कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सरकारी जग्गाबारे मन्त्रालय नै बेखबर

धनकुटा — धनकुटाको हिले बजार नजिक टिमुरेमा पर्यटन मन्त्रालय मातहतको १ सय ३२ रोपनी जग्गा छ । चार दशकअघि किनिएको जग्गाबारे पर्यटन मन्त्रालय नै अनभिज्ञ छ । कुन जिल्लामा कति जग्गा छ भन्नेमा मन्त्रालय बेखबर छ ।

प्रदेश १ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका पर्यटन शाखा प्रमुख शम्भु साहले हिलेमा रहेको उक्त जग्गाबारे हालसम्म जानकारीमा नआएको बताए । साहले पहिलेका कर्मचारीले जग्गाबारेको फाइल नबुझाउँदा थाहा नपाएको बताए । साहले भौतिक संरचना कति छ भन्ने जानकारी लिन जरुरी रहेको स्वीकार गरे ।

पर्यटन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी निरोज कट्टेलले पनि जग्गाबारे कार्यालयमा अभिलेख नभएको बताए । उनले विगतमा पर्यटन कार्यालय संघ र प्रदेश कहाँ रहने भन्नेबारे अन्योल रहेकाले आवश्यक तथ्यांक तथा जग्गाबारेको जानकारी नरहेको बताए ।

उक्त जग्गामा पूर्वाधारको काम नभएपछि स्थानीयले चासो राखेका छन् । हिलेका होटल तथा पर्यटन व्यवसायीले मन्त्रालयलाई उक्त जग्गाबारे जानकारी गराएको बताए । पर्यटन पूर्वाधारका लागि ध्यानाकर्षण गराएको हिले पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विकास संस्थाका अध्यक्ष खगेन्द्र विष्टले जानकारी दिए । हिले बजारसँगै जोडिएको टिमुरेडाँडास्थित खेल मैदान नजिकैको उक्त जग्गा वर्षौंसम्म अलपत्र अवस्थामा रहेको छ । ‘जुन उद्देश्यले खरिद गरिएको हो त्यसअनुसार पूर्वाधारका काम गर्नै ढिलाइ गरिएको छ,’ विष्टले भने, ‘हामीले जानकारी गराए पनि तारबारसमेत गरिएको छैन ।’ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष उमेश घिमिरेका अनुसार पर्यटन मन्त्रालयले काँकडभिट्टास्थित पर्यटन कार्यालयमार्फत जग्गा संरक्षणका लागि विगतमा चासो राखेको बताए ।

त्यसपछि जग्गा संरक्षणको पहलसमेत भएको छैन । २०३४ मा पर्यटन तथा संस्कृति मन्त्रालयको नाममा १ सय ३२ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । उक्त जग्गामा मन्त्रालयले स्थानीय पर्यटनसम्बन्धी गतिविधि गर्दै आएका संस्था तथा व्यवसायीसँग समन्वय गर्नुपर्ने पर्यटन व्यवसायीको भनाइ छ । उक्त स्थानमा जातीय पहिचान खुल्ने प्रकारको संग्रहालय खोल्ने तथा भ्युटावर निर्माण गर्न सकिने योजना अघि सारिएको जनाइएको छ । वर्षौंदेखि बेवारिसे अवस्थामा छोडिएका कारण उक्त जग्गामा अतिक्रमण बढ्दै गएको पर्यटन व्यवसायी तथा शान्ति समितिका अध्यक्ष लालचन्द्र गोङ्बाले बताए ।

प्रकाशित : वैशाख ९, २०७८ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?