१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

हातखुट्टा गुमाए तर हरेस खाएनन्

जितेन्द्र साह

विराटनगर — हातखुट्टा दुरुस्त भएकालाई सवारीसाधन चलाउन असहज हुँदैन । तर एउटा हात वा एउटा खुट्टा गुमाएकालाई सम्भव होला ? तीनटोलिया बस्ने मोरङको जहदा गाउँपालिका–७ का ५२ वर्षीय चन्द्रकिशोर मण्डलको दाहिने हात छैन । तर जीवन निर्वाहका लागि उनी विद्युतीय रिक्सा (ई–रिक्सा) चलाइरहेका छन् ।

हातखुट्टा गुमाए तर हरेस खाएनन्

दुर्घटनामा हात गुमाएका मण्डल चार वर्षदेखि ई–रिक्सा गुडाइरहेका छन् । खर्च कटाएर दिनको औसतमा ६ सय रुपैयाँ बचत पनि गर्छन् । ई–रिक्सा चलाउनुअघि झन्डै दुई दशकसम्म मण्डलले मोटर ग्यारेज सञ्चालन गरे । १९ वटा पाइडल रिक्सा पनि थिए, जुन किस्तामा दिएर राम्रै कमाइ गर्थे । एक दिन ट्र्याक्टरको टायर मर्मत गर्ने क्रममा मण्डलको दाहिने हातमा चोट लाग्यो । डेढ महिनाको उपचारपछि उनी घर त फर्किए तर हात गुमाएर ।

कामदार राखेर पनि चलाउन नसकेपछि ग्यारेज छाडे । एक वर्ष बेरोजगार रहे । पछि रामबहादुर लुइँटेल र प्रहरी हवल्दार विष्णु कटुवालको सहयोगमा ई–रिक्सा किने । उनका अढाई वर्षीय छोरा रामदयालको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भयो । साढे सात वर्षको हुँदा जेठो छोरा दीनदयालको पनि पोखरीमै डुबेर ज्यान गएको थियो । कान्छो छोरा १८ वर्षका भए, तर कक्षा ८ सम्म मात्रै पढाउन सके । उनी अचेल भारततिर भासिएका छन् । तीन छोरीको पनि भारत, बिहारमा बिहे गरिदिएका छन् । श्रीमती रेखादेवी गाउँमै खेतीपाती गर्ने र मुरी (भुजा) भुटेर घरघरमा लगेर बेच्छिन् ।

‘अन्तिम सास रहुन्जेल संघर्ष गर्नुपर्छ, जस्तोसुकै परिस्थितिमा पनि हार खानु हुन्न, यति भएपछि कहिल्यै दुःखी हुनु पर्दैन,’ मण्डलले भने, ‘श्रीमती पनि संघर्षशील भएकाले बाँच्ने आँट आएको हो, सफारी कुदाउने क्रममा दिनभर थरीथरीका यात्रुसँग भेट र गफ भइरहने हुनाले मन हल्का हुन्छ, पीडा कम हुन्छ ।’
रामबहादुर लिम्बू ।

३७ वर्षदेखि विराटनगर बस्दै आएका रामबहादुर लिम्बूको पनि उस्तै कथा छ । दाहिने खुट्टा गुमाएपछि सुरुमा साइकल मर्मत गर्ने काममा लागे । अचेल दैनिक किस्ता बुझाउने गरी तीन महिनादेखि ई–रिक्सा चलाइरहेका छन् । सहरमा मोटरसाइकल र स्कुटी चढ्ने बढ्दै गए, सिटी सफारी भित्रिएपछि पाइडल रिक्सा र साइकल पनि कम हुँदै गए । पञ्चर बनाउन आउने ग्राहक घटेर आम्दानी हुन छाडेपछि पेसा परिवर्तन गरेर ई–रिक्सा चलाइरहेको उनले बताए ।

‘सबै खर्च काटेर दैनिक कम्तीमा ४/५ सय रुपैयाँ बचत हुन्छ,’ उनले भने । १४/१५ वर्षकै उमेरमा धनकुटामा केही वर्ष सडक मजदुरी गरेपछि लिम्बू विराटनगर झरेका हुन् । सुरुमा गाडीमा सहयोगीको काम गरे । ६ वर्ष जति पाइडल रिक्सा चलाए । २०४७ तिर उनको खुट्टाको कान्छी औंलामा घाउ भएको थियो । क्यान्सर भएर शरीरभर फैलिन सक्न भन्दै कोसी अस्पतालका चिकित्सकले २०४९ मा शल्यक्रियापछि दाहिने खुट्टा काटिदिएको उनले सुनाए ।

राष्ट्रिय अपांग महासंघ प्रदेश १ समितिका अनुसार मोरङमा विभिन्न वर्गका १७ हजार ५३ जना अपांगता भएका मानिस छन् । कर्मक्षेत्रमा लागेका मण्डल र लिम्बू उदाहरणीय बनेको महासंघका कार्यक्रम अधिकृत विमल बस्नेत बताउँछन् ।

प्रकाशित : वैशाख ८, २०७८ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?