कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

प्रदेश १ मा संक्रमण दर बढेको बढ्यै

६ दिनमा २८ जनाको मृत्यु , बुधबार मात्रै ४३.६८ प्रतिशत संक्रमित, सोलुखुम्बुमा भने संक्रमण शून्य
देवनारायण साह

विराटनगर — प्रदेश १ मा दैनिक कोरोना संक्रमण र संक्रमितको मृत्यु दर बढ्दै गएको छ । वैशाख १७ गते संक्रमण दर ३३ दशमलव ३० प्रतिशतबाट दैनिक क्रमिक रूपमा बढ्दै गएर २२ गतेसम्ममा ४३ दशमलव ६८ प्रतिशत पुगेको छ ।

प्रदेश १ मा संक्रमण दर बढेको बढ्यै

संक्रमणसँगै कोरोना संक्रमितको मृत्युदर पनि बढ्दै गएको छ । वैशाख १७ गतेदेखि २२ गतेसम्म ६ दिनको अवधिमा २८ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

वैशाख १७ गते पीसीआर परीक्षण गरिएका ८ सय ७४ जनामध्ये २ सय ९१ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको तथ्यांकले जनाएको छ । वैशाख १८ गते पीसीआर परीक्षण गरिएका ७२५ मध्ये २ सय ६६ अर्थात् ३६ दशमलव ६७ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो ।

यस्तै, वैशाख १८ गते परीक्षण गरिएका ९ सय ७८ जनामध्ये ४ सय १७ अर्थात् ४२ दशमलव ६४ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो । वैशाख २० गते परीक्षण गरिएका १ हजार ३ सय ३० जनामध्ये ६ सय ७ अर्थात् ४५ दशमलव ६४ प्रतिशतमा र वैशाख २१ गते परीक्षण गरिएका १ हजार ३ सय १६ जनामध्ये ६ सय ११ अर्थात् ४६ दशमलव ४३ प्रतिशतमा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकले जनाएको छ ।

वैशाख २२ गते परीक्षण गरिएको १ हजार ३ सय २१ मध्ये ५ सय ७७ अर्थात् ४३ दशमलव ६८ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । यस प्रदेशमा पछिल्लो समय दैनिक पीसीआर परीक्षणको संख्यासँगै संक्रमण दरसमेत बढ्दै गएको छ । बढ्दै गएको संक्रमणको ‘चेन ब्रेक’ गर्न सुनसरी, मोरङ र ताप्लेजुङ जिल्ला प्रशासनले निषेधाज्ञा लगाएको छ । तर निषेधाज्ञा उल्लंघन गर्ने प्रवृत्ति बढिरहेकाले चेन ब्रेकमा समस्या भएको चिकित्सकको भनाइ छ ।

कोसी अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट डा. चुमनलाल दासले यस प्रदेशमा बढ्दै गएको संक्रमणको चेन ब्रेक गर्नका लागि सबैलाई आ–आफ्नो घरमा न्यूनतम १० दिन बस्नुको विकल्प नभएको बताए । यसका साथै बाहिरबाट आएकाहरूलाई क्वारेन्टाइनमा राखेर प्रदेशमा बढ्दै गएको संक्रमणको चेन ब्रेक गर्नुको विकल्प नभएको उनको भनाइ थियो । दोस्रो चरणको कोरोनाको लहरमा यस प्रदेशमा बुधबारसम्ममा १ हजार ८ सय ४५ महिला र २ हजार ६ सय ८३ पुरुष गरी कुल ४ हजार ५ सय २८ जना संक्रमित भएका छन् ।

यस प्रदेशमा सबभन्दा बढी विराटनगर महानगरमा १ हजार ९६९ सहित मोरङमा २ हजार १८४, झापामा ९४४, सुनसरीमा ८२५, इलाम र तेह्रथुममा ५८/५८, धनकुटामा ५४, उदयपुरमा ५१, ओखलढुंगामा ४७, संखुवासभामा ४३, ताप्लेजुङमा २८, भोजपुरमा १३, खोटाङमा ११ र पाँचथरमा ५ जना र प्रदेश बाहिरका ३ सय संक्रमित छन् । सोलुखुम्बु अहिलेसम्म संक्रमितरहित जिल्लाका रूपमा रहेको मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये स्वास्थ्य अवस्था गम्भीर भएका ७५ जना विराट मेडिकल, ६३ जना नोबेल शिक्षण अस्पताल, ४२ जना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, ४० जना कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्र, १० जना मेची अस्पताल र ३ जना जिल्ला अस्पताल धनकुटामा उपचाररत छन् । ४ हजार २ सय ८९ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

धनकुटामा निषेधाज्ञा

धनकुटा– संक्रमणको जोखिम बढेपछि प्रशासनले बुधबार मध्यरातिदेखि लागू हुने गरी धनकुटा नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख मसान्तसम्मका लागि यो आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालका अनुसार तोकिएको समयबाहेक सबै व्यवसाय, निजी तथा सार्वजनिक सवारीसाधन बन्द रहनेछन् । अत्यावश्यक सामग्रीहरू, फोहोर बोक्ने, एम्बुलेन्स, प्रेसलगायतका साधन सञ्चालन अनुमति दिइनेछ ।

प्रकाशित : वैशाख २३, २०७८ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारलाई थाहै नदिई एनसेल बिक्री हुनुलाई के भन्नुहुन्छ ?