हेलचेक्‍य्राइँ बढेपछि थप कडाइ

एन्टिजेन परीक्षणको भरमा पहाडी जिल्ला, संक्रमित बढ्दै गएपछि सतर्कता बढाइयो
कुम्भराज राई, डिल्लीराम खतिवडा, विप्लव भट्टराई

ओखलढुंगा, उदयपुर, इलाम — ओखलढुंगामा हालसम्म लक्षण देखिएकामध्ये ६ जनाको एन्टिजेन परीक्षण गर्दा पोजिटिभ देखिएको छ । खिजिदेम्बा गाउँपालिकामा एक, मोलुङ गाउँपालिकामा दुई र सिद्धिचरण नगरपालिकामा तीन जनामा कोभिड पोजिटिभ देखिएको हो ।

त्यसमध्ये एक जनालाई मिसन अस्पताल ओखलढुंगाको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । कन्ट्याक्ट ट्रेसिङमा रहेकाको परीक्षण गरिएको छैन । कोभिडको दोस्रो चरण सुरु भएपछि हालसम्म जिल्लाबाट कसैको पनि पीसीआर परीक्षण गरिएको छैन । पीसीआरका लागि धरान वा काभ्रे पुर्‍याउनुपर्ने बाध्यता छ । ‘केही लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाको स्वाब संकलन गरी पीसीआरका लागि पठाउने तयारी भइरहेको छ ।’

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले भने, ‘तर कहाँ लैजाने भन्ने टुंगो भइसकेको छैन ।’ जिल्लाका विभिन्न स्थानीय तहहरूले आंशिक रूपमा निषेधाज्ञा जारी गरेका छन् । मानेभन्ज्याङ, चम्पादेवी, मोलुङ, लिखु गाउँपालिका र सिद्धिचरण नगरपालिकालगायतले अत्यावश्यकीय सेवाबाहेकका काम बन्द गरेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी मनिता कार्कीले भनिन्, ‘स्थानीय तहहरूलाई बाहिरी जिल्लाबाट आउनेलाई विशेष निगरानी गरी क्वारेन्टाइन लगायतमा राख्नका लागि सुझाव दिएका छौँ ।’

हालसम्म जिल्ला अस्पतालमा ६ शय्या र मिसन अस्पतालमा ६ शय्या गरि जम्मा १२ शय्याको मात्र आइसोलेसन तयारी अवस्थामा छन् । संक्रमितको संख्या बढ्दै गएमा कसरी उपचार गर्ने भन्ने विषयमा आवश्यक तयारी ढिलाइ भएको सरोकारवालाको भनाइ छ । स्थानीयले पीसीआर परीक्षण गर्ने मेसिन जिल्लामै उपलब्ध हुनुपर्ने माग गरेका छन् । यहाँका व्यवसायीले सरकारी तवरबाट नसक्ने भएमा निजी रूपमा शुल्क तोकेर पीसीआर मेसिन सञ्चालन गर्न अनुमति दिनुपर्ने बताएका छन् । गतसाल पनि स्थानीय तहले मिलेर जिल्लामा एउटा पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेका थिए । कतिपयले बजेटसमेत विनियोजन गरेका थिए । तर संक्रमण दर घट्दै गएपछि सो बजेट अन्य शीर्षकमै खर्च गरिएको थियो ।

निषेधाज्ञामा थप कडाइ

कोरोना संक्रमण बढ्दै गएपछि उदयपुरमा निषेधाज्ञालाई थप कडा पारिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई कडाइ गर्ने निर्णय गरेको हो । संक्रमण समुदायमै फैलिएपछि शुक्रबारदेखि ३१ गतेसम्म सबै प्रकारका सवारीसाधनलाई पूर्णरूपले रोक लगाउने निर्णय गरिएको केन्द्रका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले बताए । अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई जिल्लाबाहिर आउजाउमा समेत रोक लगाइएको सेढाईंले बताए ।

यसअघि बिहान १० बजेदेखि ३ बजेसम्म प्रमुख व्यापारिक केन्द्र सञ्चालन गर्न दिने निर्णयलाई परिमार्जन गर्दै सबै बजारलाई बिहान ६ देखि १० बजेसम्म मात्र सञ्चालन गर्न दिइने भएको छ । अत्यावश्यक वा विशेष काम औषधि, खाद्यवस्तु तथा अत्यावश्यक वस्तु वा सेवा खरिद बिक्रीबाहेक सामान्यतः कसैलाई पनि घरबाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए सामाजिक दूरी, स्वास्थ्य सुरक्षा मापदण्ड अवलम्बन गर्न आग्रह गरिएको छ ।

