१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

आरक्षका अर्ना संरक्षणमा चुनौती

डिल्लीराम खतिवडा

उदयपुर — कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा घरपालुवा जनावरका कारण अर्ना संरक्षण चुनौती बन्दै गएको छ । घरपालुवा भैंसीलाई अर्नासँग वर्णशंकर गराएर पाडापाडी निकाल्ने समूह सक्रिय भएकाले चुनौती बनेको हो ।

आरक्षका अर्ना संरक्षणमा चुनौती

आरक्ष क्षेत्रमा १० हजारभन्दा बढी घरपालुवा गाईभैंसी छन् । आरक्ष क्षेत्रमा लामो समयदेखि छोडिएका भैंसी र तीनका सन्तान (पाडापाडी) मा अर्नाकै जस्तो जंगली स्वभाव भइसकेको छ । त्यसैले आरक्ष क्षेत्रबाट घरपालुवा भैंसी हटाउन चुनौती बन्दै गएको हो ।

आरक्ष क्षेत्रमा रहेका अर्नासँग ‘क्रस’ गराइएका भैंसी पनि झट्ट हेर्दा अर्नाजस्तै ठूला–ठूला सिङ भएका देखिन्छन् । आरक्षमा अर्नाभन्दा अर्नासँग ‘क्रस’ (वर्णशंकर) भएका भैंसी बढी छन् । आरक्षले वैशाख ६ देखि ११ गतेसम्म अर्ना गणना गरेको थियो । गणना प्रतिवेदनअनुसार ५७ वटा अर्ना बढेको पाइएको छ । थपिएको ५७ सहित अर्नाको कुल संख्या ४ सय ९८ पुगेको छ ।

२०७४ सालमा भएको गणनामा आरक्षभित्र ४ सय ४१ वटा मात्र अर्ना थिए । २०३२ सालमा स्थापना भएको कोसी टप्पुमा सुरुमा ६३ अर्ना मात्र थिए । त्यसयता क्रमशः अर्नाको संख्यामा वृद्धि हुँदै गए पनि संरक्षण अभाव हुँदै गएको आरक्ष प्रशासनले जनाएको छ ।

घरपालुवा चौपायको चरिचरन रोक्न नसकिएको आरक्षका संरक्षण अधिकृत अशोक रामले बताए । ‘आरक्ष क्षेत्रमा ४ किसिमका जनवार छन्’ रामले भने, ‘पहिलो अर्ना, दोस्रो आरक्षनजिकै गोठ राखेर भित्र चरिचरनका लागि छोडिएका भैंसी, तेस्रो ८–१० वर्षदेखि नै रहेका १० हजारको संख्याका गाई (जुन गाई जंगली नै हुन्) र चौथो दैनिक चरिचरनका लागि आरक्ष क्षेत्र आसपासका गाउँबाट आउने चौपाया ।’

त्यसमध्ये आरक्षनजिकै गोठ बनाएर रातभरि भित्र छोडिने भैंसीका कारण अर्ना सरक्षणकामा चुनौती भएको उनले बताए । राति आरक्ष क्षेत्रमा छोडिने भैंसीबाट अर्नासँग वर्णशंकर भएर जन्मिने पाडापाडी समस्या भएको सरक्षण अधिकृत रामले बताए । आरक्ष सुनसरी, सप्तरी र उदयपुर तीन जिल्लाको सप्तकोसी तटीय क्षेत्रमा छ । यहाँ विश्वमै दुर्लभ मानिएको बाबुलिस जातको अर्ना पाइन्छ ।

प्रकाशित : वैशाख २५, २०७८ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?