अचल सम्पत्तिमा महिलाको पहुँच बढ्दै

गत आर्थिक वर्षमा ताप्लेजुङ जिल्लाभर भएका १ हजार ४ सय ६३ मध्ये १ हजार ४३ रजिष्ट्रेसन महिलाका नाममा पास
आनन्द गौतम

ताप्लेजुङ — जिल्लाको उत्तरी फक्ताङलुङ गाउँपालिका ४ इखावुका दिलप्रसाद मावोहाङ लिम्बूले बिक्री गरेको जग्गा चन्द्रकुमारी साँवा लिम्बूको नाममा रजिस्ट्रेसन पास भयो । सदरमुकाम फुङलिङबाट झन्डै एक दिनको पैदलमा रहेको इखावुको जग्गा ४ लाख रुपैयाँको पास गरिएको थियो । 

अचल सम्पत्तिमा महिलाको पहुँच बढ्दै

रजिस्ट्रेसन गर्दाको राजस्व ८ हजार रुपैयाँ लाग्थ्यो । महिलाका नाममा पास भएकाले दुई हजार रुपैयाँ छुट भयो । त्यही दिन पूर्वको सिदिङवा गाउँपालिका ५ मेहेलेकी लिलादेवी कडरियाले बिक्री गरेको जग्गा संगीता कडरियाले खरिद गरिन् । ५ लाख १० हजार रुपैयाँमा रजिस्ट्रेसन पास गरिएको जग्गाको राजस्व ७ हजार ६ सय ५० रुपैयाँ लाग्यो । १ हजार १० रुपैयाँ राजस्व छुट भयो ।

सदरमुकाम फुङलिङको उकालीपानी छेउमा देवीमाया रिजालले २ आना जग्गा खरिद गरिन् । अम्बरबहादुर गुरुङबाट ५ लाख रुपैयाँमा लिइएको जग्गामा ५ हजार रुपैयाँ राजस्व छुट भयो । तर आफूले राजस्वभन्दा पनि आर्थिक परिचालनमा समान भूमिकाका लागि श्रीमतीका नाममा रजिस्ट्रेसन पास गरेको देवीमायाका श्रीमान् कैलाश बानियाँ बताउँछन् । ‘कृषि, व्यापारी फर्महरू उनको (देवीमाया) नाममा छ, व्यवसाय परिचालन गर्दा प्रोपर्टी देखाउनुपर्ने हुन्छ,’ कैलाशले भने, ‘त्यसका लागि पनि उनको नाममा पास गरेको हुँ ।’ होटल प्यारिजका सञ्चालक उनले होटलको फर्म पनि श्रीमतीकै नाममा भएकाले जग्गा पनि उनकै नाममा राखेको बताए ।

जडिबुटी र होटल व्यवसाय गर्ने उनी आफू बाहिर हिँडडुल गरिरहने भएकाले अचल सम्पत्ति महिलाका नाममा राख्नु उपयुक्त लागेको बताउँछन् । उनले भने, ‘मेरो नाममा भएको जमिन पनि उनको नाममा नामसारी गर्ने प्रक्रियामा छु ।’

उत्तरको इखावु, पूर्वको मेहेले र फुललिङ नगरपालिका मात्रै नभएर जिल्लाका अधिकांश जग्गा महिलाका नाममा रजिस्ट्रेसन पास भएको मालपोत कार्यालयको तथ्यांकमा छ । कार्यालयका नायब सुब्बा दीपक भट्टराई गत आर्थिक वर्षमा रजिस्ट्रेसन पास भएका १ हजार ४ सय ६३ मध्ये १ हजार ४३ रजिस्ट्रेसन महिलाका नाममा भएको बताउँछन् । यो ७० प्रतिशत बढी हो ।

अघिल्लो वर्ष २ हजार ४ सय १४ रजिस्ट्रेसनमध्ये १४ सय बढी महिलाको नाममा भएको भट्टराई बताउँछन । जग्गा रजिस्ट्रेसन फाँटकी दुर्गा भट्टराई महिलाको नाममा रजिस्ट्रेसन नभएको कुनै पनि दिन नहुने बताउँछिन् । ‘म यो फाँटमा बसेको ६ वर्ष लाग्यो, महिलाका नाममा मात्रै रजिस्ट्रेसन भएको दिनहरू त कत्ति छ कत्ति ।’ रजिस्ट्रेसन गर्नुअघि राजस्वको रसिद काट्दा महिला कि, पुरुषको नाममा पास हुँदै छ भन्ने याद हुने उनले बताइन् ।

पछिल्लो समय अचल सम्पत्तिमा पनि महिलाको पहुँच वृद्धि भएको लेखापढी व्यवसायी कृष्णमणि अधिकारी बताउँछन् । ‘मैले लेखापढी गर्न थालेको तीसौं वर्ष भयो,’ अधिकारीले भने, ‘जसले जे भने पनि महिलाका नाममा बढी लिखत पास हुनु सरकारले दिएको राजस्व छुट नै हो ।’

प्रकाशित : वैशाख २१, २०७८ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?