बैठकले राष्ट्रिय जनगणना २०७८ का सबै गतिविधि र राष्ट्रिय परिचयपत्रको जिल्लास्तरीय अभियान अर्को सूचना जारी नभएसम्मका लागि रोक लगाउने निर्णय भएको सेढार्इंले बताए । साथै, उनले स्वास्थ्योपचारबाहेक अन्यत्र प्रयोग भइरहेका अक्सिजन सिलिन्डरहरू तीन दिनभित्र अक्सिजन उद्योग वा जिल्ला अस्पतालमा बुझाउन अनुरोध गरिएको पनि बताए । भारत तथा अन्य जिल्लाबाट प्रवेश गरी उदयपुरमा बसोबास गर्ने व्यक्तिको हकमा स्थानीय तहको अनुगमनमा अनिवार्य रूपमा १० दिन होमआइसोलेसनमा बस्ने निर्णय भएको छ । विवाहका लागि बेहुलाबेहुलीसहित दुईवटा सवारीसाधनमा ५/५ जनाका दरले ब्यानर राखेर आउजाउ गर्न दिने निर्णय भएको प्रजिअ सेढाईंले बताए ।

कोरोना संक्रमितको संख्या थपिँदै गएपछि इलाममा सजगता अपनाइएको छ । जिल्लामा बुधबार साँझसम्म ९९ जना सक्रिय संक्रमित पुगेका छन् । पछिल्लोपटक कोराना संक्रमणवाट जिल्लामा ४ जनाको निधन भइसकेको छ । संक्रमण बढेसँगै सदरमुकाम क्षेत्रमा बुधबारदेखि आवतजावत बन्द गरिएको छ । कोभिड–१९ संकट व्यवस्थापन समितिले संक्रमण नियन्त्रणका लागि वैशाखसम्मका लागि आवतजावत बन्द गर्ने निर्णय गरेको हो । बन्दको समयमा खाद्यान्न र औषधि खरिदसहित अत्यावश्यक कामका लागि भने प्रतिबन्ध लगाइएको छैन । त्यस्तै इलाम नगरपालिका ५ बिब्ल्याँटे बजारमा लामो दूरीका सवारी पार्किङ बन्द गरिएको छ । इलाम उद्योग वाणिज्य संघ, सूर्योदय उद्योग वाणिज्य संघ, पूर्वेली जिप तथा ट्याक्सी यातायात सेवाले पनि एक साताका लागि व्यवसाय बन्द गर्न आग्रह गरेका छन् ।

इलाम नगरपालिकाले बजार तथा राजमार्ग क्षेत्रमा किटनाशक औषधि छर्कन सुरु गरेको छ । दमकल पुग्ने सबै क्षेत्रमा ७ दिनसम्म लगातार औषधि छर्कने नगर प्रमुख महेश बस्नेतले जानकारी दिए । यता पशुपतिनगरमा २० जना अट्ने होल्डिङ सेन्टर स्थापना गरिएको छ । जिल्लाका सबै स्थानीय तहमा आइसोलेसन र क्वारेन्टाइनको स्थापना गर्न कोभिड–१९ संकट व्यवस्थापन समितिले निर्देशन दिइसकेको छ ।

विराटनगरमा ७ संक्रमितको निधन

मोरङ– विराटनगरमा एकै दिन ७ कोरोना संक्रमितको मृत्यु भएको छ । कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा ४, नोवेल अस्पतालमा २ र न्युरो अस्पतालमा एक जनाको मृत्यु भएको हो ।

