१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रदेश १ का सबै अस्पतालमा कोभिड उपचारको व्यवस्था गर्न कांग्रेसको माग

मोरङ — प्रदेश १ का प्रमुख प्रतिपक्षी कांग्रेसले दैनिक कोरोना संक्रमण दर बढ्दै गएकाले प्रदेशभरिका सबै अस्पताललाई कोभिड अस्पताल बनाउन प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको छ ।

प्रदेश १ का सबै अस्पतालमा कोभिड उपचारको व्यवस्था गर्न कांग्रेसको माग

कांग्रेस संसदीय दलले आइतबार पत्रकार सम्मेलन गरी उपचार अभावमा दैनिक कोरोना संक्रमितले ज्यान गुमाइरहेकाले तत्काल प्रदेशभरिका निजी तथा सामुदायिक अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रहरुलाई कोभिड अस्पतालमा रुपान्तरण गरेर भरपर्दो उपचारको व्यवस्था गर्न माग गरेको हो ।

पत्रकार सम्मेलनमा कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारले हालसम्म कोशी कोभिड १९ उपचार केन्द्र र मेची अस्पतालमा मात्रै कोभिड उपचारको व्यवस्था गर्नु लाजमर्दो भएको बतताए ।

प्रदेश १ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, विराट मेडिकल र नोबेल शिक्षण अस्पताल र बी एण्ड सी अस्पतालमा संघीय सरकारले कोभिड अस्पतालको व्यवस्थापन गरेको छ । यस प्रदेशमा प्रदेश २ का समेत संक्रमित उपचारका लागि आउने गरेकाले हाल सञ्चालनमा रहेका सबै कोभिड अस्पतालका शय्या भरिभराउ रहेकाले संक्रमित उपचार नपाएर ज्यान गुमाउन बाध्य रहेको कार्कीले बताए ।

प्रदेश २ सम्मको संक्रमितको उपचारका लागि सरकारले अहिलेसम्ममा प्रदेशभरि ६ वटा अस्पतालमा ७ सय २७ शय्याको मात्रै व्यवस्था गर्न सकेको छ । जसमा आईसियु १ सय ४०, एचडियू ८४, भेन्टिलेटर १०, पीआईसियू ६, एनआईसियू ३, अक्सिजनसहितको शय्या ३ सय ९७ र सामान्य शय्या ८७ वटा मात्रै रहेको छ । यीमध्ये सबै आईसियू, एचडियू, भेन्टिलेटर, पीआईसियू र अक्सिजन भएको शय्या संक्रमित बिरामीले भरिसकेको छ । सरकारले भने अनुसारको शय्या, भेन्टिलेटर र आईसियूहरु पनि सबै सञ्चालनमा नरहेको कार्कीले बताए ।

सामाजिक विकास समितिका सदस्य कार्कीले हालै कोभिड अस्पतालहरुको अनुगमनका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरकारले भने अनुसारको १५० शय्याको व्यवस्था नभएको पाइएको बताए ।

‘सरकारले स्वास्थ्यमा समस्या आएपछि मात्रै भर्ना लिने लिएको नीतिले सर्वसाधारणको दैनिक ज्यान गइरहेको छ,’ उनले भने, ‘दोस्रो चरणको कोरोना संक्रमणले अघिल्लो भन्दा बढी संक्रमितको ज्यान लिइरहेको सरकारले देख्न सकेको छैन ।’ संक्रमितलाई स्वास्थ्यमा अचानक समस्या देखिएर तत्कालै मृत्यु भइरहेको छ । सरकारी नीतिले संक्रमितहरु अस्पतालै नपुगी ज्यान गुमाउन बाध्य रहेको उनको भनाइ थियो ।

‘सरकारसँग अस्पतालमा भएका शय्याहरुको बारेमा पनि सही तथ्यांक नभएको अवस्थामा सर्वसाधारण जनता उपचारै नपाई ज्यान गुमाउन बाध्य छन् । तर सरकार मूकदर्शक बनेर बसेको छ', कार्कीले भने, ‘सरकारलाई तत्काल सम्पूर्ण कोरोना संक्रमित बिरामीको उपचारको भरपर्दो व्यवस्था गर्न ध्यानाकर्षण गराउँदछौं । स्वास्थ्य उपचार पाउने मौलिक हक सरकारले कुण्ठित गर्न पाउँदैन ।’

जिल्ला अस्पताल संखुवासभा लगायतका जिल्ला अस्पतालहरु, स्थानीय तहमा रहेका सबै प्राथमिक स्वास्थ्य केन्द्रहरुमा कोरोना संक्रमितको उपचारको व्यवस्था गर्न सकिए धेरै संक्रमितको ज्यान बचाउन सकिने उनको भनाइ छ ।

यसअघि विराटनगरकै न्यूरो अस्पतालमा सञ्चालित कोभिड अस्पतताल प्रदेश सरकारको बेवास्ताले सञचालन हुन सकेको छैन । यी यस्ता धेरै अस्पतालमा कोभिड अस्पताल सन्चालनको तयारी भए पनि सरकारको अदृष्य स्वार्थले सन्चालन हुन नसकेको उनको आरोप छ । ‘महामारीको बेलामा यी यस्ता स्वार्थबाट मुक्त भएर जनताको हितमा लाग्न प्रदेश सरकारको ध्यानाकर्षण हुनु आवश्यक छ,’ उनले भने, ‘महामारीको बेला बजारमा कालोबजारी पनि चरम सीमामा पुगेकाले सेवाग्राही दैनिक उपभोग्य सामग्रीको चर्को मूल्य तिर्न बाध्य छन् । सरकार आफ्नो दायित्वबाट चुकिरहेको छ ।’

सरकारलाई सही बाटोमा डोर्‍याउने प्रतिपक्षको धर्म भएकाले पटक पटक कोरोना महामारीको रोकथाम, नियन्त्रण र निदानका लागि सरकारको ध्यानाकर्षण गराएको प्रमुख सचेतक कार्कीले सुनाए । कोरोना महामारीबाट प्रदेशवासीको ज्यान जोगाउन निजी क्षेत्रका साथै गैर सरकारी संघ संस्था, नागरिक समाजलाई समेत अघि बढ्न उनले आग्रह गरे । कोरोना महामारीकाो रोकथाम, नियन्त्रण र निदानका लागि कांग्रेस प्रदेश सरकारलाई सकारात्मक सहयोग गर्न तयार रहेको कार्कीले प्रतिबद्धता जनाए ।

प्रकाशित : वैशाख २६, २०७८ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?