३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

खुला सिमानाले समस्या

किनमेलका लागि लुकीछिपी भारतीय बजार आउजाउ रोकिएन

सुनसरी — कोरोना महामारीका कारण दुवै मुलुकको सीमा बन्द गरिएको भए तापनि खुला सिमाना समस्या बनिरहेको छ । सुनसरीका सीमावर्ती क्षेत्रका बासिन्दा घरायसी किनमेलका लागि लुकीछिपी भारतीय बजार पुग्ने गरेका छन् ।

सुनसरी जिल्ला प्रशासनले निषेधाज्ञा जारी गर्दै कुनै पनि नाकाबाट नेपाली नागरिक समेतलाई प्रवेश निषेध गरेको छ भने बिहारमा लकडाउन जारी छ । तर सीमावर्ती क्षेत्रमा बसोबास गर्नेहरू किनमेल गर्न भारतीय बजार जाने आउने गरेका छन् ।

कोरोना महामारी फैलन नदिने उदेश्यले सुनसरी प्रशासनले खुला सिमानामा हुने मानवीय आवागमन रोक्न १० ठाउँ बीओपी (बोर्डर आउट पोस्ट) र १३ स्थानमा फरवार्ड बेसक्याम्प राखेको छ ।

ती पोस्टहरूमा सशस्त्र प्रहरी खटाइएको छ भने भारतीय सीमामा सीमा सुरक्षा बल तैनाथ छन् ।

जिल्लाको ६२ किलोमिटर भारतीय सिमानासँग जोडिए पनि खुला भएकाले सीमावर्ती क्षेत्रका बासिन्दा किनमेलका लागि भारतीय बजार पुग्ने गरेका छन् । स्थानीय सञ्चारकर्मी मिकाइल आलमले भने, ‘खुला सीमामा प्रहरी प्रशासनले कडाइ त गरेको छ तर सीमावर्ती क्षेत्रका बासिन्दा किनमेलका लागि भारतीय बजार पुग्ने गरेको देखिएको छ । उताको एसएसबीले देखे रोक्छ, यताका सशस्त्रले भेटे रोक्छ । तर सबैतिर रोक्न सकेको छैन ।’ लुकीछिपी सीमा वारपार गर्नेहरू आफैं पनि कोरोनाको जोखिममा रहेका र उनीहरूले परिवार र छिमेकीलाई पनि संक्रमित गराउने सम्भावना उत्तिकै बढेको आलमले बताए ।

सुनसरीका १२ स्थानीय तहमध्ये कोसी, हरिनगरा, देवानगन्ज, बर्जु र गढी गाउँपालिकासँग भारतीय सिमाना जोडिएका छन् । खुला सिमानाबाट लुकीछिपी हुने मानवीय आवागमन रोक्न प्रशासनले भन्टाबारी, लौकी, श्रीपुर, लाही, देवानगन्ज, कप्तानगन्ज, साहेवगन्ज, अमडुवा, बसन्तपुर, भोक्राहा नरसिंहाको उल्टीमा बीओपी स्थापना गरेको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने, ‘यीबाहेक अन्य ससाना १३ नाकाहरूमा पनि फरवार्ड बेसक्याम्प राखेका छौं । महामारीका बेला खुला सिमानाको फाइदा उठाएर एक जना पनि सीमापारिबाट प्रवेश गर्न नसकून् भनेर सशस्त्र प्रहरी तैनाथ गरिएको छ,’ उनले थपे, ‘संक्रमितको संख्या बढ्ने क्रम तीव्र भएको छ ।

सीमावर्ती क्षेत्र भुटाहामा ५० बेड, इनरुवा नगरपालिकामा सय बेडको कोभिड अस्पताल, भोक्राहामा आइसोलेसन सेन्टर, इटहरी उपमहानगरमा ५० बेडको र दुहबी नगरपालिकामा ४३ बेडको आइसोलेसन सेन्टर बनिरहेका छन् ।’

प्रकाशित : वैशाख २४, २०७८ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?