प्रयोगशालाकर्मीलाई डरैडर- प्रदेश १ - कान्तिपुर समाचार

प्रयोगशालाकर्मीलाई डरैडर

‘पीपीई लगाएर परीक्षण गरे पनि स्वाबसँग चल्नुपर्ने काम भएकाले कुनै पनि बेला संक्रमित हुन सक्छौं । घर जानै डर लाग्छ ।’
जितेन्द्र साह

विराटनगर — कोरोना परीक्षण गर्ने प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीलाई काम सकिएपछि डराइडराइ घरकोठा जानुपर्ने बाध्यता छ । पछिल्ला दिन संक्रमणसगै परीक्षण दर पनि बढेको छ । 

‘प्रयोगशालामा स्वाब परीक्षणको भार बढेको छ, संक्रमण बढेकाले परिवारको स्वास्थ्यको चिन्ता हुन्छ,’ कोसी अस्पतालको कोरोना परीक्षण प्रयोगशाला प्रमुख प्रणव यादवले भने । उनी श्रीमती र २० महिनाको बच्चासहित विराटनगरको शान्तिचोकस्थित डेरामा बस्छन् ।

प्रदेश सरकारले गत वर्ष वैशाखदेखि पुससम्म होटलमा बास र भोजनको प्रबन्ध गरेपछि यादवले सिराहा लहानस्थित घरमा परिवारलाई छाडेका थिए । ‘काम सकेर सोझै होटेल जान्थ्यौं,’ उनले भने । पत्नी र सन्तानसहित स्थानीय प्रतिभाचोकमा डेरा लिई बसेका प्रयोगशाला निरीक्षक ललित चौधरीले संक्रमण मत्थर नभएसम्म परिवारबाट टाढै रहन चाहेको बताए ।

‘पीपीई लगाएर परीक्षण गरे पनि स्वाबसँग चल्नुपर्ने काम भएकाले कुनै पनि बेला संक्रमित हुनसक्छौं,’ उनले भने, ‘घर जानै डर लाग्छ ।’ पीसीआर परीक्षण र संक्रमितको उपचारमा संलग्नलाई आइसोलेसनमा राख्न पहल भइरहेको कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डडेन्ट डा. चुमन लाल दासले बताए ।

गत वर्ष उक्त प्रयोगशालामा कार्यरत छ जना संक्रमित भए । प्रयोगशालामा ८ जना कार्यरत छन् । कतिपय प्रयोगशालाकर्मीलाई घरबेटीले डेरा खोज्नसमेत भनेका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका ल्याब टेक्निसियन पंकजकुमार यादवलाई अहिले बासकै तनाव छ ।

‘बिहानदेखि रातिसम्म प्रयोगशालामै हुन्छु,’ उनले भने, ‘संक्रमण बढिरहेकाले घरबेटी र उनीहरूका परिवारजन त्रसित छन्, मबाटै संक्रमित हुने उनीहरूमा त्रास छ ।’ त्यही भएर घरबेटीले कोठा छाडेर अन्यत्र बस्न भनेको यादवले बताए । प्रदेश प्रयोगशालाको पीसीआर ल्याबमा ६ जना कार्यरत छन् । जोखिम मोलेर सेवा गरिरहेका स्वास्थ्यकर्मीलाई समाजले प्रोत्साहन गर्नुपर्ने प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले बताए । यसापालि सम्बन्धित संस्थाहरूले पीसीआर ल्याबको, जनशक्ति र आइसोलेसनको व्यवस्थापन आफैंले गर्न सक्छ भनेर प्रदेश सरकारले पूर्वतयारी नगरेको निर्देशक यादवले बताए ।

‘गत वर्ष नयाँ भाइरस थियो, सीमित पीसीआर ल्याब र जनशक्ति थियो, नयाँ कोसिस थियो,’ उनले भने, ‘यसपालि सरकारी र निजी थुप्रै स्वास्थ्य संस्थाको पीसीआर ल्याब थपिएको छ ।’ कोरोना परीक्षणसम्बन्धी यो प्रदेशमा ६ सरकारी र ४ निजी प्रयोगशाला छन् ।

प्रत्येक प्रयोगशालामा पीसीआर परीक्षणसम्बन्धी जनशक्ति, मेसिनहरूको अवस्था र रिएजेन्टको विवरण माग गर्दै प्रदेश जनस्वास्थ्य प्रयोगशालाले ७ वैशाख पत्र पनि पठाएको थियो । तीन दिनभित्र जवाफ मागिए पनि मेची र कोसी अस्पतालबाहेक कसैले पनि जवाफ नदिएको निर्देशक यादवले बताए । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी सदानन्द भट्टराईले पीसीआर परीक्षण प्रयोगशाला एवं संक्रमितको उपचारमा खटिएका जनशक्तिका लागि दुई दिनभित्र भोजन र बासको प्रबन्ध गरिने बताए ।

