१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

भरिँदै प्रदेश १ का कोभिड अस्पताल

देवनारायण साह

मोरङ — प्रदेश १ मा कोरोना संक्रमण दर दैनिकजसो बढ्दै गएको छ । वैशाख १७ गते संक्रमण दर ३३ दशमलव ३० प्रतिशत रहेकोमा शनिबार बढेर ४९ दशमलव २३ प्रतिशत पुगेको छ ।  

भरिँदै प्रदेश १ का कोभिड अस्पताल

प्रदेशमा सक्रिय संक्रमितको संख्या शनिबार ६ हजार ४ सय ५० पुगेको छ तर सरकारले प्रदेशभरि ६ वटा अस्पतालमा ७ सय २७ शय्याको मात्रै व्यवस्था गरेको छ । जसमा आईसीयू १ सय ४०, एचडीयू ८४, भेन्टिलेटर १०, पीआईसियू ६, एनआईसीयू ३, अक्सिजनसहितको शय्या ३ सय ९७ र सामान्य शय्या ८७ वटा रहेको सम्बन्धित अस्पतालहरूले जनाएका छन् । अस्पतालहरूका अनुसार सबै आईसीयू, एचडीयू, भेन्टिलेटर र पीआईसीयू भरिइसकेका छन् ।

सुनसरीस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मोरङको विराटनगरस्थित कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्र, नोबेल अस्पताल र बूढीगंगास्थित विराट मेडिकल शिक्षण अस्पताल, झापाको मेची अस्पताल र बी एन्ड सी अस्पतालमा कोरोना संक्रमितको उपचारको व्यवस्था गरिएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १ सय शय्याको कोभिड अस्पताल रहेको छ । जसमा आईसीयू १५, एचडीयू २५, भेन्टिलेटर १० र अक्सिजनसहितको ५० वटा शय्या रहेको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले बताए । उनले शनिबारसम्ममा आईसीयू, एचडीयू, भेन्टिलेटरसहित ५९ वटा शय्या भरिएको बताए ।

यस्तै, मोरङको बुढीगंगास्थित विराट मेडिकल शिक्षण अस्पतालमा २ सय शय्याको कोभिड अस्पताल सन्चालन गरिएको छ । जसमा आईसियू ४०, पिआईसियू ६, एनआईसियू ३, अक्सिजनसहितको १ सय २७ र सामान्य शय्या २४ वटा रहेको कोभिड अस्पतालका इन्चार्ज डा. सुनील देवले बताए । कोभिड अस्पतालमा भएका शय्यामध्ये एनआईसियूको २ र सामान्य २४ गरी २६ वटा शय्या मात्रै खाली रहेको उनको भनाइ छ । देवका अनुसार शनिबार कोभिड अस्पतालमा १ सय ७४ जना कोरोना संक्रमितको उपचार भइरहेको थियो ।

यस्तै, विराटनगरस्थित नोवेल अस्पतालमा १ सय ९१ श्य्याको कोभिड अस्पताल छ । जसमा ३९ वटा आईसियू र बाँकी अक्सिजनसहितको शय्या रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । उनले कोभिड अस्पतालमा शनिबार सबै शय्या भरिएको बताए ।

यस्तै, कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा ९६ शय्या छन् । जसमा आईसियू २१, एचडियू ४७, अक्सिजनसहितका १५ र १३ वटा सामान्य शय्या रहेको उपचार केन्द्रका संयोजक बैजनाथ साहले बताए । उनले शनिबार ७४ वटा शय्या भरिएको बताए । उपचार केन्द्रमा अहिले अक्सिजनसहितका ९ र सामान्य शय्या १३ गरी २२ वटा खाली रहेको साहले बताए ।

यस्तै मेची अस्पतालमा ६२ शय्याको कोभिड अस्पताल सञ्चालनमा छ । जसमा २५ वटा अक्सिजनसहितका र ५० वटा सामान्य शय्या रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पीताम्बर ठाकुरले बताए । उनले कोभिड अस्पतालमा ५० जना संक्रमितको उपचार भइरहेको र सामान्य शय्या १२ वटा खाली रहेको बताए ।

