संक्रमण बढ्दै, छैन सावधानी
धनकुटम — चौरभरि भेला भएका ८० भन्दा बढी सर्वसाधारणको मुखमा मास्क थिएन । सामाजिक दूरीको त ख्याल नै थिएन । धनकुटाको पाख्रिबास नगरपालिका १० पाङ्ग्रे दोभानस्थित भुल्के मुहानबारे छलफल गर्न भेला भएका ती स्थानीयमा संक्रमणप्रति कुनै सजगता अपनाएको पाइएन ।
कोरोना भाइरस संक्रमण चुलिरहेको बेला ग्रामीण क्षेत्रमा स्वास्थ्य सावधानीबारे सचेतनासमेत नपुगेको स्थानीय बताउँछन् ।
कोरोनाबारे सञ्चारमाध्यमबाट प्रशस्तै जानकारी पाएको भए पनि गाउँघरमा कोही प्रभावित नभएकाले अहिले नै जोखिम नभएको स्थानीय गोदबहादुर खत्रीले बताए । तर, गाउँबस्तीमा कोरोनाबारे सचेतनामूलक गतिविधि शून्य रहेको जनाउँदै उनले भने, ‘रोगव्याधिले डर त धेरै लागेको छ तर सहरबजारतिर नजाने भएकाले गाउँघर सुरक्षित रहेको ठानेर मास्क नलगाएको हो ।’ स्थानीय कृष्णकुमारी राईले खानेपानीको विषयमा विवाद भएकाले अपर्झट भेला हुँदा मास्क लगाउनसमेत नपाएको बताइन् ।
नगरप्रमुख बिर्खबहादुर राईले भने सचेतनामूलक गतिविधि प्रशस्तै गरिएको दाबी गरे । तर केही दिनदेखि धनकुटामा दैनिकजसो विवाहका कार्यक्रम हुने गरेका छन् । अधिकांश होटल विवाह पार्टीका लागि बुक भएका छन् ।
प्रशासनले होटलमा विवाह व्रतबन्धमा बढीमा १५ जनासम्म भेला हुने र सामाजिक दूरी कायम राख्नुपर्ने सूचना जारी गरेको छ । बढीमा दुईवटा गाडीमा १५ जनासम्म विवाहको ब्यानर राखेर जिल्ला वा अन्तर जिल्लामा आवतजावत गर्न सकिने जनाइएको छ । घरमा गरिने विवाहमा सुरक्षा मापदण्ड अपनाएर बढीमा २५ जनासम्म सहभागी हुन पाइने सूचना गरिएको छ ।
प्रकाशित : वैशाख २४, २०७८ १०:३१