संखुवासभामा व्यवसाय वैशाख मसान्तसम्म बन्द- प्रदेश १ - कान्तिपुर समाचार

संखुवासभामा व्यवसाय वैशाख मसान्तसम्म बन्द

कान्तिपुर संवाददाता

संखुवासभा — सदरमुकामका पसल व्यवसाय बुधबारबाट पूर्णरूपमा बन्द गरिएको छ । कोरोना संक्रमणको जोखिम बढेपछि संखुवासभा उद्योग वाणिज्य संघले वैशाख २२ देखि ३१ सम्म खाँदबारी र आसपासका बजार क्षेत्रमा भएका पसल व्यवसाय बन्द गरेको हो । 

संघले औषधि पसल भने २४ घण्टा सञ्चालन गरिने जनाएको छ । खाद्यान्न पसलहरू बिहान ६ देखि ९ र बेलुकी ४ देखि ६ बजेसम्म स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने र साप्ताहिक हाटबजारमा आउने सागसब्जीलाई बजार घुमाएर बिक्री गर्नुपर्ने संघले जनाएको छ ।

त्यस्तै, खाँदबारी नगरपालिकाले नगरक्षेत्रभित्र लाग्ने साप्ताहिक हाटबजार पूर्णरूपमा बन्द गरेको छ । शुक्रबार, शनिबार र बुधबार लाग्ने साप्ताहिक हाटबजारमा भीडभाड धेरै भएको भन्दै नगरपालिकाले बन्द गरेको हो ।

खाँदबारीमा अटेरीपनका कारण कोरोनाको जोखिम बढ्दो छ । पसल व्यवसाय बन्द भए पनि यातायात भने निर्बाध रूपमा सञ्चालनमा छन् । सहरका विभिन्न स्थानबाट घर फर्किनेहरू बढेका छन् । जिल्ला प्रशासन कार्यालयले अहिले नै निषेधाज्ञा लगाउने केही तयारी नभएको जनाएको छ । संखुवासभामा चैत १९ यता ६६ जना संक्रमित भइसकेका छन् ।

प्रकाशित : वैशाख २३, २०७८ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्

चन्द्रपुरमा व्यवसायी आफैंले बन्द गरे पसल

संक्रमण बढेकाले बजार पूर्णतः बन्द गर्नुपर्ने व्यवसायीको भनाइ
शिव पुरी

रौतहट — जिल्लामा पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेपछि व्यवसायी आफैंले पसल बन्द गर्न थालेका छन् । चन्द्रपुर नगरपालिका–४ स्थित कपडा तथा फेन्सी व्यवसायीले पसल बन्द गरेका हुन् । यस नगरपालिकामा ३४ जनामा संक्रमण पुष्टि भइसकेको छ । 

चपुर बजार फाइल तस्बिर

संक्रमण बढ्न थालेपछि आमनागरिकलाई कोरोना जोखिमबाट जोगाउन पसलहरू बन्द गरेको कपडा तथा फेन्सी व्यवसायी संघ चन्द्रनिगाहपुरका अध्यक्ष श्रीराम न्यौपाने बताए । ‘पसलमा दिनहुँ मानिसको भीड लाग्न थाल्यो । संक्रमण पनि त्यहीअनुसार बढ्दै गएको छ,’ उनले भने, ‘यस्तो अवस्थामा झनै जोखिम हुन्छ । त्यही भएर सल्लाहमै पसलहरू बन्द गराएका हौ ।’ हाललाई वैशाख मसान्तसम्म बन्द गरिएको हो ।

नगरपालिका र स्थानीय प्रशासनले बन्द गराउनुपर्नेमा सम्बन्धित निकायले चासो नदेखाएको व्यवसायीको गुनासो छ । सरकारले संक्रमणका अवस्था हेरी निषेधाज्ञासहित बन्द गर्ने सम्पूर्ण अधिकार प्रशासन र स्थानीय तहलाई दिइएको छ । तर चन्द्रपुरले हाटबजार मात्र बन्द गर्न आग्रह गरेको छ । बजार चोकका पसलमा दिनहुँ भीडभाड हुने गरेको छ । यसतर्फर् नगरपालिकाले चासो नदेखाएको व्यवसायीहरूको भनाइ छ ।

यस्तै, जिल्लास्थित सरकारी कार्यालयहरू पनि धमाधम बन्द गर्न थालिएको छ । संक्रमण बढ्न थालेपछि भीडभाड हुने मालपोत कार्यालय गौर र गरुडा बन्द भएका हुन् । यी दुवै कार्यालयमा सेवाग्राहीको भीड लाग्थ्यो । चन्द्रपुरले नगरपालिका र सबै वडाहरू बन्द गरेको छ ।

संक्रमण बढ्न नदिन कार्यालय बन्द गर्नुपरेको मेयर रामचन्द्र चौधरीले सुनाए । मौलापुर, चन्द्रनिगाहपुरमा रहेको मालपोत कार्यालय भने सुचारु छन् । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अवस्था हेरेर कार्यालयहरू बन्द गर्ने जनाए ।

‘पहिलो चरणमा जिल्लाभरिका सबै हाटबजारहरू बन्द गराएका छौं,’ उनले भने, ‘संक्रमणको अवस्था हेरेर विस्तारै सबै कार्यालय बन्द गराउँछौं ।’ जिल्लामा बुधबारसम्म १ सय ६५ जनामा संक्रमण पुष्टि भइसकेको छ । २ जनाको मृत्यु भएको छ । जिल्लामा बन्द भएका आइसोलेसन धमाधम सञ्चालन गर्न थालिएको प्रशासनले जनायो । अहिले अधिकांश संक्रमितहरू घरमै बसेका छन् । उनीहरूको अवस्था सामान्य छ ।

प्रकाशित : वैशाख २३, २०७८ ११:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×