हत्केलामा ज्यान राखी यात्रा- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हत्केलामा ज्यान राखी यात्रा

माथिल्लो सगरमाथाका तीन जिल्लाको ‘लाइफलाइन’ मानिने सिद्धिचरण राजमार्ग जीर्ण हुँदा यात्रुले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्
डिल्लीराम खतिवडा

लेखानी, उदयपुर — सिद्धिचरण राजमार्गको यात्रा जोखिम र कष्टकर बन्दै गएको छ । जीर्ण सडक मर्मत र स्तरोन्नति हुन नसक्दा दुर्घटनामा बर्षेनी दर्जनभन्दा बढीले ज्यान गुमाउनुपरेको छ । २०७३ मंसिर २४ गते घुर्मीबाट कटारी लागि आउँदै गरेको बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको थियो ।


२०७४ कात्तिक १३ गते कटारीबाट ओखलढुंगातर्फ यात्रु लिएर जाँदै गरेको सुमो जिप दुर्घटना हुँदा नेपाली सेनाका एक जवानसहित ९ को मृत्यु भयो । २०७५ असोज १ काठमाडौंबाट कटारी हुँदै ओखलढुंगाका लागि जाँदै गरेको सुमो जिप दुर्घटनामा दुई अस्ट्रेलियन नागरिकको मृत्यु भयो भने ७ जना घाइते भए । गत कात्तिक २ गते स्करपियो दुर्घटना हुँदा एकै गाउँका ५ जनाको मृत्यु भएको थियो ।

यी केही उदाहरण हुन् । यस्ता दुर्घटना सिद्धिचरण राजमार्ग खुलेयता महिनैपिच्छे घट्ने गरेको प्रहरीको तथ्यांकमा देखिन्छ । स्थानीय अझै पनि जीवन हत्केलामा राखी जोखिम र कष्टकरपूर्ण यात्रा गर्न बाध्य छन् । प्रायः सडक दुर्घटना सिद्धिचरणको कटारी–घुर्मी सडक खण्डको ४६ किलोमिटर क्षेत्रमा हुने गरेका छन् ।

पूर्वपश्चिम महेन्द्र राजमार्गको सिरहास्थित मिर्चैयादेखि उदयपुरको घुर्मीसम्म सिद्धिचरणको ७६ किलोमिटर सडकखण्ड जीर्ण छ । वर्षौंयता बिग्रिएको सडक मर्मत नहुँदा यात्रुले दुर्घटनामा परि बर्सेनि ज्यान गुमाउनु परेको छ । इलाका प्रहरी कार्यालय कटारीको तथ्यांकअनुसार पछिल्लो ४ वर्षमा कटारी/घुर्मी खण्डमा मात्रै ५० भन्दा बढिले ज्यान गुमाएका छन् । झन्डै अढाई सयभन्दा बढी सर्वसाधारणको अंगभंग भएको छ । घुमाउरो, जीर्ण र साँघुरो पहाडी राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । सवारीबाहेक पैदल यात्रा गर्ने सर्वसाधारण झनै जोखिममा छन् । साँघुरो सडकका कारण पैदल यात्रीलाई सवारी साधनले ठक्कर दिँदा चालु आर्थिक वर्षको हालसम्म ७ जनाको मृत्यु भइसकेको छ । मोटरसाइकललाई ठूला सवारीसाधनले ठक्कर दिँदा ३ जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांकमा छ ।

चार वर्षयता सिद्धिचरणमा भएका ठूला सडक दुर्घटनामध्ये २०७४ कात्तिक १३ मा कटारी नगरपालिका–११ को ठाँटी पहिरोमा बोलेरो दुर्घटना हुँदा एक महिलासहित ९ जनाले ज्यान गुमाएका थिए । त्यसैगरी, २०७३ मंसिर २४ मा लेखानीस्थित चनौटेमा घुर्मीबाट कटारीतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा एक महिलासहित ६ जनाको मृत्यु भएको थियो ।

