कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

प्रदेश १ मा ह्वात्तै बढे संक्रमित

‘नियन्त्रण गर्न दुई साता निषेधाज्ञा आवश्यक’
जितेन्द्र साह

विराटनगर — प्रदेश १ मा कोरोना संक्रमणको तीव्र विस्तार रोक्न विज्ञहरूले कम्तीमा दुई साता निषेधाज्ञा जारी राख्न सुझाव दिएका छन् । उनीहरूका अनुसार स्थिति गम्भीर बन्दै गइरहेकाले लापरबाही गरे ठूलै क्षति बेहोर्नुपर्ने हुन्छ ।

प्रदेश १ मा ह्वात्तै बढे संक्रमित

प्रदेश १ मा आइतबार ९ सय ७८ को परीक्षण गरिँदा ४ सय १७ जना (४२.६४ प्रतिशत) संक्रमित देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । शनिबारको तुलनामा यो झन्डै दोब्बर हो । थपिएकामध्ये २ सय ४२ (५८ प्रतिशत) मोरङका हुन् । यीमध्ये पनि २ सय (झन्डै ४८ प्रतिशत) विराटनगरका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा शनिबार ७ सय २५ को परीक्षण रिपोर्ट सार्वजनिक हुँदा मोरङमा ९१, सुनसरीमा ६८ र झापामा ७० गरी मात्र २ सय ६६ (३६.६८ प्रतिशत) संक्रमित थपिएका थिए । मोरङका संक्रमितमध्ये ८१ विराटनगरका थिए । शुक्रबारसम्म संक्रमण दर २९ प्रतिशत हाराहारीमा रहेको र शनिबारदेखि एक्कासि बढेको मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको दोस्रो चरणको जारी कहरमा यस प्रदेशमा संक्रमित हुनेको संख्या आइतबारसम्म २ हजार ७ सय ६९ पुगेको मन्त्रायले जनाएको छ ।

शुक्रबारसम्म मोरङमा १ हजार १ सय ५२, सुनसरीमा ३ सय ७७ र झापामा ३ सय ४४ संक्रमित गरी प्रदेशमा संक्रमितको संख्या २ हजार १ सय ४१ पुगेको थियो । दुई दिनमै ६ सय २८ संक्रमित थपिएको हो । जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेशप्रसाद मेहताले इमानदारीका साथ निषेधाज्ञा पालन गरेमा अझै पनि कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न सकिने अवस्था रहेको बताएका छन् ।

‘यसो गरेमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संक्रमितको सम्पर्कमा नआएपछि भाइरस फैलिन पाउँदैन,’ उनले भने, ‘दुई साताको अवधिमा धेरै संक्रमितसमेत निको भइसकेका हुन्छन् ।’ डा. मेहताका अनुसार सकेसम्म घरभित्र बस्दा संक्रमितबाट भाइरस फैलिने माध्यम थुक, खकार, सिँगान, र्‍याल र उनीहरूले जानी/नजानी प्रयोग गरेको वा छोएको वस्तुको सम्पर्कमा आउनबाट बच्छौं ।

द्रुत गतिमा फैलिइरहेको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि कम्तीमा दुई साता लाग्ने विज्ञहरूले भनिरहेको मोरङको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले दोहोर्‍याए । ‘निषेधाज्ञाको राम्ररी पालना भएमा पहिलो सातामै संक्रमण धेरै घट्ने अपेक्षासमेत गरिएको छ,’ उनले भने, ‘पहिलो साताको निषेधाज्ञाको परिणाम हेरेर दोस्रो साताको हकमा आदेश जारी हुन्छ ।’ अब पनि लापरबाही गरिए सुधार गर्न नसकिने स्थितिमा पुगिने प्रदेश १ सामाजिक विकास मन्त्रालयका विज्ञ डा. रवीन्द्र निरौलाले बताए । उनका अनुसार हरेकले जिम्मवार भएर जनस्वास्थ्य मापदण्डको पालना गरेमा प्रदेशमा भाइरस संक्रमणलाई रोक्न सकिने छ ।