अस्पतालले अक्सिजन उत्पादन बढायो


धनकुटा– दिनहुँ संक्रमित थपिँदै गएपछि धनकुटा जिल्ला अस्पतालले आफ्नो अक्सिजन प्लान्टलाई सक्रिय बनाएको छ । शल्यक्रिया, आकस्मिक कक्ष तथा अन्तरंग विभागमा अक्सिजन सहज रूपमा उपलब्ध गराउने उद्देश्यले दुई वर्ष पहिले मेसिन जडान भएको थियो । अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट पुजन विश्वकर्माका अनुसार यसअघि अस्पतालमा आवश्यकताका लागि उत्पादन गर्दै आएकोमा हाल कोरोना महामारीको अवस्थालाई मध्यनजर राखेर उत्पादन बढाइएको हो ।

‘कम्तीमा दुई सय बेडका लागि अक्सिजनले धान्ने गरी उत्पादन गरिएको छ’, उनले भने, ‘व्यावसायिक ढंगले बिक्री नगरी अस्पतालमा भर्ना भएकालाई प्राथमिकतामा राखिएको छ ।’ हाल २० र ५० केजी क्षमताको अक्सिजन सिलिन्डरमा उत्पादन भइरहेको डा. विश्वकर्माले बताए ।

बिरामीलाई तत्काल रेफर गरेर एम्बुलेन्समार्फत अन्यत्र पठाउनु पर्दा सहज रूपमा अक्सिजन उपलब्ध गराउन सकिएको उनको भनाइ छ । जापान सरकारको सहयोगमा ‘अक्सिजन जनेरेसन एन्ड डिस्टिब्युसन सिस्टम’ को मेसिन सञ्चालनमा रहेको छ ।

सूर्यबहादुर फाउन्डेसनमार्फत जापान सरकारको ग्रासरुट ह्युमेन सेक्युरिटी जीजीपी मार्फत एक करोड रुपैयाँ बराबरको लागतमा उक्त मेसिन जडान गरिएको अस्पतलाका सूचना अधिकारी राजन पोखरेलले बताए । अस्पतालमा संक्रमित तीनसहित दमलगायत अन्य स्वास्थ्य समस्या भएका ८ जनाले अक्सिजन प्रयोग गरिरहेका छन् । बिक्रीका लागि उत्पादन नगरे पनि अत्यावश्यक भएमा अक्सिजन सिलिन्डर भरेर लैजान सकिने जनाइएको छ ।

संक्रमण नियन्त्रणलाई ३ करोड ३५ लाख

मोरङ– प्रदेश १ सरकारले कोरोना जनसुरक्षा कोषबाट संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारका लागि ३ करोड ३५ लाख रुपैयाँ बजेट पठाएको छ । कोरोना जनसुरक्षा कोष व्यवस्थापन समितिको बैठकले निर्णय गरी उक्त रकम पठाइएको हो ।

कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रलगायत अस्पतालका लागि सेनिटाइजर, मास्क, पीपीई, एन्टिजेन, औषधि व्यवस्थापन गर्न प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई ५० लाख बजेट उपलब्ध गराइएको छ । मेची अस्पताललाई कोभिड–१९ उपचार केन्द्र सञ्चालनका लागि २५ लाख, सुनसरी र धनकुटा जिल्ला अस्पताललाई २०/२० लाख रुपैयाँ पठाएको समितिका संयोजक मुख्यमन्त्री शेरधन राईले बताए ।

जिल्ला अस्पताल उदयपुरलाई आइसोलेसन सेन्टर बेलटारलाई समेत सञ्चालन तथा व्यवस्थापन गर्न ३० लाख रुपैयाँ उपलब्ध गराएको छ । यस्तै, जिल्ला अस्पताल पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, सोलुखुम्बु, खोटाङ, संखुवासभा, ओखलढुंगा र मदन भण्डारी अस्पताल तथा ट्रमासेन्टर मंगलबारेलाई १०/१० लाख र जिल्ला अस्पताल ताप्लेजुङलाई १५ लाख रुपैया उपलब्ध गराएको राईले बताए । मोरङ र झापालाई २०/२० लाख र जिल्ला प्रशासन इलाम, सुनसरी र ओखलढुंगाको हर्कपुरलाई १५/१५ लाख रुपैया उपलब्ध गराएको छ । भोजपुर, तेह्रथुम, संखुवासभा, धनकुटा, खोटाङ, खोखलढुंगा, सोलुखुम्बु, उदयपुर, पाँचथर र ताप्लेजुङलाई पनि ५/५ लाख रुपैयाँ उपलब्ध गराएको राईले बताए ।