२०५२ सालमा सुरु भई २०५८ मा निर्माण सम्पन्न भएको सिद्धिचरण राजमार्ग नेपाली सेनाले बनाएको हो । निर्माणपछि सडक मर्मतको नाममा करोडौं रकम खर्चिए पनि खाल्डाखुल्डी जस्ताको त्यस्तै रहेको सर्वसाधारणले गुनासो गरेका छन् । राजमार्गको कटारी नगरपालिका क्षेत्रको ठाँटी, लेखानीको लप्सेभीर, सिरिसेको वनदेवीलगायतका स्थानमा यात्रा गर्दा यात्रुले आँखा चिम्लनुपर्ने अवस्था छ ।

सिद्धिचरण राजमार्गले माथिल्लो सगरमाथाका खोटाङ, ओखलढुंगा र सोलुखुम्बुलाई तराईसँग छोटो दूरीमा जोडेको छ । तर स्तरोन्नति नहुँदा ती क्षेत्रमा सर्वसाधारणले यात्रामा सास्ती खेप्नुपरेको स्थानीय सृजना राउनले बताइन् । ‘२ घण्टामा सहजै पार गरिने कटारी–घुर्मी खण्ड सार्वजनिक यातायातमा चढेर यात्रा गर्दा ६ घण्टा लाग्छ’ राउनले भनिन्, ‘साँघुरो सडक, त्यसमा पनि बीच–बीचमा खाल्डाखुल्डीसँगै पहिरोको जोखिम छ ।’ कटारी/घुर्मी ४६ किलोमिटर यात्रा गर्ने यात्रुले घुर्मीसम्म नपुगेसम्म त्रासमै यात्रा गर्नुपर्ने बाध्यता छ । पहाडी सडक, त्यसमा पिच भत्किएर कच्ची भएकाले यात्रा अवधिभर त्रासले मुटु चिसो हुने गरेको खोटाङको हलेसीका मीनराज गिरीले बताए । ‘कटारीदेखि बेतेनीसम्म चढ्दा मुटुले ठाउँ छोडेको भान हुन्छ’ उनले भने ।

राजमार्गको स्तरोन्नती नहुँदा उदयपुरको मुख्य व्यापारिक केन्द्र कटारी बजारको व्यापार व्यवसाय समेत चौपट भएको उदयपुर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर खड्काले बताए । ‘कटारी बजारको मुख्य कारोबार हुने क्षेत्र सोलु, ओखलढुंगा र खोटाङ हो’ उनले भने, ‘ती क्षेत्रमा जाने एक मात्र सडक सिद्धिचरण नै जीर्ण भएपछि कटारीको व्यापार व्यावसाय चौपट भएको हो ।’ व्यापार व्यावसाय नचल्दा कटारी बजारबाट व्यापारी पलायन हुने गरेको उनले बताए ।

भौगोलिक अवस्थाको अध्ययन नै नगरी राजमार्ग निर्माण गरिएकाले पनि अहिले समस्या आएको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए । ‘सडकको अहिलेको अवस्था हेर्दा भौगोलिक अवस्थाको अध्ययन नै नगरी बनाइएको जस्तो देखिन्छ,’ प्रमुख श्रेष्ठले भने, ‘हचुवाको भरमा राजमार्ग निर्माण हुँदा अहिले सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।’

कटारी बजार हुँदै तेन्जिङ नोर्गेशेर्पा र एडमन्ड हिलारी पैदल सगरमाथा चढ्न गएकाले कटारीलाई सगरमाथाको प्रवेशद्वारका रूपमा चिनिन्छ । पूर्वी नेपालसँगै भारत, भुटान, बंगलादेशलगायतका पर्यटक सगरमाथा क्षेत्र र पूर्वको पशुपति भनेर चिनिने खोटाङको हलेसी आउने सिद्धिचरण छोटो बाटो हो । २०३४ सालमै सिरहाको मिर्चैयाबाट कटारी २६ किलोमिटर जोडिएको कटारीबाट घुर्मी २०४८ मा निर्माण सुरु भएको थियो । त्यसपछि निर्माण भएको राजमार्गको कटारी–घुर्मी ४६ किलोमिटर सडक स्तरोन्नति नहुँदा जीर्ण अवस्थामा छ ।

सिद्धिचरण जीर्ण भएपछि पूर्वी नेपालसँगै भारत, भुटान, बंगलादेशलगायतबाट आउने पर्यटक हलेसी र विश्वको सर्वोच शिखर सगरमाथा रहेको खुम्बु क्षेत्र जानका लागि मिर्चैया–बर्दिबास हुँदै खुर्कोट–घुर्मी १ सय ५० किलोमिटर यात्रा गर्न बाध्य छन् ।

