प्रदेश १ मा शनिबार थपिए ५७८ संक्रमित- प्रदेश १ - कान्तिपुर समाचार

प्रदेश १ मा शनिबार थपिए ५७८ संक्रमित

कान्तिपुर संवाददाता

विराटनगर — प्रदेश १ मा शनिबार ५७८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २११, झापामा १६८, सुनसरीमा ११९, सोलुखुम्बुमा २४, इलाममा २२, धनकुटामा ९, उदयपुरमा ३, संखुवासभा र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ८७ महिला र ९८ पुरुषसहित १८५, बेलबारीमा ८, सुन्दरहरैंचामा ७, बूढीगंगामा ५, केराबारीमा २, सुनवर्षी, जहदा ग्रामथान र कटहरीमा १–१, झापाको बिर्तामोडमा ३१, भद्रपुरमा ३०, दमकमा २५, कनकाईमा १८, मेचीनगरमा १७, अर्जुनधारामा १६, गौरादहमा ८, बुद्धशान्तिमा ७, शिवसताक्षीमा ५, गौरीगन्ज र हल्दिबारीमा २–२, कचनकबल, झापा गाउँपालिका, बाह्रदशी र कमल गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ३, सुनसरीको धरानमा ४७, इटहरीमा ४२, इनरुवामा ९, बर्जुमा ८, रामधुनीमा ३, दुहबीमा र कोसी गाउँपालिकामा २–२, देवानगन्ज , बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी सोलुखुम्बुको सोलु दूधकुण्डमा २३ र नेचा सल्यानमा १, इलामको माईमा १५, इलाम नगरपालिकामा ४, रोङमा २ र देउमाईमा १, धनकुटाको धनकुटा नगरपालिकामा ७, छथर र स्थानीय तह नखुलेका १–१, उदयपुरको बेलका, त्रियुगा र रौतामाईमा १–१, संखुवासभाको धर्मदेवी र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३७ हजार २२३ पुगेको छ । संक्रमित भएकामध्ये ३० हजार २२६ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ६ हजार ४५० पुगेको छ । प्रदेश १ मा शनिबार १ हजार १७३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २६३ महिला र ३१५ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : वैशाख २६, २०७८ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्

महिला स्वास्थ्यका सामाजिक पक्ष

प्रजनन स्वास्थ्यलाई मात्र महिला स्वास्थ्य मान्नु भनेको महिला शरीरलाई केवल बच्चा जन्माउने ‘यन्त्र’ का रूपमा लिनु हो ।
अरुणा उप्रेती

केही दिनअघि ‘महिला स्वास्थ्य’ विषयक छलफलमा मलाई वक्ताका लागि आग्रह गरियो । नेपालका थुप्रै जिल्लाका विद्यार्थी, सामाजिक कार्यकर्ता, राजनीतिकर्मी तथा गैरसरकारी संस्थाका प्रतिनिधिमाझ विचार राख्ने मौका पाउँदा म दंग थिएँ ।

छलफलको सुरुआतमै मैले सहभागीहरूलाई सोधें, ‘महिला स्वास्थ्य भन्नाले के बुझ्नुहुन्छ ?’ सबैको लिखित जवाफ आयो— प्रजनन स्वास्थ्य, परिवार नियोजन, महिनावारी, सुत्केरी, पिसाब चुहिने, पाठेघर क्यान्सर, कुपोषण आदि । अनि ‘पुरुष स्वास्थ्य भन्नेबित्तिकै मनमा जे आउँछ, त्यही लेख्नुस्’ भनेर आग्रह गरें । सबैले लेख्नुभयो— मोटोपन, फोक्सोको क्यान्सर, मधुमेह, उच्च रक्तचाप, टाउको दुख्ने, पक्षाघात आदि । त्यसपछि मैले प्रश्न गरें, ‘के महिलालाई यी समस्या हुँदैनन् ?’ सबैको एउटै जवाफ आयो, ‘हुन्छ नि, किन नहुनु ?’

