प्रयोगशालाकर्मीलाई डरैडर

‘पीपीई लगाएर परीक्षण गरे पनि स्वाबसँग चल्नुपर्ने काम भएकाले कुनै पनि बेला संक्रमित हुन सक्छौं । घर जानै डर लाग्छ ।’
जितेन्द्र साह

विराटनगर — कोरोना परीक्षण गर्ने प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीलाई काम सकिएपछि डराइडराइ घरकोठा जानुपर्ने बाध्यता छ । पछिल्ला दिन संक्रमणसगै परीक्षण दर पनि बढेको छ । 

प्रयोगशालाकर्मीलाई डरैडर

‘प्रयोगशालामा स्वाब परीक्षणको भार बढेको छ, संक्रमण बढेकाले परिवारको स्वास्थ्यको चिन्ता हुन्छ,’ कोसी अस्पतालको कोरोना परीक्षण प्रयोगशाला प्रमुख प्रणव यादवले भने । उनी श्रीमती र २० महिनाको बच्चासहित विराटनगरको शान्तिचोकस्थित डेरामा बस्छन् ।

प्रदेश सरकारले गत वर्ष वैशाखदेखि पुससम्म होटलमा बास र भोजनको प्रबन्ध गरेपछि यादवले सिराहा लहानस्थित घरमा परिवारलाई छाडेका थिए । ‘काम सकेर सोझै होटेल जान्थ्यौं,’ उनले भने । पत्नी र सन्तानसहित स्थानीय प्रतिभाचोकमा डेरा लिई बसेका प्रयोगशाला निरीक्षक ललित चौधरीले संक्रमण मत्थर नभएसम्म परिवारबाट टाढै रहन चाहेको बताए ।

‘पीपीई लगाएर परीक्षण गरे पनि स्वाबसँग चल्नुपर्ने काम भएकाले कुनै पनि बेला संक्रमित हुनसक्छौं,’ उनले भने, ‘घर जानै डर लाग्छ ।’ पीसीआर परीक्षण र संक्रमितको उपचारमा संलग्नलाई आइसोलेसनमा राख्न पहल भइरहेको कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डडेन्ट डा. चुमन लाल दासले बताए ।

गत वर्ष उक्त प्रयोगशालामा कार्यरत छ जना संक्रमित भए । प्रयोगशालामा ८ जना कार्यरत छन् । कतिपय प्रयोगशालाकर्मीलाई घरबेटीले डेरा खोज्नसमेत भनेका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका ल्याब टेक्निसियन पंकजकुमार यादवलाई अहिले बासकै तनाव छ ।

‘बिहानदेखि रातिसम्म प्रयोगशालामै हुन्छु,’ उनले भने, ‘संक्रमण बढिरहेकाले घरबेटी र उनीहरूका परिवारजन त्रसित छन्, मबाटै संक्रमित हुने उनीहरूमा त्रास छ ।’ त्यही भएर घरबेटीले कोठा छाडेर अन्यत्र बस्न भनेको यादवले बताए । प्रदेश प्रयोगशालाको पीसीआर ल्याबमा ६ जना कार्यरत छन् । जोखिम मोलेर सेवा गरिरहेका स्वास्थ्यकर्मीलाई समाजले प्रोत्साहन गर्नुपर्ने प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले बताए । यसापालि सम्बन्धित संस्थाहरूले पीसीआर ल्याबको, जनशक्ति र आइसोलेसनको व्यवस्थापन आफैंले गर्न सक्छ भनेर प्रदेश सरकारले पूर्वतयारी नगरेको निर्देशक यादवले बताए ।

‘गत वर्ष नयाँ भाइरस थियो, सीमित पीसीआर ल्याब र जनशक्ति थियो, नयाँ कोसिस थियो,’ उनले भने, ‘यसपालि सरकारी र निजी थुप्रै स्वास्थ्य संस्थाको पीसीआर ल्याब थपिएको छ ।’ कोरोना परीक्षणसम्बन्धी यो प्रदेशमा ६ सरकारी र ४ निजी प्रयोगशाला छन् ।

प्रत्येक प्रयोगशालामा पीसीआर परीक्षणसम्बन्धी जनशक्ति, मेसिनहरूको अवस्था र रिएजेन्टको विवरण माग गर्दै प्रदेश जनस्वास्थ्य प्रयोगशालाले ७ वैशाख पत्र पनि पठाएको थियो । तीन दिनभित्र जवाफ मागिए पनि मेची र कोसी अस्पतालबाहेक कसैले पनि जवाफ नदिएको निर्देशक यादवले बताए । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी सदानन्द भट्टराईले पीसीआर परीक्षण प्रयोगशाला एवं संक्रमितको उपचारमा खटिएका जनशक्तिका लागि दुई दिनभित्र भोजन र बासको प्रबन्ध गरिने बताए ।