यस्तै, झापाको बी एन्ड सी अस्पतालमा पनि ६५ शय्याको कोभिड अस्पताल सञ्चालनमा छ । जसमा आईसीयू २५ र एचडीयू १२ र अक्सिजनसहितको २८ शय्या रहेको अस्पतालका प्रमिश गिरीले बताए । उनले आईसीयू, एचडीयू सबै र अक्सिजनसहितका ५ वटामा गरी ४२ जना संक्रमितको उपचार भइरहेको बताए । अक्सिजनसहितको २३ वटा शय्या खाली रहेको उनले सुनाए ।

सरकारले स्वास्थ्यमा समस्या देखिएपछि मात्रै कोरोना संक्रमित बिरामीलाई अस्पतालमा भर्ना लिने नीति लिएकाले शनिबारसम्ममा यस प्रदेशका ६ वटै अस्पतालमा गरी ४ सय ८० जना संक्रमित भर्ना भएको अस्पतालहरूको तथ्यांक छ ।

प्रदेशमा दैनिक संक्रमण दर बढ्दै गएकाले सोही अनुसार सरकारले आईसीयू, भेन्टिलेटर, अक्सिजनसहितको शय्या तत्काल व्यवस्था गर्नुपर्ने चिकित्सकको भनाइ छ ।

विराट शिक्षण अस्पतालका कोभिड इन्चार्ज डा. देवले संक्रमण दर र बिरामीको अवस्थाका आधारमा सरकारले तत्काल यस प्रदेशमा १ हजार शय्याको अस्पतालको व्यवस्था गर्नु अपरिहार्य रहेको बताए । अहिले स्वास्थ्य अवस्था गम्भीर भएका संक्रमितको चाप अत्यधिक रहेकाले सरकारले अस्पतालको व्यवस्थापनमा ढिलाइ गर्न नहुने उनको भनाई छ । अस्पताल आउने सबै संक्रमितलाई न्यूनतम अक्सिजनको आवश्यकता हुने गरेको उनले सुनाए ।

सामाजिक विकासमन्त्री उषाकला राईले पछिल्लो समय आक्रामक रूपमा कोरोना संक्रमण बढ्दै गएकाले गम्भीर बनाएको बताइन् । ‘अहिले अस्पतालको व्यवस्थापन, स्तरोन्नति, आइसोलेसन, क्वारेन्टाइन निर्माणमा जुटेका छौं,’ उनले भनिन्, ‘यो महामारीको बेलामा सरकार एक्लैले केही गर्न नसक्ने भएकाले गैरसरकारी संघसंस्था र निजी क्षेत्रका साथै नागरिक समाजको सहयोग आवश्यक छ ।’

राईले कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रस्थित १३ वटा सामान्य शय्या र पुरानो ८० शय्याको अस्पतालमा पनि पाइप–लाइनिङका लागि जुटेको बताइन् । उनका अनुसार एक साताभित्र ती ९३ शय्यालाई अक्सिजनसहितको शय्यामा परिणत गर्ने तयारी छ ।

यसका साथै सुनसरीको जिल्ला अस्पताल इनरुवामा तत्काल ८० शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याउने प्रयास भइरहेको उनले बताइन् ।

जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले जिल्ला अस्पतालमा अहिले तत्काल २० शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको बताए । शय्याहरूको व्यवस्थापन सकिएर अक्सिजनको पाइप–लाइनिङ भइरहेको र सोमबारसम्ममा सञ्चालनमा ल्याउने तयारी गरिएको उनले बताए । उनले प्रदेश सरकारले जिल्ला अस्पतालको सबै सेवा बन्द गरेर वैकल्पिक कोभिड अस्पतालका रूपमा विकास गर्नका लागि पनि पहल गरिरहेको बताए ।

मन्त्री राईले अवस्था जटिल बन्दै गएकाले यहाँका होटल र शैक्षिक संस्थाहरूलाई आइसोलेसन र क्वारेन्टाइन बनाएर कोरोना संक्रमितको उपचार गर्नुको विकल्प नभएकाले त्यसका लागि छलफल गरिरहेको बताइन् ।

प्रकाशित : वैशाख २६, २०७८ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?