बिनाअध्ययन सडक खन्दा संकट- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिनाअध्ययन सडक खन्दा संकट

डिल्लीराम खतिवडा

उदयपुर — तिर्खा लाग्दा पिउने पानी छैन । हिँड्दै जाँदा थकाइ लागे सुस्ताउने चौतारी छैनन् । पुस्तौं पहिले बाजे बराजुले लगाएका बरपीपल मासिए । पानीको स्रोत सुकिरहेका छन् ।

उदयपुरको घर्मी बजार । बजारको वारिपारि जथाभावी खनिएको सडकका कारण बजारको सौन्दर्य नै सखाप पारिदिएको छ ।

आकाशको पानी समयमा परेन भने गरिखाने खेतबारी बाँझै हुन्छ । सुन्दर गाउँ कुरूप बन्दै गएका छन् । पहिरोको जोखिम उत्तिकै छ । भोगौलिक अवस्था, लगत इस्टिमेटबिनै निस्फिक्री सडक खनिएका कारण उदयपुरका दुर्गम गाउँबस्ती जोखिममा छन् । गाउँका देवी देउराली मासिँदै गएका छन् । गाउँको राज कुलो मासिएको छ ।

‘अन्न उत्पादन घट्दै गएकाले वर्षभरि खान पुग्दैन,’ कटारी नगरपालिका–९ बतासेका ७९ वर्षीय पृथ्वीमान राईले भने, ‘अन्न नहुँदा भोकै र पानीको स्रोत सुक्दा तिर्खै मेट्न नपाउने अवस्था आएको छ ।’

सडक आवश्यकता भए पनि माटोको भौगोलिक बनावट, वैज्ञानिक र भौतिक असरलाई ख्याल नगरी बनाइँदा समस्या आएको भौगोलिक अवस्थाको अध्ययन गरिरहेका विद्यार्थी विभीषण पाठकले बताए । भने, ‘तर यहाँ त पानीको मुहान र सिँचाइ गर्ने कुलो मासेर सडक खनिएको छ ।’ बस्तीमा सडक पुर्‍याउन खनिएका सडक, त्यही बस्तीलाई जोखिममा पारेर खनिएको उनले बताए ।

प्राविधिक प्रस्तावबिनै सडक खनिएका कारण बस्ती पहिरोको जोखिममा परेका छन् । सडकका कारण गाउँ नै जोखिममा परेपछि त्यसको रोकथामका लागि सडक लागतभन्दा १० गुणा बढी क्षति बेहोर्नुपरिरहेको स्थानीय बताउँछन् ।

‘बजारमा खरिद गरिएको खाद्यान्न ल्याउन भने सजिलो भएको छ,’ ताप्ली गाउँपालिका–४ की अनिसा मगरले भनिन्, ‘गाउँगाउँमा सडक पुगेको फाइदा भने भारीमा बोकेर अन्न ल्याउन पर्दैन ।’

चौदण्डीगढी नगरपालिका–१ पाल्पालीका ६९ वर्षीय हर्कमान सार्कीले भने, ‘सडक विस्तारसँगै चौतारा मासिए ।’ वर्षभरि खाने धान फल्ने खेतमा पानी लाग्ने कुलो सडक खन्दा मासिएको उनले बताए ।

सर्वसाधारणको माग भएको भन्दै स्थानीय तहले निर्वाचन भएको पहिलो वर्ष झन्डै कुल बजेटको ५० प्रतिशत बजेट सडकका लागि विनियोजना गरेका थिए । उनीहरूले अहिले पनि त्यही परम्परालाई निरन्तरता दिइरहेका छन् । हचुवाका भरमा एक्स्काभेटर चालकले जथाभावी सडक खन्दा गाउँ कुरूप बनेका छन् ।

प्रकाशित : वैशाख २६, २०७८ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्

युवा प्रयासमा रेन्बो ट्राउट माछापालन

डम्बरसिं राई

काठमाडौँ — साकेला गाउँपालिका–३ खिदीमा मखमले रेन्बो ट्राउट जातको माछाका लागि प्रसिद्ध बनेको छ । यहाँका युवाले गत वर्षबाट सुरु गरेको रेन्बो ट्राउट व्यवसायले धेरैको ध्यान तानेको छ ।

स्थानीय २५ युवाले तावाहाङ रेन्बो ट्राउट कृषक समूह गठन गरेर व्यवसाय सुरु गरेका हुन् ।

करिब ६९ लाख रुपैयाँ लागतमा १९ वटा पोखरी बनाइएको छ । उक्त कृषक समूहका संस्थापक संयोजक निसान राईका अनुसार कृषक समूह, स्थानीय सरकार तथा प्रदेश सरकार गरी ६९ लाख १० हजार रुपैयाँ लागतमा ह्याचरीसहितको १९ वटा पोखरी बनाइएको छ ।

साकेला गाउँपालिकाले ९ लाख र प्रदेश १ अन्तर्गत पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले २५ लाख रुपैयाँ गरी ३४ लाख अनुदान उपलब्ध भएको राईले बताए । बाँकी समूहको लगानी छ ।

अहिले यो फार्ममा करिब १० हजार माछा छन् । यस वर्षदेखि खान लायक माछा उत्पादन हुने भन्दै राईले आगामी वर्षबाट रेन्बो ट्राउटको ह्याचरीसमेत सुरु गरिने सुनाए । कृषक समूहकै १० जनशक्तिसमेत निर्माण गरेको राईले सुनाए । उनका अनुसार स्थानीय हेलन राईलाई रेन्बो ट्राउटसम्बन्धी तालिम दिलाएर माछा पालन सुरु गरेका हुन् ।

राईले त्रिशूली र धुन्चेमा गएर रेन्बो ट्राउटबारे आवश्यक तालिम लिएका छन् । खिदीमा मखमले रेन्बो ट्राउटका लागि उपयुक्त भएकाले यो पेसाबाट मनग्गे आम्दानी हुने आशा लिएको कृषक समूहका अध्यक्ष रामकृष्ण राईले बताए ।

प्रकाशित : वैशाख २६, २०७८ १३:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×