अस्पतालले अक्सिजन उत्पादन बढायो


धनकुटा– दिनहुँ संक्रमित थपिँदै गएपछि धनकुटा जिल्ला अस्पतालले आफ्नो अक्सिजन प्लान्टलाई सक्रिय बनाएको छ । शल्यक्रिया, आकस्मिक कक्ष तथा अन्तरंग विभागमा अक्सिजन सहज रूपमा उपलब्ध गराउने उद्देश्यले दुई वर्ष पहिले मेसिन जडान भएको थियो । अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट पुजन विश्वकर्माका अनुसार यसअघि अस्पतालमा आवश्यकताका लागि उत्पादन गर्दै आएकोमा हाल कोरोना महामारीको अवस्थालाई मध्यनजर राखेर उत्पादन बढाइएको हो ।

‘कम्तीमा दुई सय बेडका लागि अक्सिजनले धान्ने गरी उत्पादन गरिएको छ’, उनले भने, ‘व्यावसायिक ढंगले बिक्री नगरी अस्पतालमा भर्ना भएकालाई प्राथमिकतामा राखिएको छ ।’ हाल २० र ५० केजी क्षमताको अक्सिजन सिलिन्डरमा उत्पादन भइरहेको डा. विश्वकर्माले बताए ।

बिरामीलाई तत्काल रेफर गरेर एम्बुलेन्समार्फत अन्यत्र पठाउनु पर्दा सहज रूपमा अक्सिजन उपलब्ध गराउन सकिएको उनको भनाइ छ । जापान सरकारको सहयोगमा ‘अक्सिजन जनेरेसन एन्ड डिस्टिब्युसन सिस्टम’ को मेसिन सञ्चालनमा रहेको छ ।

सूर्यबहादुर फाउन्डेसनमार्फत जापान सरकारको ग्रासरुट ह्युमेन सेक्युरिटी जीजीपी मार्फत एक करोड रुपैयाँ बराबरको लागतमा उक्त मेसिन जडान गरिएको अस्पतलाका सूचना अधिकारी राजन पोखरेलले बताए । अस्पतालमा संक्रमित तीनसहित दमलगायत अन्य स्वास्थ्य समस्या भएका ८ जनाले अक्सिजन प्रयोग गरिरहेका छन् । बिक्रीका लागि उत्पादन नगरे पनि अत्यावश्यक भएमा अक्सिजन सिलिन्डर भरेर लैजान सकिने जनाइएको छ ।

संक्रमण नियन्त्रणलाई ३ करोड ३५ लाख

मोरङ– प्रदेश १ सरकारले कोरोना जनसुरक्षा कोषबाट संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारका लागि ३ करोड ३५ लाख रुपैयाँ बजेट पठाएको छ । कोरोना जनसुरक्षा कोष व्यवस्थापन समितिको बैठकले निर्णय गरी उक्त रकम पठाइएको हो ।

कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रलगायत अस्पतालका लागि सेनिटाइजर, मास्क, पीपीई, एन्टिजेन, औषधि व्यवस्थापन गर्न प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई ५० लाख बजेट उपलब्ध गराइएको छ । मेची अस्पताललाई कोभिड–१९ उपचार केन्द्र सञ्चालनका लागि २५ लाख, सुनसरी र धनकुटा जिल्ला अस्पताललाई २०/२० लाख रुपैयाँ पठाएको समितिका संयोजक मुख्यमन्त्री शेरधन राईले बताए ।

जिल्ला अस्पताल उदयपुरलाई आइसोलेसन सेन्टर बेलटारलाई समेत सञ्चालन तथा व्यवस्थापन गर्न ३० लाख रुपैयाँ उपलब्ध गराएको छ । यस्तै, जिल्ला अस्पताल पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, सोलुखुम्बु, खोटाङ, संखुवासभा, ओखलढुंगा र मदन भण्डारी अस्पताल तथा ट्रमासेन्टर मंगलबारेलाई १०/१० लाख र जिल्ला अस्पताल ताप्लेजुङलाई १५ लाख रुपैया उपलब्ध गराएको राईले बताए । मोरङ र झापालाई २०/२० लाख र जिल्ला प्रशासन इलाम, सुनसरी र ओखलढुंगाको हर्कपुरलाई १५/१५ लाख रुपैया उपलब्ध गराएको छ । भोजपुर, तेह्रथुम, संखुवासभा, धनकुटा, खोटाङ, खोखलढुंगा, सोलुखुम्बु, उदयपुर, पाँचथर र ताप्लेजुङलाई पनि ५/५ लाख रुपैयाँ उपलब्ध गराएको राईले बताए ।

४ संक्रमितको मृत्यु

मोरङ– विराटनगरमा शुक्रबार चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । नोवेल अस्पतालमा तीन र कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा एक जनाको उपचार क्रममा मृत्यु भएको हो ।

नोवेल अस्पतालमा उपचाररत विराटनगरका ३७ वर्षीया महिला, सिरहाको लखनतरीका ७५ वर्षीय वृद्ध र विराटनगर ६ का ६३ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । यस्तै, कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रका संयोजक बैजनाथ साहका अनुसार झापाको दमक ५ ३३ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।

प्रकाशित : वैशाख २५, २०७८ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?