कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

अक्सिजन उत्पादन पर्याप्त, अभाव सिलिन्डरको

सिलिन्डर नहुँदा उद्योगी प्लान्ट नै बन्द गर्न बाध्य
विनोद भण्डारी

विराटनगर — सुनसरी मोरङ औद्योगिक क्षेत्रका विभिन्न पाँचवटा अक्सिजन उद्योगमा अक्सिजनको उत्पादन पर्याप्त भए पनि सिलिन्डर अभावमा बजारमा पुर्‍याउन समस्या भएको सम्बद्ध उद्योगीहरूको भनाइ छ । केही उद्योगले त सिलिन्डर अभावकै कारण प्लान्ट बन्द गर्नुपरेको बताएका छन् ।

अक्सिजन उत्पादन पर्याप्त, अभाव सिलिन्डरको

औद्योगिक क्षेत्रमा भाजुरत्न, विनायक, मारुती, पाथीभरा र दुर्गा अक्सिजन प्लान्ट छन् । तीमध्ये विनायक अक्सिजन प्लान्टले सिलिन्डरको अभावका कारण दुईमध्ये एक प्लान्ट बन्द गर्नुपरेको उद्योगी अमित सारडाले बताए । विनायक अक्सिजनका दुई वटा प्लान्ट छन् ।

‘दुवै प्लान्ट सञ्चालन हुँदा ४७ लिटर अटाउने ९ सय सिलिन्डर अक्सिजन उत्पादन हुन्थ्यो,’ सारडाले भने, ‘सिलिन्डर अभावकै कारण एउटा प्लान्ट बन्द गरिएको छ ।’ अक्सिजनको उत्पादन पर्याप्त भए पनि खाली सिलिन्डर नहुँदा समस्या भएको उनले बताए ।

उद्योगमा प्रयोग हुँदै आएका सिलिन्डर पनि फिर्ता गरेर अक्सिजन प्लान्टले अस्पताललाई उपलब्ध गराउँदै आएका छन् । यहाँका हरेक प्लान्टमा अक्सिजन मौज्दात छ । सरकारले सिलिन्डरको व्यवस्था गरे यहाँको उत्पादन अभाव झेलिरहेका अन्यत्र ठाउँमा पनि पठाउन सकिने अवस्था रहेको सारडाले भने । यो प्लान्टसँग सानाठूला गरेर ८ हजार वटा सिलिन्डर छन् । यसले पूर्वका अधिकांश अस्पताललाई अक्सिजन उपलब्ध गर्दै आएको छ । भाजुरत्न अक्सिजन प्लान्टले पनि पछिल्लो समय साविकको तुलनामा ३० प्रतिशतले उत्पादन बढाएको छ । उक्त प्लान्टको पनि समस्या खाली सिलिन्डरकै हो । यस प्लान्टमा पनि अक्सिजन मौज्दात छ ।

लेखा प्रमुख रवि श्रेष्ठका अनुसार खाली सिलिन्डर अभावमा अक्सिजन प्याकिङ गर्न सकिएको छैन । उद्योगले अहिले दैनिक सरदर सात क्युबिक मिटर क्षमताका सयभन्दा बढी सिलिन्डर अक्सिजन उत्पादन गर्दै आएको छ । मारुती अक्सिजन प्लान्टका निर्देशक विवेक अग्रवालले भने बजारमा गएका सिलिन्डर खाली भएर उद्योगमा नपुग्दा समस्या भएको गुनासो छ । उनका अनुसार माग भएअनुसारको अक्सिजन उद्योगमा मौज्दात भए पनि खाली सिलिन्डरकै समस्या छ ।

मारुती प्लान्टमा ४७ लिटर अक्सिजन अटाउने १ हजार ३ सय वटा सिलिन्डर थिए । उनले भने अहिले उद्योगमा १ हजार १ सय मात्र सिलिन्डर छन । उनका अनुसार बाँकी सिलिन्डर खाली भएर उद्योगमा फिर्ता आएका छैनन् । त्यस्तै पाथीभरा प्लान्टले दैनिक ३ सय ५० क्युबिक मिटर र हिमाल अक्सिजन प्लानले दैनिक दुई सय क्युबिक मिटर अक्सिजन उत्पादन गर्दै आएको छ ।

भेन्टिलेटर र आईसीयू भएन सञ्चालन

धनकुटा– कोरोना भाइरसको संक्रमण तीव्र बनेका बेला धनकुटा जिल्ला अस्पतालमा सरकारले उपलब्ध गराएको भेन्टिलेटर र आईसीयू सञ्चालन हुन सकेको छैन । नौ महिनाअघि चारवटा भेन्टिलेटरसहित १० बेडको आईसीयू कक्ष निर्माण गर्न २ करोड रुपैयाँ विनियोजन गरिएको थियो । त्यसबाट आवश्यक पूर्वाधार बनाइए पनि सञ्चालन भने हुन सकेको छैन ।

अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख टंक चुवानले भवन अभावले सञ्चालनमा ढिलाइ भएको बताए । जिल्ला अस्पतालको माथिल्लो तलामा आईसीयू बेड बनाइने तयारी गरिएको उनले जानकारी दिए । उनका अनुसार महिला विकास कार्यालयको नवनिर्मित भवनमा स्वास्थ्य कार्यालय सारिने भएको छ । प्रदेश सरकारले उक्त भवनमा स्वास्थ्य कार्यालय सार्न अघिल्लो महिना स्वीकृति दिइसकेको छ । प्रदेश सरकारले बजेट विनियोजन नगरिदिएकाले ढिलाइ भएको चुवानको भनाइ छ । ‘तत्काल भेन्टिलेटर र आईसीयू कक्ष सञ्चालन गर्न आतुर छौं,’ उनले भने, ‘नयाँ भवनमा सार्नुपूर्व आवश्यक पूर्वाधारको व्यवस्थापन गर्नुपर्ने भएकाले ढिलाइ भयो ।’

भेन्टिलेटर सञ्चालन गर्न आफूहरू गम्भीर रहेको स्वास्थ्य कार्यालय प्रमुख तुलसीप्रसाद गुरागाईंले बताए । नयाँ भवनमा स्वास्थ्य कार्यालय सार्नुपर्दा पानी, बिजुलीसमेत जडान गर्नुपर्ने र थप व्यवस्थापनको कामले ढिलाइ भएको जानकारी दिए । यसै साताभित्र भेन्टिलेटर र आईसीयू कक्ष सञ्चालनको तयारी गरिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ड डा.पुजन विश्वकर्माले बताए ।

प्रकाशित : वैशाख २६, २०७८ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?