कोभिड–१९ उपचार केन्द्रमा विराटनगर १० का ५७ वर्षीय, विराटनगर १३ का ५० वर्षीय, जहदा गाउँपालिका ५ का २५ वर्षीय र सुनसरीको कोसी गाउँपालिका ४ का ६५ वर्षीयको बिहीबार मृत्यु भएको छ । उपचार केन्द्रका संयोजक बैजनाथ साहका अनुसार स्वास्थ्य अवस्था गम्भीर रहेका चारै जनाको उपचारका क्रममा मृत्यु भएको हो । नोवेल अस्पतालमा विराटनगर ५ की ३७ वर्षीया र विराटनगर १९ का ६४ वर्षीयको उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । न्युरो अस्पतालमा रंगेली नगरपालिका ३ का २६ वर्षीयको मृत्यु भएको छ । अस्पतालमा १७ दिनदेखि उपचाररत उनमा बुधबार कोरोना संक्रमण पुष्टि भएको र बिहीबार उपचारको क्रममा मृत्यु भएको अस्पतालका भारत श्रेष्ठले बताए ।

बीपीमा ३ को मृत्यु

सुनसरी– धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा बिहीबार तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको मिक्लाजुङ–२ का ७५ वर्षीय, धरान–२ की ५३ वर्षीया र सिराहाको गोलबजार–६ का २९ वर्षीयको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित : वैशाख २४, २०७८ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्

कोभिड-१९ को दोस्रो लहर : रेम्डेसिभिर, प्लाज्मा थेरापी र प्रोन पोजिसनबारे जान्नैपर्ने तथ्य

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोभिड-१९ को दोस्रो लहर भित्रिएपछि स्थिति भयावह बन्दै गइरहेको छ । दिनहुँ कोभिड-१९ बाट संक्रमित र निधन हुनेको संख्या बढ्दो छ । सामाजिक सञ्जालमा सिकिस्त संक्रमितका आफन्तले यस महामारी विरुद्धका विभिन्नखाले औषधि र उपचार विधिका लागि आग्रह र त्यसबारे जिज्ञासा राख्दै पोस्ट गरेका छन् ।

यसै सन्दर्भमा हामीले कोभिड-१९ संक्रमितका लागि प्रभावकारी हुने भन्ने दाबी गरिएका दुई उपचार विधि र एक औषधिबारे यो जानकारीमूलक सामग्री तयार पारेका छौँ ।

के रेम्डेसिभिर प्रभावकारी हुनसक्छ ?

रेम्डेसिभिर एउटा एन्टी भाइरल प्रयोगात्मक औषधि हो । अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) का अनुसार यो एक दशक पहिले हेपाटाइटिस सि र अर्को एक खोकीको भाइरस विरुद्ध बनाइएको हो । तर यी दुवै भाइरस विरुद्ध यो प्रभावकारी देखिएन । अन्य भाइरस विरुद्ध भने यो प्रभावकारी हुनसक्ने देखियो ।

गत वर्ष गरिएको एक अध्ययनमा यो औषधि दिइएका सिकिस्त भई अस्पताल भर्ना भएका कोभिड संक्रमित बिरामी छिटो निको भएको पाइएको थियो । अमेरिकाको नियमनकारी निकाय फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले यसलाई त्यतिखेर प्रयोग गर्ने अनुमति दिएको थियो । तर विश्व स्वास्थ्य संगठनले यसलाई मान्यता दिएको छैन । सन् २०२० को नोभेम्बरमा एक वक्तव्यमार्फत उसले रेम्डेसिभिर प्रयोग गर्न एक शर्तात्मक सिफारिस (कन्डिसनल रिकमेन्डेसन) गरेको थियो । उक्त औषधिले कोभिड-१९ संक्रमितको बाँच्ने सम्भावनामा कुनै सुधार ल्याउँछ भन्ने कुनै प्रमाण नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

एपीवान टेलिभिजन कार्यक्रमसँगको हालैको एक अन्तर्वार्तामा संक्रमण रोग विशेषज्ञ प्रभात अधिकारीले यसबारे अझै छिनोफानो भइनसकेको बताए । “डब्लुएचओले काम गर्दैन भन्छ । युएसको स्टडिले यसले अस्पताल बसाइलाई छोट्याउँछ भन्छ,” उनले भने, “नेपालमा पनि अध्ययन भएको छ । त्यसको डाटा अनुसार यसलाई चाँडै बिरामी सिकिस्त नहुँदै प्रयोग गरियो भने काम गर्छ ।” उनले थपे, “यसमा डाक्टरहरुको आ- आफ्नो ओपिनियन छ । यो भाइरल रिप्लिकेसन फेज (अर्थात् संक्रमण हुनेबित्तिकै) मा बढी महत्वपूर्ण हुन्छ । प्रयोग गर्नै छ भने चाँडोभन्दा चाँडो गर्दा फाइदा होला । तर प्रमाणित हुन बाँकी छ ।”

औषधि व्यवस्था विभागले रेम्डेसिभिरको ३००० भायल बंगलादेशबाट आयात गरिएको बताएको छ ।

के हो कन्भासालेन्ट प्लाज्मा थेरापी ? कसरी गरिन्छ उपचार ?

