दिक्तेल बजारका सडक बत्ती बिग्रिए

डम्बरसिं राई

खोटाङ — करोड बढी खर्च गरी जडान गरिएका दिक्तेल बजारका सडक बत्ती बल्न छाडेपछि चौतर्फी विरोध सुरु भएको छ । अघिल्लो आर्थिक वर्षमा जडान गरिएका सडक बत्ती वर्षदिन पनि नटिकेपछि विरोध भएको हो ।

दिक्तेल बजारका सडक बत्ती बिग्रिए

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको एक करोड १५ लाख रुपैयाँको लागतमा दिक्तेल बजारमा एक सय ५० वटा सोलार बत्ती जडान गरिएको थियो । बत्ती जडानका लागि ललितपुरको विराट इनर्जीले ठेक्का लिएको थियो ।

खोटाङ उद्योग वाणिज्य संघ दिक्तेलका महासचिव मनोज बजिमयका अनुसार दिक्तेलमा जडान गरिएका धेरैजसो सोलार बत्ती बल्दैनन् । रत्नपार्क क्षेत्रमा जडान गरिएको दुई दिनमै बत्ती बल्न छाडेको बजिमयले बताए । ‘नगरपालिकाको अनुगमन प्रभावकारी छैन,’ बजिमयले भने, ‘अनुगमन अभावले समस्या आएको हो ।’

हाटडाँडा क्षेत्रमा पनि बत्ती नबलेको स्थानीय भोजकुमार बस्नेतले बताए । त्रिवेणीचोक, भवन गैह्रालगायतका ठाउँहरूमा पनि सडक बत्ती नबलेको खोटाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष समुद्रप्रसाद जोशीले बताए । भने, ‘यसबारेमा नगरलाई जानकारी हुँदाहुँदै पनि बेवास्ता गरेको छ ।’ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले भने ठाउँठाउँको बत्तीको फ्युज गएकाले नबलेको बताए । रिजालले भने, ‘सम्बन्धित कम्पनीको मान्छे आएर अनुगमन गरेर गएका छन्, अब केही दिनमै बल्छ ।’

दिक्तेलमा जडान गरिएको सीसी क्यामेरा पनि बन्द छ । दुई वर्षअघि दिक्तेलका आठ ठाउँमा जडान गरिएको १६ वटा सीसी क्यामेराले काम गर्न छोडेको छ । सदरमुकामको शान्ति सुरक्षालाई मध्यनजर गर्दै करिब १० लाख रुपैयाँ लागतमा जडान गरिएका सीसी क्यामेराले अघिल्लो वर्षबाटै काम गर्न छोडेको हो । उक्त कामको ठेक्का हाइटेक आईटी सोलुसन काठमाडौंले लिएको थियो ।

प्रकाशित : वैशाख १२, २०७८ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?