हाइभोल्टेजका कारण मृत्यु हुनेलाई क्षतिपूर्ति- प्रदेश १ - कान्तिपुर समाचार

हाइभोल्टेजका कारण मृत्यु हुनेलाई क्षतिपूर्ति

कान्तिपुर संवाददाता

धनकुटा — धनकुटाको महालक्ष्मी–४ चानुवा क्षेत्रमा विद्युत् हाइभोल्टेज प्रवाहका कारण गत शनिबार भएको घटनाबारे विद्युत् प्राधिकरणले छानबिन गरी पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने भएको छ ।

विद्युत् प्राधिकरण प्रदेश १ कार्यालयमार्फत घटनाबारे छानबिन प्रक्रिय अघि सारिने प्राधिकरणले जनाएको छ । छानबिन समितिमा जिल्ला प्रशासन कार्यालय, स्थानीय पालिकासहितका प्रतिनिधि सामेल हुने विद्युत् प्राधिकरण धनकुटा वितरण केन्द्र प्रमुख दीपक सापकोटाले जनाए ।

असिना पानीसहित चट्याङ पर्दा हाइभोल्टेजका कारण चानुवा क्षेत्रका विद्युत् संरचनामा क्षति पुगेको प्राधिकरणको प्रारम्भिक अध्ययन छ । स्थानीय बाघखोरमा रहेको ट्रान्समिटरबाट हाइभोल्टेज प्रवाह भई जनधनको क्षति भएको घटनाप्रति प्राधिकरणले दुःख व्यक्त गर्दै मृतकका परिवारलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति र १५ हजार रुपैयाँ अन्त्येष्टिका लागि उपलब्ध गराइने केन्द्र प्रमुख सापकोटाले बताए ।

घाइते १५ जनाको पनि प्राधिकरणले उपचार गर्ने जनाएको छ । ‘अघिल्लो दिनदेखि विद्युत् आपूर्ति बन्द रहेको र भोलिपल्ट विद्युत् प्रवाह हुँदा ट्रान्समिटरमा समस्या भएको हो,’ सापकोटाले भने, ‘चानुवा क्षेत्रमा हाइभोल्टेज प्रवाह हुँदा दुःखद घटना हुन पुग्यो ।’ घटनामा महालक्ष्मी–४ भुटडाँडाका ५३ वर्षीय चन्द्रबहादुर कार्कीको मृत्यु भएको थियो ।

उक्त क्षेत्रमा हाइभोल्टेज प्रवाह भएको चार मिनेट अवधिमा अधिकांशले मोबाइल चार्ज गर्ने क्रममा घटना भएको थियो । अधिकांशका मोबाइल, टीभीलगायत विद्युतीय सामग्रीमा क्षति पुगेको थियो । घाइतेमध्ये ९ र ६ वर्षीय दुई बालबालिकाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रकाशित : वैशाख ७, २०७८ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्

पूर्वाञ्चल विश्वविद्यालयमा फेरि बाहिरियो प्रश्नपत्र

कान्तिपुर संवाददाता

विराटनगर — एउटा विषयको प्रश्नपत्र परीक्षा हुनुअघि नै बाहिरिएको अनुसन्धान टुंगो नलाग्दै पूर्वाञ्चल विश्वविद्यालयमा अर्को विषयको प्रश्नपत्र परीक्षाअघि सार्वजनिक भएको छ ।

केही दिनअघि इन्जिनियरिङ संकायको स्नातक दोस्रो सेमिस्टरको भौतिक शास्त्र विषयको प्रश्नपत्र परीक्षाभन्दा दुई घण्टाअघि बाहिरिएको थियो । प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

आइतबार इन्जिनियरिङ संकायकै दोस्रो सेमिस्टरको हाइड्रोलिक विषयको प्रश्नपत्र बाहिरिएको थियो । सोमबार हुने स्टिल विषयको प्रश्न पनि परीक्षाअघि नै सार्वजनिक भएको आशंकामा परीक्षा कार्यालयले अर्को प्रश्नको व्यवस्था गरेको विश्वविद्यालय स्रोतले जनाएको छ । विश्वविद्यालयले लिने हरेक प्राविधिक विषयको प्रश्नपत्र परीक्षा पहिला नै शृंखलाबद्ध रूपमा बाहिरिँदै आएको परीक्षा नियन्त्रक प्राडा सूर्यप्रसाद संग्रौलाले स्विकारेका छन् ।

यसमा परम्परागत ठूलो सञ्जाल सक्रिय रहेका कारण पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा प्रणालीलाई भरपर्दो बनाउन र यसलाई सुधार गर्न गाह्रो भएको उनको भनाइ छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए । परीक्षाको गोप्य शाखाका कर्मचारी नै प्रश्नपत्र बाहिर पुर्‍याउन संलग्न रहँदै आएको विश्वविद्यालय स्रोतको दाबी छ । प्रश्नपत्र छाप्ने कार्यमा गोप्य शाखाका कर्मचारी संलग्न हुने भएकाले उनीहरूकै माध्यमबाट बाहिरिने गरेको स्रोतको भनाइ छ ।

प्रकाशित : वैशाख ७, २०७८ १०:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×