बर्खामा सीमावासीलाई सास्ती

बाह्रै महिना चल्ने सडक नहुँदा भारतको भर, हिउँदका केही महिनाबाहेक बासिन्दालाई सडककै कारण कठिन
विप्लव भट्टराई

इलाम — यो पटक हिउँदयाममा पानी नपरे पनि वैशाखको दोस्रो सातादेखि बाक्लै वर्षात् भइरहेको छ । खेती किसानीमा लागेकालाई वर्षाले राम्रै गरे पनि जिल्लाको लेकाली सीमा क्षेत्रका बासिन्दालाई भने सकस सुरु भएको छ ।

बर्खामा सीमावासीलाई सास्ती

एकातिर कोरोनाका कारण आवागमन सहज छैन । त्यसमाथि पनि अधिकांश सडकको दुरवस्थाले सीमावासीलाई पिरोल्न सुरु गरिसक्यो ।

सीमावर्ती क्षेत्रमा भारतीय सडक प्रयोग गरेर नै वर्षौंदेखि निर्बाह गरिँदै आएको छ । तर पछिल्लो समय भारतीय सडक प्रयोग गरेर उपभोग्य सामग्री ल्याउन एसएसबीले अवरोध गर्ने गरेकाले नेपालतर्फबाट नै निर्माण सामग्रीलगायत अधिकांश दैनिक उपभोग्य वस्तुको जोहो गर्नुपर्छ ।

सीमावर्ती क्षेत्र पुग्ने सडक १२ महिनै मोटर चल्न सक्ने खालका नभएकाले त्यस क्षेत्रका बासिन्दाले समस्या झेल्नुपरेको हो । यस क्षेत्रबाट बर्खायाममा बिरामी भइहाले पनि चाँडो अस्पताल पुर्‍याउन असहज छ ।

कुनै समय टनाटन भीडभाड हुने उत्तरी सीमावर्ती जौबारी बजार वर्षौंदेखि सुनसान छ । जिल्लामा नै पहिलो पटक मोटर आएको यो बजारसँगै अन्य सीमावर्ती क्षेत्रका बासिन्दा नेपालतर्फबाट बाह्र महिना नै चल्ने सडकको अभावमा भारत निर्भर हुनुपरेको छ । सन्दकपुर गाउँपालिका र माइजोगमाई गाउँपालिकाको उत्तरी क्षेत्रका अधिकांश बासिन्दा नेपालतर्फबाट नियमित सवारीसाधन नचल्नाले दिक्क छन् । उत्पादित सागसब्जी र सामग्री बजार पुर्‍याउन पनि सहज छैन ।

हिमशृंखला दृश्यावलोकनसँगै जैविक र धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण इत्तरी इलामको सीमावर्ती क्षेत्रका बासिन्दा तत्काल सडक यातायातलाई व्यवस्थित बनाउनुपर्ने माग गर्छन् ।

भारतको दार्जिलिङतर्फबाट मानेभन्ज्याङ हुँदै पाँचथर सीमावर्ती फ्यालुटसम्म नै सडक भए पनि भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपालतर्फका बासिन्दालाई दैनिक उपभोग्य लगायत निर्माण सामग्री ल्याउन रोक लगाउँदा समस्या हुने गरेको स्थानीय सोनाम शेर्पा बताउँछन् । ‘यस क्षेत्रका बासिन्दा परजीवीसरह बाँच्नुपरेको छ,’ उनले थपे, ‘हिउँदका केही महिनाबाहेक यहाँका बासिन्दालाई सडककै कारण जिउनै कठिन हुन्छ ।’

गाउँमा धेरै बजार नहुँदा र सडक सञ्जाल नभएको अवस्थामा जौबारी बजारले उत्तरी इलामसहित पाँचथरसम्म सेवा दिएको थियो । मान्छेले आफैं बोकेर र घोडालाई बोकाएर उत्पादित घिउ, छुर्पी, आलु, मटर, जडीबुटीलगायत सामग्री यहाँ पुर्‍याउँथे । सडक खुल्न थालेपछि त्यो क्रम रोकियो । अहिले न नियमित सवारीका साधन नै चल्छन् न मान्छे र घोडाले बोक्ने चलन छ ।

सीमावर्ती मेघमा, तुम्लिङ, जौबारी, कैयाकट्टा, कालपोखरी, सन्दकपुरलगायत स्थानमा नेपालतर्फबाट बाह्रै महिना चल्ने सडक नहुँदा वर्षौंदेखि स्थानीयले सास्ती खेप्नुपरेको हो । यो क्षेत्रका बासिन्दाको दैनिकीसँगै यहाँका अथाह सम्भावनालाई हेरेर राज्यले ठोस पहल गर्नुपर्ने सन्दकपुर ५ इङलाका मानबहादुर गुरुङको भनाइ छ ।

जिर्मलेदेखि सन्दकपुरसम्मको सीमा सडक बनाउने नारा हरेक चुनावमा घन्कने गरे पनि सबैतिर ट्र्याक खोल्ने काम पनि हुन सकेका छैनन् । अन्तरपार्टी राजनीतिक गुटका कारण पनि यो क्षेत्रको विकास हुन नसकेको स्थानीयको बुझाइ छ ।

‘सीमा सडकलाई जुन हिसाबले प्राथमिकतामा राखिनुपर्ने थियो त्यो नहुँदा एउटा विकासको पाटो नै ओझेल पर्‍यो,’ रोङ गाउँपालिकाका अध्यक्ष शमशेर राईले भने । त्यस क्षेत्रमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट र नेपाल प्रहरीको उपस्थिति बढ्दै गएको छ । तर यातायातकै कारणले समस्या हुने गरेको उनीहरूको तर्क छ ।

सन्दकपुर र माइजोगमाई गाउँपालिकाबाट डाँडैपिच्छे सडक खुले पनि स्तरोन्नति हुन सकेको छैन । स्थानीय तहका प्रतिनिधि भने यहाँको पर्यटकीय सम्भावनालाई सदुपयोग गर्ने दाबी गर्न छाड्दैनन् ।

‘पर्यटनको हिसाबले यो क्षेत्रलाई मिनी मुस्ताङका रूपमा लिइएको छ,’ माइजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले भने, ‘स्थानीय तहमा आएको बजेटले भ्याएसम्म काम गरेका छौं ।’ उनको भनाइअनुसार नयाँबजारबाट जौबारी जोड्ने सडकलाई प्राथमिकतामा राखिएको छ ।

जैविक विविधताले भरिएको क्षेत्र भएकाले सडकलगायतका पूर्वाधार विकास अघि बढाउँदा वातावरणीय पक्षलाई उत्तिकै ध्यान दिइनुपर्ने सरोकारवालाको भनाइ छ । डाँडैपिच्छे सडक खोल्नेभन्दा वातावरणमा कम क्षति हुने गरिको निश्चित सडकलाई मात्र अलवेदर बनाउनुपर्ने संरक्षणकर्मीको जोड छ । तर पछिल्लो पटक भएका विकास निर्माण गतिविधि वातावरण मैत्री छैनन् । ‘सडक या अन्य पूर्वाधार विकास गर्दा रेडपान्डा जस्तो दुर्लभ जन्तु पाउने ठाउँहरूलाई पनि बेवास्ता गरिएको छ,’ जौबारीका एक स्थानीयले भने, ‘यति हुँदा पनि सडकमा नियमित मोटर सञ्चालन हुँदैन ।’

प्रकाशित : वैशाख २८, २०७८ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?