कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

आदेश अवज्ञा गर्दै कार्यक्रम

सरकारले सार्वजनिक सभा, सम्मेलन तथा कार्यक्रम नगर्न भने पनि हुने क्रम रोकिएको छैन । जसमा सांसद, जनप्रतिनिधि, उद्योगी, व्यवसायीकै पनि उपस्थिति रहने गरेको छ ।
देवनारायण साह

मोरङ — मानव सेवा आश्रमले मंगलबार विराटनगरस्थित एक होटलमा ‘मिट एन्ड ग्रिट प्रोग्राम, न्यु इयर सेलिब्रेसन’ को आयोजना गर्‍यो । कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले सोमबार मात्रै वैशाखभरिका लागि सभा, सम्मेलन, शैक्षिक संस्था र अन्य भीडभाड हुने गतिविधिमा रोक लगाएको थियो ।

सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुनसमेत नपाइने मापदण्ड लागू गरिएको छ । तर त्यसको भोलिपल्टै भएको यो कार्यक्रममा प्रदेश सांसद, विराटनगर महानगर प्रमुख भीम पराजुली, उपप्रमुख इन्दिरा कार्की, उद्योगी व्यवसायीसहित सयौंको उपस्थिति थियो ।

महानगर र प्रदेश १ मै संक्रमितको संख्या बढिरहेका बेला नियामक निकायका प्रमुख नै यसरी भीडभाडमा निर्धक्क उपस्थित भएका हुन् । विराटनगर महानगरमा मंगलबार मात्रै ४७ जनामा संक्रमण पुष्टि भएको थियो । सामाजिक विकास मन्त्रालयका अनुसार महानगरमा सक्रिय संक्रमितको संख्या १ सय ३८ पुगेको छ । प्रदेश १ मा मंगलबार ९७ जना संक्रमित थपिए । जसमध्ये मोरङमा सर्वाधिक ५५ जनामा संक्रमण देखिएको छ । प्रदेशभर सक्रिय संक्रमित ४ सय ४ जना पुगेका छन् ।

छिमेकी मुलुक भारतमा दोस्रो लहरको संक्रमण तीव्र गतिमा फैलिरहे पनि यहाँका सीमा क्षेत्रमा अनियन्त्रित आवागमन हटेको छैन । यसले संक्रमणको जोखिम झन् बढाएको छ । विराटनगरस्थित विराटनगर जुट मिलको दक्षिण गेट, दरैहया बस्ती, मटेरुवा, इस्लामपुरलगायत चोरी बाटो हुँदै दशगजा क्षेत्रबाट भारत आउने–जाने क्रम रोकिएको छैन । सीमावर्ती भारतीय बजार जोगबनीमा दैनिक हजारौं व्यक्ति दैनिक उपभोग्य सामग्री किनमेल गर्न जाने गरेको स्थानीय सन्जोग श्रेष्ठले बताए । ‘यस्तो अवस्थामा संक्रमण विस्तार भयावह बन्ने निश्चित छ,’ उनले भने ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले सीमा क्षेत्रमा भइरहेको अनियन्त्रित आवागमन रोक्ने बताउँदै आए पनि कार्यान्वयन भएको देखिँदैन । उनले तत्काल सीमा क्षेत्रमा भइरहेको अव्यवस्थित आवागमन रोक्न सुरक्षाकर्मीलाई निर्देशन दिएको बताए । सामाजिक विकासमन्त्री उषाकला राईले चैत महिनाभित्रै प्रदेशस्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट समितिको बैठक बसेर सीमा क्षेत्रमा भइरहेको अव्यवस्थित आवागमनलाई नियन्त्रणका साथै दोस्रो लहरको कारोना संक्रमण नियन्त्रणका लागि रणनीति तय गर्ने बताए पनि बैठक बस्न नसकेको बताइन् । उक्त समितिका संयोजक मुख्यमन्त्री शेरधन राई सरकारको बचाउमा लागेकाले बैठकका लागि समय नदिएको मन्त्रालय स्रोत बताउँछ ।

विराटनगर महानगरले रानी नाका हुँदै नेपालतर्फ प्रवेश गर्नेलाई हेल्थ डेस्कमा एन्टिजेन परीक्षण गरेर मात्रै आउन दिएको छ । तर एन्टिजेन परीक्षणमा ‘पोजिटिभ’ देखिएका विराटनगरबाहिरका व्यक्तिहरूको व्यवस्थापनका लागि भने कुनै ठोस व्यवस्था गरिएको छैन । त्यस्ता व्यक्तिलाई आफैं घरसम्म पुगेर होम क्वारेन्टाइनमा बस्न भन्दै पठाउने गरिएको हेल्थ डेस्कमा खटिएका एक स्वास्थ्यकर्मीले बताए ।

‘महानगरभित्र कोरोना संक्रमणको अवस्था भयावह भए पनि सुरक्षात्मक उपाय अपनाएको छैन,’ महानगर स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले भने, ‘एकातिर सीमा क्षेत्रमा अव्यवस्थित रूपमा सर्वसाधारणको भारत–नेपाल आवागमन भइरहेको छ भने अर्कोतिर बजारमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएको देखिँदैन ।’

उनले विराटनगरस्थित बजार तथा पसलमा किनमेल गर्न आउने सेवाग्राहीहरूको घुइँचो पनि उस्तै रहेको बताए । ‘एक वर्षदेखिको कोरोना महामारीबाट बच्न भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, साबुनपानीले हातले धुनेजस्ता सुरक्षात्मक उपायबारे सबै जानकार भइसकेका छन्,’ उनले भने, ‘तर यस्ता उपाय कसैले अवलम्बन नगरेको देख्दा अचम्म लाग्छ ।’ यहाँका उद्योगी, व्यवसायीहरूले पनि पसल, उद्योगमा भइरहेको भीडभाड नियन्त्रणमा चासो नदिनु दुर्भाग्य भएको उनको भनाइ छ । विराटनगर महानगर उपप्रमुख इन्दिरा कार्कीले चाँडै बजारमा भइरहेको अनावश्यक भीडभाड नियन्त्रणका लागि दैनिक अनुगमन गर्ने प्रतिबद्धता जनाइन् ।

प्रकाशित : वैशाख ८, २०७८ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?