यस उपचार विधिमा कोभिडबाट संक्रमित भई निको भइसकेका व्यक्तिको रगत संक्रमितलाई दिइन्छ । यसमा निको भएका व्यक्तिको रगत निकालिन्छ र त्यसको तरल भाग छुट्याइन्छ । रगतको प्लाज्मामा भाइरससँग लड्ने एन्टीबडी केही समय रहिरहने भएकाले यसको प्रयोग उपचारका रुपमा गरिएको हो । संक्रमितलाई सलाइनको माध्यमबाट उक्त प्लाज्मा दिइन्छ । खोपबाट शरीरको प्रतिरोध क्षमता बढाउनुलाई ‘एक्टिभ इम्युनिटी’ र प्लामाको प्रयोगबाट त्यसो गर्नुलाई ‘प्यासिभ इम्युनिटी’ भनिन्छ ।

तर रेम्डेसिभिरको हकमा जस्तै प्लाज्मा थेरापीको प्रभावकारिता बारेमा पनि चिकित्सकबीच मतैक्य छैन । “यसले अरु भाइरल रोगमा केही काम गरेको भएर कोभिडमा पनि काम गरिहाल्छ कि भनेर अध्ययनका लागि र एक्सपेरिमेन्टल हिसाबले प्रयोग गरिएको हो,” संक्रामक रोग विशेषज्ञ अनुप सुवेदीले सेतोपाटीलाई बताएका छन्, “विश्वव्यापी रुपमा धेरै ठूलठूला ट्रायलबाट आंकडा आइसक्यो, प्लाज्माको काम छैन ।” उनका अनुसार अर्जेन्टिनामा गरिएको एक अध्ययनमा ज्येष्ठ नागरिकलाई संक्रमण भएको तीन दिनभित्र प्लाज्मा दिँदा उनीहरु सिकिस्त हुने सम्भावना कम भएको देखिएको थियो ।

तस्बिर : एएनआई

“तर त्यो सानो अध्ययन हो । त्यसपछिका अन्य अध्ययनमा त्यसको पुनर्पुष्टि भएको छैन,” उनले भने । डाक्टर सुवेदीले अहिले कसैलाई पनि प्लाज्मा दिन सिफारिस नगर्ने बताए । डाक्टर अधिकारीले यसलाई आफुले ‘कन्ट्रोभर्सियल ट्रिटमेन्ट’ रुपमा लिएको र शुरुको चरणमा प्रयोग गरेमा प्रभावकारी हुनसक्ने बताए ।

अमेरिकाको मेयो क्लिनिकले पनि यसको प्रयोगले रोगलाई केही मत्थर पार्न वा बिरामी हुने अवधि छोट्याउने जनाएको छ । सोही संस्थामा कार्यरत नेपाली चिकित्सक सुदीप खड्काले थप अध्ययन नगरी प्लाज्मा उपचारले काम गर्छ भन्ने ग्यारेन्टी नभएको बताएका छन् । “पूर्ण रुपमा किफायतीपन निर्धारण नगरिएको प्लाज्मा प्रयोग गर्दा त्यो प्लाज्माले भाइरस ठ्याक्कै पूर्ण रुपमा निस्तेज पार्ने सम्भावना न्युन हुन्छ । अझ प्लाज्मा त बिरामी गम्भीर हुन लागेको बेलामा (जतिबेला शरीरमा भाइरसको संख्या अत्यधिक हुन्छ त्यतिबेला) खोज्ने गरिएको छ । यस्तो अवस्थामा प्लाज्माको प्रयोगले भाइरसका ती भेरियन्टलाई फैलिन मद्दत गर्छ, जसले यो प्लाज्मामा रहेको एन्टिबडीबाट उम्कन सक्छन्,” खड्काले अनलाइनखबरमा प्रकाशित लेखमा भनेका छन् ।

के हो प्रोन पोजिसनिङ ? यसबाट के फाइदा हुन्छ ?

