कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

युवा प्रयासमा रेन्बो ट्राउट माछापालन

डम्बरसिं राई

काठमाडौँ — साकेला गाउँपालिका–३ खिदीमा मखमले रेन्बो ट्राउट जातको माछाका लागि प्रसिद्ध बनेको छ । यहाँका युवाले गत वर्षबाट सुरु गरेको रेन्बो ट्राउट व्यवसायले धेरैको ध्यान तानेको छ ।

युवा प्रयासमा रेन्बो ट्राउट माछापालन

स्थानीय २५ युवाले तावाहाङ रेन्बो ट्राउट कृषक समूह गठन गरेर व्यवसाय सुरु गरेका हुन् ।

करिब ६९ लाख रुपैयाँ लागतमा १९ वटा पोखरी बनाइएको छ । उक्त कृषक समूहका संस्थापक संयोजक निसान राईका अनुसार कृषक समूह, स्थानीय सरकार तथा प्रदेश सरकार गरी ६९ लाख १० हजार रुपैयाँ लागतमा ह्याचरीसहितको १९ वटा पोखरी बनाइएको छ ।

साकेला गाउँपालिकाले ९ लाख र प्रदेश १ अन्तर्गत पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले २५ लाख रुपैयाँ गरी ३४ लाख अनुदान उपलब्ध भएको राईले बताए । बाँकी समूहको लगानी छ ।

अहिले यो फार्ममा करिब १० हजार माछा छन् । यस वर्षदेखि खान लायक माछा उत्पादन हुने भन्दै राईले आगामी वर्षबाट रेन्बो ट्राउटको ह्याचरीसमेत सुरु गरिने सुनाए । कृषक समूहकै १० जनशक्तिसमेत निर्माण गरेको राईले सुनाए । उनका अनुसार स्थानीय हेलन राईलाई रेन्बो ट्राउटसम्बन्धी तालिम दिलाएर माछा पालन सुरु गरेका हुन् ।

राईले त्रिशूली र धुन्चेमा गएर रेन्बो ट्राउटबारे आवश्यक तालिम लिएका छन् । खिदीमा मखमले रेन्बो ट्राउटका लागि उपयुक्त भएकाले यो पेसाबाट मनग्गे आम्दानी हुने आशा लिएको कृषक समूहका अध्यक्ष रामकृष्ण राईले बताए ।

प्रकाशित : वैशाख २६, २०७८ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?