कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

प्रदेश १ का मोरङसहित ६ जिल्लामा निषेधाज्ञा

विराटनगर — जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रबार मध्यरातिदेखि जिल्लाभरि निषेधाज्ञा लगाएको छ । प्रदेश १ स्थित १४ जिल्लामध्ये उदयपुर, सुनसरी, झापा, धनकुटा र ताप्लेजुङमा जिल्ला प्रशासन कार्यालयले तीव्र गतिमा दैनिक बढ्दै गएको कोरोना संक्रमणको चेन ब्रेक गर्न निषेधाज्ञा लगाएको छ । 

प्रदेश १ का मोरङसहित ६ जिल्लामा निषेधाज्ञा

कोरोना संक्रमणको दर दैनिक बढ्दै गएको अवस्थामा बेलैमा गम्भीर नभए अझ भयावह स्थिति निर्माण हुन सक्ने भएकाले मोरङ जिल्लाभरि शुक्रबार रातिदेखि जेठ १ सम्म निषेधाज्ञा जारी गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए ।

निषेधाज्ञा अवधिभरि औषधि, खाद्यवस्तु, इन्धन, ग्यास, तरकारी, फलफूल, खानेपानी, माछा, मासु, दूध, डेरी, पशु आहार, दानालगायत अत्यावश्यक सामग्री आपूर्ति गर्ने पसल, व्यवसायहरू बिहान ६ देखि १० बजेसम्म मात्रै ओसारपसार तथा बिक्रीवितरण गर्न पाइने उनले बताए । अत्यावश्यक वस्तु तथा सेवा खरिद गर्नबाहेकको कुनै पनि कामले कोही पनि घर बाहिर निस्किन नपाउने प्रजिअ निरौलाले बताए ।

गुद्री बजार, सब्जीमन्डी, होटल, रेस्टुरेन्ट, सैलुन निषेधाज्ञा अवधिभर सञ्चालनमा रोक लगाइएको छ । सार्वजनिक विकास निर्माणका काम नियमित रूपमा सञ्चालन हुने र त्यसका लागि निर्माण सामग्री पसल सञ्चालन, ओसारपसार, औजार उपकरणको ढुवानी, ढुंगा, गिट्टी, बालुवा बोक्ने सवारी बिहान ६ देखि १० बजेसम्म र बेलुका ६ देखि ८ बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ ।

उद्योगपति, व्यवस्थापक र श्रमिक कर्मचारीलाई बिहान ६ देखि १० बजेसम्म र बेलुका ६ देखि ८ बजेसम्म सम्बन्धित उद्योग व्यवसायको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउने व्यवस्था गरिएको प्रजिअ निरौलाले बताए । स्वास्थ्यकर्मी, चिकित्सक, दूरसञ्चार क्षेत्रका कर्मचारी, सरसफाइकर्मी, अत्यावश्यक सेवामा खटिएका कर्मचारी तोकिएका बैंक तथा वित्तीय संस्थाका कर्मचारी, सञ्चारकर्मीले सञ्चार गृहको र कानुन व्यवसायीले बार एसोसिएसनको परिचयपत्रका आधारमा आवतजावतको व्यवस्था गरिएको उनले बताए ।

दैनिक रूपमा गरिने पूजा, प्रार्थनाबाहेक धार्मिक तथा सांस्कृतिक कार्य, मेला, चाडपर्व, जात्रा, हाट बजार, महोत्सव, भेला तथा अन्य सामूहिक गतिविधि, शैक्षिक संस्था सञ्चालन निषेधाज्ञा अवधिभर निषेध गरिएको निरौलाले बताए । विवाहका लागि बढीमा १५ जनासम्म बेहुला–बेहुलीसहित ब्यानर राखेर सवारीसाधन प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ ।

अत्यावश्यक सेवामा प्रयोग हुने र सरकारी नम्बर प्लेटका गाडीबाहेकका कुनै पनि सवारीसाधन सञ्चालन गर्न नपाउने उनले बताए । एकीकृत भन्सार जाँच चौकीबाट आएका मालवाहक ट्रकलाई उद्योग परिसरबाहेकको ठाउँमा रोक्न नपाउने र उद्योगमा निसंक्रमण गर्नुपर्ने उनले सुनाए । सबै किसिमका कृषिजन्य उत्पादन, मासुजन्य पशुपक्षीको ओसारपसार नरोकिने उनले स्पष्ट पारेका हुन् । सबै सरकारी कार्यालय तथा संस्थानहरूले आलोपालो गरी न्यूनतम संख्यामा कर्मचारी उपस्थित भएर सेवा सञ्चालन तथा अभिलेखीकरणलगायत प्रशासनिक कार्य मात्र गर्ने व्यवस्था गरिएको प्रजिअ निरौलाले बताए ।

अन्तर्राष्ट्रिय सीमा नाकाबाट विदेशी नागरिकलाई प्रवेश निषेध, जिल्लाभरि राति ८ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न नपाइने, १० वर्षमुनि र ६० वर्षमाथि उमेरका व्यक्तिलाई अत्यावश्यकबाहेकको अवस्थामा घर बाहिर निस्किन नपाउने उनले सुनाए ।

होटल तथा रेस्टुरेन्टले अनलाइन अर्डरमा होम डेलिभरी तथा ग्राहक स्वयं आएर प्याकिङ गरी लैजाने टेक अवे विधिलाई प्रयोग गरी सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ । अत्यावश्यक उपभोग वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य वृद्धि गर्ने, जम्माखोरी गर्ने, लुकाउने र आपूर्तिमा अवरोध गर्नेलाई कानुनी कारबाही गरिने प्रजिअ निरौलाले बताए ।

प्रकाशित : वैशाख २५, २०७८ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?