कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोराना जोखिमले पर्यटन क्षेत्र प्रभावित

जिल्लाका होटल, यातायात र कोसेली घर सुनसान
विप्लव भट्टराई

इलाम — अघिल्लो वर्षको कोरोनाका कारण थलिएको पर्यटन व्यवसाय तङ्ग्रिन नपाउँदै फेरि नराम्ररी प्रभावित भएको छ । आन्तरिक पर्यटकले भरिन थालेका कन्याम, अन्तु, माइपोखरी, पानीटारलगायत क्षेत्र सुनसान हुन थालेका हुन् ।

कोराना जोखिमले पर्यटन क्षेत्र प्रभावित

पर्यटक नआउँदा होटल व्यवसायीदेखि कोसेलीघर, यातायात व्यवसायी, मजदुरलगायत सबैमा प्रत्यक्ष असर देखिएको हो ।

लामो समयको सन्नाटापछि गएको दसैंदेखि कन्याम र अन्तुमा पर्यटक आउन थालेका थिए । बैंकको किस्तासमेत तिर्न हम्मे परेको गुनासो गर्ने व्यवसायीले छोटो समयमा नै राम्रो पुनरागमन गरे पनि कोरोनाको दोस्रो लहरसँगै पर्यटक आवागमन पुनः कम हुँदा नोक्सानी व्यहोर्नुपर्ने अवस्था आएको हो ।

‘कोसेली घरमा सब्जी बिक्री गरेरै दैनिक एक लाख रुपैयाँसम्मको कारोबार हुन्थ्यो,’ कन्याम छेउ हर्कटेकी व्यवसायी हेमु भुजेलले भनिन्, ‘गएको शनिबारदेखि आन्तरिक पर्यटक कम आउन थालेपछि कारोबार ह्वात्तै घटेको छ ।’ पूर्वको पाथीभरदेखि फिक्कल क्षेत्रमा तरकारी बिक्रीका झन्डै दुई सय कोसेली घर छन् । घुमघामका लागि आउने पर्यटकले चिया, छुर्पी, ललिपप, सागसब्जीलगायत खरिद गरेर लैजाने गर्छन् । यसको प्रत्यक्ष फाइदा ग्रामीण क्षेत्रका उद्यमी र कृषकलाई पुग्ने गरेको छ ।

कन्यामका झन्डै एक सय घोडा व्यवसायी, अन्तुलगायतका दर्जनौं होमस्टे पनि पर्यटक आवागमन न्यून हुँदै जाँदा प्रत्यक्ष मारमा परेका छन् । ‘अघिल्लो वर्ष पनि राज्य तहबाट राहत महसुस हुने गरी छुट पाइएन,’ उनले थपे, ‘कृषि बैंकले सहुलियत कर्जा दिए पनि अरू बैंकले नदिँदा नोक्सानी अनुसारको प्रतिफल लिन सकिएन ।’

जिल्लामा ४ सय ५० वटा होटल रहेको तथ्यांक छ । जहाँ २ हजार ३ सय जनाले रोजगार पाएका छन् । अघिल्लो वर्षको कोभिडपछि ६० प्रतिशत होटल पुनः सञ्चालनमा आएका थिए । ‘यही अवस्था रहेमा होटल कामदार फेरि कटौती गर्नुपर्ने बाध्यता आउने छ,’ होटल व्यवसायी संघ इलामका अध्यक्ष देवी पौडेलले भने, ‘धार्मिक, शैक्षिक, सहकारी र कृषि क्षेत्रको भ्रमणका लागि आउने पर्यटकको संख्या न्यून भएपछि होटलमा प्रत्यक्ष असर देखिएको हो ।’

जिल्लामा अघिल्लो वर्ष प्रतिमहिना ७२ करोड रुपैयाँ घाटा भएको संघको भनाइ छ । जिल्लामा ३ देखि ५ लाख रुपैयाँ लगानीका २ सय वटा, १० देखि २० लाख लगानीका १ सय ९० वटा र १ करोडदेखि १० करोड रुपैयाँसम्म लगानी भएका ६० वटा होटल छन् ।

कोरोना माहामारीका कारण यातायात क्षेत्र पनि उत्तिकै प्रताडित बनेको छ । जिल्लाभर र बाहिर दैनिक रूपमा चल्ने करिब ५ सय यात्रुवाहक साना सवारीमध्ये ५० प्रतिशत मात्र सञ्चालनमा रहेको पूर्वेली जिप तथा ट्याक्सी यातायात सेवाका कार्यकारी सचिव सुमन काफ्ले जानकारी दिए ।

प्रकाशित : वैशाख १७, २०७८ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?