श्रेष्ठले बताए । हाललाई जिल्लामा अक्सिजनको अभाव देखिएको छैन । संक्रमणको अवस्था भने भयावह बन्न सक्ने देखिएको छ ।

उद्योग वाणिज्य संघ ओखलढुंगाले २० शय्याको आइसोलेसन निर्माण कार्य थालेको छ । केही दिनभित्रै अक्सिजन सुविधासहितको आइसोलेसन कक्ष निर्माण सम्पन्न हुने उद्योग वाणिज्य संघ ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताए । आफ्नै कार्यालय रहेको भवनमा आइसोलेसन निर्माण थालिएको हो । हालसम्म १० शय्या निर्माण भइसकेको छ ।

प्रकाशित : वैशाख ३०, २०७८ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?