सोमबार थपिए ६०७ संक्रमित

प्रदेश १ मा सोमबार ६०७ जना कोरोना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ३ हजार ३५७ पुगेको छ । संक्रमित आइतबारभन्दा एक सय ९० जनाले बढी हो । जसमा विराटनगर महानगरमा ९७ महिला र १२९ पुरुषसहित २२६ संक्रमित छन् । महानगरमा सक्रिय संक्रमितको संख्या १ हजार ६ सय २२ पुगेको छ । प्रदेशभरिमा रहेका सक्रिय संक्रमितमध्ये आधा संख्या महानगरमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङमा २८२, झापामा १५१, सुनसरीमा १०१, उदयपुरमा ११, धनकुटामा ८, इलाममा ७, संखुवासभामा ६, खोटाङमा ३, पााचथर, ताप्लेजुङ, तेह्रथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ३४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मोरङको सुन्दरहैचामा २०, जहदामा ७, बूढीगंगा र उर्लाबारीमा ५–५, कटहरीमा ४, पथरीशनिश्चरे र बेलबारीमा ३–३, लेटाङ, रंगेली र सुनवर्षीमा २–२, धनपालथान, ग्रामथान र स्थानीय तह नखुलेका १–१, झापाको बिर्तामोडमा ४०, दमकमा २८, भद्रपुरमा २४, अर्जुनधारा, मेचीनगर र गौरादहमा ११–११, कनकाईमा १०, कमल गाउँपालिकामा ६, शिवसताक्षी, बुद्धशान्ति, हल्दिबारी र बाह्रदशीमा २–२, गौरीगन्ज र झापा गाउँपालिकामा १–१ जना संक्रमित थपिएका छन् ।

सुनसरीको इटहरीमा ३७, धरानमा ३१, इनरुवामा १६, रामधुनी र बर्जुमा ४–४, दुहवी र गढीमा ३–३, बराहक्षेत्रमा २ र हरिनगरमा १, उदयपुरको त्रियुगामा ४, चौदण्डीगढीमा ३, उदयपुरगढी र बेलकामा २–२, धनकुटाको धनकुटा नगरपालिकामा ५, छथर, सहिदभूमि र साँघुरीगढीमा १–१, संखुवासभाको खाँदबारीमा ६, इलामको रोङमा ४, माई, इलाम र सन्दकपुरमा १–१, खोटाङको साकेलामा २, बराहपोखरीमा १, पाँचथरको फिदिममा १, ताप्लेजुङको फुङलिङमा १, तेह्रथुम र भोजपुरमा १–१, जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३३ हजार ९४१ पुगेको छ । प्रदेश १ मा सोमबार पीसीआर परीक्षण गरिएका १ हजार ३३० जनामध्ये २७७ महिला र ३३० पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयको तथ्यांकले जनाएको छ ।

३५९ सवारी नियन्त्रणमा

कोरोना संक्रमण नियन्त्रण गर्न विराटनगर महानगर र आसपास क्षेत्रमा जिल्ला प्रशासन कार्यालय मोरङले लगाएको निषेधाज्ञाको दोस्रो दिन उल्लंघन गर्ने ३ सय ५९ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगर क्षेत्रमा निषेधाज्ञा उल्लंघन गरी चलाएका ९४ सिटी र अटो रिक्सालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी मोरङमा राखिएको जिल्ला ट्राफिक प्रहरी मोरङका प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले बताए । बाँकी २ सय ६५ वटा मोटरसाइकल, ट्याक्टर, टेम्पोलाई केही समय नियन्त्रणमा लिएर सम्झाइबुझाई गरी छाडिएको उनले बताए ।

जिल्ला प्रहरी मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले नियन्त्रणमा रहेका सिटी र अटो रिक्सालाई जिल्ला संकट व्यवस्थापन समितिको निर्णयअनुसार कारबाही गरिने बताए ।

निषेधाज्ञाको दोस्रो दिन विराटनगर बजार क्षेत्रका पसलहरू व्यवसायीहरूले लुकीछिपी खोलेकाले सर्वसाधारणको चहलपहल बढेको थियो । प्रहरी नायब उपरीक्षक राईले कोरोना संक्रमणको चेन ब्रेक गर्न सर्वसाधारणको चहलपहल रोक्नुको विकल्प नभएकाले पसल खोल्नेलाई मंगलबारदेखि कारबाही गर्ने प्रतिबद्धता जनाए ।

विराटनगर महानगर, बूढीगंगा र जहदा गाउँपालिकाभरि र कटहरी गाउँपालिकाको १ देखि ४ वडामा अत्यावश्यक कामबाहेकका आवागमनमा रोक लगाइएको छ । तर मोटरसाइकल, निजी सवारी साधन, अटो रिक्सा, टेम्पोलगायत सवारी साधन दिनभरि चल्यो । बजारमा पनि सर्वसाधारण अनावश्यक भीडभाड गरेकाले निषेधाज्ञा पूर्ण रूपमा पालन भएको छैन ।

प्रकाशित : वैशाख २१, २०७८ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?