तस्बिर साभार :स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय, भारत

‘प्रोन’ को शाब्दिक अर्थ घोप्टो परेर सुत्नु हो । शरीरमा अक्सिजनको मात्रा बढाउन बिरामीलाई सिरानीको सहयोगले घोप्टो पारेर सुताउने विधिलाई ‘प्रोन पोजिसनिङ’ भनिन्छ । स्वासप्रस्वासको बिरामीलाई सास फेर्न कठिन भएको अवस्थामा फोक्सोको क्षमता बढाउन प्रोन पोजिसनिङको प्रयोग गरिन्छ ।

प्रोन पोजिसनिङमा चार वा पाँच वटा सिरानीको प्रयोग गरिन्छ । तीमध्ये दुईवटा सिरानी कम्मरमा, एउटा सिरानी गर्दनमा र एउटा सिरानी खुट्टाको गोलीगाँठानेर राखेर पेटको बलमा बिरामीलाई सुताइन्छ । मानिसको मोटाइको आधारमा केही सिरानी थप-घट गरिन्छ ।

चिकित्सकहरुले मेकानिकल भेन्टिलेटरमा राखेका बिरामीका लागि पनि प्रोन पोजिसनको प्रयोग गर्दछन् । यसलाई स्वासप्रस्वासमा सामान्य समस्या आउँदा प्राकृतिक भेन्टिलेटरको रुपमा प्रयोग गर्न सकिन्छ । नेसनल मेडिकल कलेजका डा. असरफ हुसेनले नयाँ पत्रिकामा प्रकाशित लेखमा लेख्छन्, “अक्सिजनको लेभलमा सामान्य कमी आएमा वा अन्य समस्या नभएमा केहीबेरका लागि घोप्टो परेर बस्न सकिन्छ ।”

प्रोन पोजिसनिङले फोक्सोको कोशिका खाेल्न मद्दत गर्दछ र अक्सिजनको मात्रा बढाउन सहयोग गर्छ । यसले बिरामीको वायु प्रवाह सहज पार्न मद्धत गर्दछ । प्रोन पोजिसनिङ एक्युट रेस्परेटरी डिस्ट्रेस सिन्ड्रोम (फोक्सोमा तरल पदार्थ जमेर सास फेर्न सकस हुने) भएका बिरामीहरुलाई प्रयोग गरिन्छ । यूएस नेसनल लाइब्रेरी अफ मेडिसिन नेसनल इन्स्टिच्यूट अफ हेल्थमा प्रकाशित एक अनुसन्धान अनुसार मेकानिकल भेन्टिलेटरमा राखिएका स्वासप्रस्वास समस्या भएका त्यस्ता बिरामीलाई प्रोन पोजिसनिङले अक्सिजनको मात्रा बढाउन सहयोग गरी मृत्युदरमा सुधार ल्याएको थियो ।

कोभिड-१९ का कारण स्वास्प्रस्वासमा समस्या हुनाले यसका बिरामीलाई पनि यो उपयोगी हुने अमेरिकन जर्नल अफ रेस्पिरेटरि एण्ड क्रिटिकल केयर मेडिसिनमा प्रकाशित एक अध्ययनमा जनाइएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आफ्नो वेबसाइटमा होम आइसोलेसनमा बसेका कोभिड-१९ का बिरामीलाई प्रोन पोजिसनिङले मद्धत गर्ने भन्दै यो विधि प्रकाशित गरेको छ ।

केही अनुसन्धानहरुले प्रोन पोजिसनिङ उपयोगी हुने उल्लेख गरेका छन् । कतिपय चिकित्सकहरुले यसको प्रयोग पनि गरेका छन् भने अन्य चिकित्सकहरुले यसले स्वासप्रस्वासमा कुनै सहयोग नगर्ने जनाएका छन् । यूएस नेसनल लाइब्रेरी अफ मेडीसीन नेसनल इन्स्टिच्यूट अफ हेल्थले प्रकाशित गरेको एक लेखमा स्वास्थ्यकर्मीहरु नै यसको उपयोगिताबारेमा एकमत नभएको उल्लेख छ ।

-यो सामग्री साउथ एसिया चेक डट ओ आरजी बाट लिइएको हो ।

प्रकाशित : वैशाख २४, २०७८ ०९:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×