महिलाका स्वास्थ्य समस्यालाई हामी प्रजनन स्वास्थ्य, त्यो पनि पाठेघरको समस्या, सुत्केरी र महिनावारीसँग मात्र जोडेर हेर्छौं । उनीहरूका शारीरिक, मानसिक, सामाजिक स्वास्थ्यबारे छलफलै हुन्न । अर्कातिर, प्रजनन स्वास्थ्यसम्बन्धी समस्या पुरुषको पनि हुन सक्छ भन्ने विचारै गरिन्न । महिलालाई मुटुको रोग, फोक्सोको क्यान्सर, पक्षाघातजस्ता पुरुषलाई हुने सम्पूर्ण समस्या हुन्छन् । महिलाको पाठेघर एउटा विशिष्ट अंग भएकाले त्यहीसँग सम्बन्धित समस्यालाई मात्र महिला स्वास्थ्य रहेको आमबुझाइ छ ।

महिला स्वास्थ्यका अनेक पक्षबारे छलफल नहुनुको कारण खोज्न सजिलो छैन । स्वास्थ्य भन्नेबित्तिकै डाक्टर, नर्स, सुई, अस्पताल, स्वास्थ्य चौकी, उपचार कक्ष मात्र हाम्रो दिमागमा आउँछ । हामी स्वास्थ्यलाई विशुद्ध चिकित्सा विज्ञान र शरीर विज्ञानको आँखाले मात्र हेर्छौं । स्वास्थ्यको सामाजिक पक्षबारे बहस प्रायः हुँदैन ।

प्रजनन स्वास्थ्यबारे नबोली ‘महिला स्वास्थ्य’ को छलफल पूर्ण हुँदैन तर यसैलाई मात्र सम्पूर्ण महिला स्वास्थ्य ठान्दा बहस अपूर्ण हुन्छÙ प्रजनन स्वास्थ्यको बहस र बुझाइ पनि कमजोर हुन्छ । स्वास्थ्यको समाजशास्त्र नबुझी बहस गर्नु ससाना नानीहरूले आँखामा पट्टी बाँधेर पुच्छर, खुट्टा, सूँढ समाएर त्यसैलाई मात्र ‘हात्ती’ भन्नुजस्तै हो ।

३४ वर्षअघि भर्खर डाक्टर भएर प्रसूतिगृहमा काम सुरु गर्दा मलाई पनि लाग्थ्यो— महिला स्वास्थ्य भनेकै प्रजनन स्वास्थ्य हो । यो ठीक भए महिला स्वास्थ्य ठीक हुन्छ । नेपालका विभिन्न गाउँठाउँमा काम गर्ने मौका पाएपछि बल्ल मैले महिला स्वास्थ्यको परिधि धेरै फराकिलो रहेछ भन्ने बुझें । प्रजनन स्वास्थ्यलाई मात्र महिला स्वास्थ्य मान्नु भनेको महिला शरीरलाई केवल बच्चा जन्माउने ‘यन्त्र’ का रूपमा लिनु हो । यसले महिला स्वास्थ्यसम्बन्धी अन्य समस्या पनि ओझेलमा पार्छ । उदाहरणका लागि, उच्च रक्तचाप र मधुमेह पुरुषको स्वास्थ्य समस्या मात्र मानिए गर्भवती हुँदा यदि महिलालाई मधुमेह भयो वा मधुमेह भएकी महिला गर्भवती भइन् भने उनको र भ्रूणको स्वास्थ्यमै समस्या आउँछ । महिलामा कुपोषण हुनुको कारण सामाजिक कुरीति, अन्धविश्वास अनि लैंगिक विभेद पनि हो, जसले महिलाको सम्पूर्ण स्वास्थ्य र प्रजनन स्वास्थ्यमै प्रभाव पार्छ ।

२० वर्षअघि सुदूरपश्चिममा ‘महिला स्वास्थ्य’ शिविर राख्दा धेरैजसो महिला प्रजनन स्वास्थ्यकै समस्या लिएर आए । धेरैमा पाठेघर खस्ने समस्या थियो तर यसो हुनुको कारण डाक्टर वा अस्पताल नहुनु मात्र थिएन; कुपोषण, कामको बोझ, छोरो पाउनैपर्ने बाध्यताले पनि ‘पाठेघर खस्ने’ समस्या विकराल भएको थियो । अफसोस, हामीमा यस्ता सामाजिक समस्या हल गर्ने तागत थिएन । हामीले उनीहरूको उपचार त गर्‍यौं, शल्यक्रिया गर्न वकालत पनि गर्‍यौं तर जथाभावी ‘पाठेघर’ काटेर फ्याँक्ने शल्यक्रियाले महिलामा अन्य स्वास्थ्य समस्या थपिए ।