प्रकाशित : वैशाख ७, २०७८ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्

हिमालपारि स्याउ रोप्ने चटारो

घनश्याम खड्का

म्याग्दी — हिमालपारिको जिल्ला मुस्ताङका किसानलाई यतिबेला खेतमा खाल्डो खन्न, मल हाल्न र स्याउका बिरुवा रोप्ने चटारो छ । हिउँ पग्लन थालेलगत्तै किसानले उच्च घनत्वमा फल्ने विदेशबाट आयातित स्याउका वेर्ना रोपिरहेका छन् ।

फागुन–चैतभित्रै रोप्नुपर्ने भए पनि इटलीबाट बेर्ना ल्याउँदा वैशाख छोएपछि यतिबेला किसानलाई हतारो भएको हो । स्थानीय जातका कलमी विरुवा भने किसानले फागुनमै रोपेका हुन् । ‘स्याउका बेर्ना रोप्ने उपयुक्त समय फागुन हो । यो वर्ष स्थानीय बगैंचामा फल्दै आएका स्याउको कलमी बेर्ना रोपिसकियो । इटालीबाट ल्याइएका बेर्ना रोप्न भने केही ढिलाइ भएको हो,’ स्याउ जोन मुस्ताङका सुधीर थापाले भने, ‘माटोमा चिस्यान रहेकोले वैशाखसम्मै रोप्न मिल्छ ।’

यस वर्ष कृषि ज्ञान केन्द्र, स्याउ जोन र स्थानीय तहलगायत निकायले मुस्ताङका ३८ बस्तीमा ४० हजार स्याउका बिरुवा रोप्न थालेका छन् । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत २६ हजार, स्याउजोन मुस्ताङले ९ हजार २ सय ६३ र कृषि ज्ञान केन्द्रले २ हजार ४ सय बेर्ना विदेशबाट ल्याएका हुन । यस्तो बेर्ना ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । केन्द्रले स्वदेशी जातका स्याउका कलमी ८ हजार बिरुवा रोपेको जनाएको छ । केन्द्रका अनुसार, मुस्ताङमा १ हजार ५ सय ४१ हेक्टरमा स्याउ खेती गरिएको छ । त्यसमा ४ सय ८ हेक्टर उत्पादनशील क्षेत्रफल हो ।

यस वर्ष सबै निकायबाट ४० हेक्टरमा स्याउ खेती विस्तार हुने कृषि ज्ञान केन्द्रले जनाएको छ । मुस्ताङमा सबैभन्दा बढी बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा स्याउ खेती विस्तार भैरहेको छ । लेते, घाँसा, कोबाङ, थासाङ गाउँपालिका क्षेत्रमा तापक्रम वृद्धिले गर्दा स्याउ खेती हुन छोडेको छ । पछिल्ला २ वर्षदेखि उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा पनि स्याउ खेतीका लागि बेर्ना माग हुन थालेको छ ।

कृषि ज्ञान केन्द्र प्रमुख प्रकाश बस्ताकोटीले भने, ‘जलवायु परिवर्तनको असर मुस्ताङको स्याउ खेतीमा देखिएको छ । स्याउ खेतीको विस्तार भैरहेको क्षेत्रबाट क्रमशः माथिल्लो मुस्ताङ उक्लँदै गएको छ । उपल्लो मुस्ताङमा अझै चिसो भएकाले वैशाखसम्मै बेर्ना रोप्न सकिन्छ ।’ उपल्लो मुस्ताङका तिब्बती सीमावर्ती छोसेर, छोन्हुप, सुरखाङमा गत वर्ष तीन हजार बिरुवा रोप्न लगाइएको छ । एक्यापलगायत संस्थाले पनि २ हजार ५ सय बिरुवा कृषकलाई बाँड्दै छन् । मुस्ताङमा गोल्डेन डेलिसियस, रेड डेलिसियस, रिचारेड, रोयल डेलिसियससमेत गरी १३ प्रजातिका स्याउ खेती हुन्छ । लोमन्थाङमा पनि तीन वर्षयता स्याउ खेती हुन थालेको स्थानीय पेम्बाछोप्तेन गुरुङले बताए ।

प्रकाशित : वैशाख ७, २०७८ १०:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×