४ संक्रमितको मृत्यु

मोरङ– विराटनगरमा शुक्रबार चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । नोवेल अस्पतालमा तीन र कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा एक जनाको उपचार क्रममा मृत्यु भएको हो ।

नोवेल अस्पतालमा उपचाररत विराटनगरका ३७ वर्षीया महिला, सिरहाको लखनतरीका ७५ वर्षीय वृद्ध र विराटनगर ६ का ६३ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । यस्तै, कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रका संयोजक बैजनाथ साहका अनुसार झापाको दमक ५ ३३ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।

प्रकाशित : वैशाख २५, २०७८ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्

मास्क र अक्सिमिटरमा अचाक्ली मूल्य वृद्धि

जितेन्द्र साह

विराटनगर — थोक विक्रेताले मूल्य बढाएपछि विराटनगरका बजारमा सर्जिकल मास्क र पल्स अक्सिमिटर अभाव भएको छ । संक्रमणको दोस्रो लहरअघिसम्म थोक विक्रेताले प्रतिपोका १ सय १० रुपैयाँमा बिक्री गरेको मास्कको मूल्य ३ सय रुपैयाँसम्म लिन थालेका छन् ।

शरीरमा अक्सिजनको मात्रा नाप्ने पल्स अक्सिमिटरको थोक मूल्य गत चैत २५ अघिसम्म ६/७ सय रुपैयाँसम्ममा बिक्री भए पनि अहिले १ हजार १ सय रुपैयाँ पुर्‍याइएको छ । खुद्रा बजारमा प्रतिपोका मास्कको मूल्य ३ सय ५० देखि ४ सय रुपैयाँ र अक्सिमिटर १ हजार ७ सयदेखि २ हजार ५ सय रुपैयाँसम्ममा बिक्री हुँदै छ । उत्पादकले खुद्रा बजारमा ५० पिसको प्रतिपोका र स्वास्थ्य संस्थामा सय पिसको पोका बनाएर मास्क बिक्री गर्छन् । ‘डिलरले बढी मूल्यमा किन्नेलाई माल दिन्छ, मैले राख्न छाडें,’ खुद्रा औषधि व्यवसायी अरुण ठाकुरले भने ।

पाँच/छ दिनदेखि यी सामग्रीको मूल्यमा अचाक्ली वृद्धि भएको उनले बताए । साताअगाडि खुद्रा बजारमा प्रतिपोका मास्कको मूल्य १ सय ५० रुपैयाँदेखि १ सय ८० रुपैयाँ रहेको उनको भनाइ छ । ‘थोक विक्रेताले सर्जिकल मास्कको हामीलाई नै ६ रुपैयाँ गोटा भन्न थाले, बेच्ने कतिमा ?,’ अर्का एक व्यवसायीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘ग्राहकले डिलरलाई चिनेका हुँदैनन्, हामीले नै कालोबजारी गरेको ठान्छन्, झगडा गर्छन्, गाली गर्छन् ।’

जानकारहरूका अनुसार नेपाली बजारमा २ हजार ५ सय रुपैयाँमा समेत राम्रा खाले अक्सिमिटर पाइन्न । ‘गुणस्तरीय भनेर बेचिए पनि बजारमा उपलब्ध प्रायः अक्सिमिटर कामै नलाग्ने ६/७ सय रुपैयाँ पर्ने चिनियाँ उत्पादन हुन्,’ एक जानकारले भने, ‘बजारमा अनुगमन गर्ने निकायको कतै उपस्थिति देखिन्न ।’ राम्रो अक्सिमिटरमा दुई–तीन सय रुपैयाँभन्दा बढी मूल्यवृद्धि भएको छैन । यस्तो अक्सिमिटर बजारमा उपलब्ध पनि छैन । मास्कको डोरी अभाव भएर उत्पादनमा समस्या आएको थोक औषधि व्यवसायी संघ प्रदेश १ का अध्यक्ष विपुल दासले बताए ।

प्रकाशित : वैशाख २३, २०७८ ०६:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×