त्यति बेला ५० वर्षीय एक पुरुष आफ्ना तीन श्रीमतीसँगै शिविरमा आए र भने, ‘डाक्टर साब, मेरा यी दुई श्रीमतीबाट बच्चा भएन, तेस्रो विवाह गरेपछि एउटी छोरी छ । यी दुईको किन बच्चा भएन, हेर्दिनुस् त !’ २० वर्षकी उनकी कान्छी श्रीमती २ वर्षीया छोरी काखमा च्यापेर लजाउँदै हामीनजिक उभिएकी थिइन् । हामीले ती पुरुषलाई भन्यौं, ‘यस्तो समस्या भएपछि तपाईंले पनि जाँच गराउनुपर्छ नि !’ हाम्रो कुराले ती पुरुष अलि आवेशमा आए र भने, ‘मैले किन जाँच गराउने ? हट्टाकट्टा छु, तीनवटी श्रीमती सम्हालेको छु । श्रीमतीहरू पो कमजोर छन् ।’

हामीले उनलाई सम्झाइबुझाइ जाँच गर्दा थाहा भयो— उनको शुक्रकीट त शून्य रहेछ । अनि हामीलाई धर्मसंकट पर्‍यो । यदि उनलाई सत्य कुरा भन्ने हो भने, कान्छी श्रीमतीको बिचल्ली हुने, नभन्नु पनि कसरी ? अनि हामी सबै मिलेर उनको परिवारलाई हानि नहुने जुक्ति निकाल्यौं र भन्यौं, ‘तपाईंकी छोरी दुई वर्षकी भइन् । यो बीचमा तपाईंलाई घाँटी दुखेको, हाँडे र ज्वरो आएको थियो कि, सम्झनुस् त ?’ उनले भने, ‘मलाई एक वर्षअघि हाँडे र ज्वरो आएको थियो ।’ अनि हामीले भन्यौं, ‘त्यो हाँडेका कारण तपाईंको शुक्रकीट शून्य भएको छ । अब यही छोरी मात्र हो तपाईंकी सन्तान ।’

महिलालाई बाँझोपन भयो भने अपमानित गरेर घरबाटै निकाल्ने चलन छ, उनको श्रीमान्ले पनि अर्को विवाह गर्छन् । तर, पुरुषलाई बाँझोपन भयो भने अपमानित हुनु पर्दैन । किनभने पुरुषहरूको जाँच प्रायः गरिन्न र उनीहरूलाई पनि प्रजनन स्वास्थ्यसम्बन्धी समस्या हुन्छ भनेर समाजमा विचारै गरिन्न । मुटुरोगविज्ञ डा. प्रकाशराज रेग्मीले मलाई कुनै बेला भनेका थिए, ‘महिला स्वास्थ्यबारे कुरा गर्दा तपाईंहरू महिलाको प्रजनन स्वास्थ्यसँग गाँसिएका बाथ, मुटुरोग तथा उच्च रक्तचापका कुरै गर्नुहुन्न । अनि कसरी महिला मृत्यु कम हुन्छ ? पाठेघरवरिपरि मात्र घुमेर हुन्छ र ?’

डा. रेग्मीको प्रश्नले महिला स्वास्थ्यप्रतिको दृष्टिकोण फराकिलो बनाउन मलाई सघाएको थियो । महिला स्वास्थ्यबारे छलफल गर्दा प्रजनन तथा शारीरिक र मानसिक स्वास्थ्यबारे पनि ख्याल गर्नैपर्छ । अस्पतालमा सुई, औषधिजत्तिकै महत्त्वपूर्ण छ, स्वास्थ्यको छलफलमा सामाजिक पक्ष । यसमा प्रवेश नगरी महिला स्वास्थ्य र प्रजनन स्वास्थ्यका समस्याहरूलाई समाधान गर्न सकिन्न ।

प्रकाशित : वैशाख २६, २०७८ ०९:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×